वीर अस्पताल अगाडिको अव्यवस्थित पार्किङ्ले बिरामीलाई सास्ती, ललितपुरमा एक्सन लिने अख्तियार काठमाडौँमा मौन


 

काठमाडौं । देशको पुरानो वीर अस्पताल अगाडीको सडकमा गरिएको पार्किङले बिरामीको आवत जावतमा गम्भीर समस्या परेको अस्पतालले जनाएको छ । काठमाडौं महानगरपालिकाले बिरामीको सामान्य समस्या समेत नबुझी पार्किङ ठेक्कामा लगाउँदा सेवा र अस्पताल व्यवस्थापनमा गम्भीर समस्या देखिएको हो । हाल वीर अस्पतालले ५ सय शय्याको नयाँ सर्जिकल भवनबाट सेवा सुरु गरेको छ । तर, पुराना भवन र नयाँ भवनबीचको सडकमा गरिएको पार्किङले बिरामीको आवत जावतमा समस्या ल्याएको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राध्यापक डा भुपेन्द्र कुमार बस्नेतले बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले वीर अस्पताल वरिपरि यत्रतत्र पार्किङ भएकाले व्यवस्थित गर्न सो सडक प्रयोग गरिएको बताए । तर, अस्पतालको इमर्जेन्सी अगाडि एम्बुलेन्स नै ल्याउन नसक्ने गरी पार्किङ गर्न दिएको विषयमा उत्तर दिन सकेनन् । प्रवक्ता डंगोलले भने, ‘वीर अस्पताल वरिपरी पार्किङ हुँदा समस्या आएकाले पार्किङ व्यवस्थित गर्न अस्पताल अगाडीको सडक ठेक्का लगाएका हौंँ, ‘यदी वीर उक्त स्थानमा गरिएको पार्किङले अस्पताललाई असहज भएको खण्डमा ठेक्का सच्याउन सकिन्छ ।’

पाँच वर्षका लागि महानगरपालिकाले हुइल्स प्रालिलाई पार्किङ्को ठेक्का दिएको हो । हुइल्सले ठेक्का लिएको पनि साढे दुई वर्ष भएको छ । अझै आधा समय बाँकी छ । अस्पतालको दुई भवनबीचको बाटोमा दिनहुँ सयौं बिरामीलाई ह्वीलचीयर वा असाध्य बिरामीलाई ट्रलीमा राखेर एक भवनबाट अर्को भवनमा पुर्याउनु पर्छ । चिकित्सकहरु भन्छन् ‘कतिपय अवस्थामा सडकको पार्किङले गर्दा समयमा बिरामी पुर्याउन नसक्दा मृत्यु समेत भएको छ ।’ अस्पतालको अगाडि सडकमा तीन लाइन मोटरसाइकल पार्किङ र एक साइडमा ट्याक्सि पार्किङ हुँदै आएको छ । महानगरपालिका स्रोतका अनुसार उक्त टेन्डरमा मेयरको समेत आर्थिक चलखेल भएको छ । सोही कारण बिरामीलाई परेको समस्या थाहा पाउँदा पाउँदै पनि मेयर विद्यासुन्दर शाक्य हटाउने पक्षमा देखिएका छैनन् । आर्थिक चलखेलको आधारमा मेयर शाक्यले वीर अस्पताललाई नै समस्या पर्ने गरी स्मार्ट पार्किङको ठेक्का लगाएको स्रोतको दाबी छ । ललितपुर महानगरपालिकाले सडकमा यस्तै किसिमको स्मार्ट पार्किङको ठेक्का लगाएको थियो । त्यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर कारबाहीको तयारी थालेपछि हतार-हतार ठेक्का रद्ध गरिएको थियो । तर काठमाडौं महानगरपालिकाको त्यहिं किसिमको बदमासीमा भने अख्तियार समेत मौन छ । आर्थिक चलखेलको आधारमा वीर अगाडिको बाटोमा स्मार्ट पार्किङको ठेक्का लगाउने मेयर शाक्यमाथि अख्तियारबाट कारबाही हुन जरुरी रहेको महानगर कै अधिकारीको भनाइ छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com