विश्व मधुमेह दिवसमा फाइजर खोपको सुभारम्भ, कार्तिक २८ देखि मंसिर ३ सम्म पहिलो मात्रा चल्ने
![](https://www.swasthyalive.com/wp-content/uploads/2021/10/np_file_54005-870x489-1.jpeg)
काठमाडौं । सरकारले बालबालिकालाई दिन मिल्ने कोरोना विरुद्धको फाइजर खोपको सुभारम्भ आगामी विश्व मधुमेह दिवसमा गर्ने भएको छ । स्वास्थ्य लाइभलाई प्राप्त जानकारीअनुसार विश्व मधुमेह दिवस अर्थात् आगामी कार्तिक २८ गतेका दिन सुरु गरिने भएको छ । कोभ्याक्स सुविधामार्फत आउँन लागेको १ लाख बढी डोज खोप आगामी २६ अक्टोबर अर्थात कात्तिक ९ गते आउँदैछ ।
१८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई दिन मिल्ने कोरोना विरुद्धको फाइजर खोप एक हप्ता भित्र नेपाल आउने भएको छ । कोभ्याक्स सुविधामार्फत १ लाख ६ सय २० डोज फाइजर खोप आउन लागेको हो ।
सरकारले फाइजर खोपको भण्डारणका लागि अल्ट्रा कोल्डचेन तयारी पारेको छ । बालबाललिकालाई दिने भनिएको फाइजर खोप सरकारले क्यान्सर, मिर्गौलाका गम्भीरर बिरामीलाई दिने भएको छ । अन्य देशमा यो खोपले दीर्घरोगी राम्रो काम गरेको भन्दै सरकारले उनीहरुलाई दिन लागेको हो । खोप थोरै भएकाले बालबालिकालाई दिँदा विवाद हुने भएपछि सरकारले यो खोप लगाउने प्राथमिकतामा दीर्घरोगीलाई राखेको हो ।
स्वास्थ्य मन्त्रालयले फाइजर खोप क्यान्सर, मिर्गौलाका बिरामीको उपचार हुने अस्पतालमा पठाउने छ । फाइजरको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ३ गतेसम्म चल्ने छ । त्यस्तै दोस्रो मात्रा मंसिर १९ देखि २४ गतेसम्म चल्ने छ । बिहान १० देखि ४ बजेसम्म खोप चल्ने छ । खोप लिन जाँदा चिकित्सकले सिफारिस गरेको रोग खुल्ने कागज लिएर जानु पर्ने छ । खोप लगाउनका लागि सरकारले ४, ७ र ८ गते अभिमुखिकरण कार्यक्रम चलाउने भएको छ ।
खोप भण्डारण गर्न सरकारले चारवटा कोल्डेचेन तयार गरेको छ । ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ । यो खोपको सेल्फ लाइफ पूर्णरुपमा कायम गर्न अल्ट्र«कोल्डचेन (माईनस ४४ देखि माईनस ८० सेल्सियस ) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएअनुसार फाइजर खोपलाई माईनस १५ देखि २५ डिग्रि सेल्सियसमा १४ दिन भण्डारण गर्न सकिन्छ । माईनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ । यो खोप एक पटक अल्ट्र«कोल्डचेन (माईनस ४४ देखि माईनस ८० सेल्सियस) बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरेपछि पुनः माईनस (जम्ने) तापक्रममा कदापी राख्न हुँदैन । तसर्थ यो खोप प्राप्त भएपछि कार्यक्रम सञ्चालन हुँदा विशेष ध्यान दिनुपर्ने खोप हेर्ने अधिकारीहरु बताउँछन् ।
फाइजर खोप अन्य जस्तै एक व्यक्तिलाई २ मात्रा दिनु पर्छ । हालप्राप्त हुने १ लाख ६२० मात्रा खोप दुबै मात्रा दिनको लागि सुनिश्चितता गरेर करिब ४५ हजारलाई पहिलो मात्रा र सोहि समूहलाई दोस्रो मात्रा दिनेगरी व्यवस्था गरिएको छ ।
लक्षित समूह
कोभिड संक्रमणको उच्च जोखिममा रहेका दीर्घरोगीहरु हृदय रोग, मिर्गौला, क्यान्सर, अन्य गम्भीर रोगी, अंग प्रत्यारोपणसँग सम्बन्धी रोग, उच्च रक्तचाप र चिनी रोग भएका बिरामीहरुलाई फाइजर खोप दिने तयारी भएको छ । उनीहरुलाई लगाएर बचत भएको अवस्थामा वैदेशिक रोजगारमा जाने नागरिक र अन्य प्राथमिकताका उमेर समूहलाइ दिइने छ ।
फाइजरका लागि खोप केन्द्र
काठमाण्डौ उपत्यकामा विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालहरु गंगालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पताल र धुलिखेल अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने छ ।
उपत्यकाबाहिर भने कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल, सेती अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धवलागिरी अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पतालमा खोप केन्द्र चल्ने छ ।
कसरी सञ्चालन हुन्छ फाइजर खोप?
दैनक खोप केन्द्रमा खोप लिन आउन सक्ने अवस्थाको विरामीहरुलाई हप्ताको कुनै दुई दिन तोकेर खोप दिइने छ । उक्त प्रकारका बिरामीहरु अस्पतालमा भर्ना भएका छन् र चिकित्सकको सिफारिसमा खोप दिन मिल्ने भएमा ५ जनाको समूह बनाई जुनसुकै दिन खोप दिने सकिने छ ।
जनशक्ति पचिालन
खोप दिने स्वास्थ्यकर्मी: प्रत्येक अस्पतालबाट कम्तिमा २ जना स्वास्थ्यकर्मी तोकिने छ । सकेसम्म यस अघि कोभिड १९ विरुद्धको खोप अभियानमा खोप सञ्चालनमा संलग्न ब्क्ति व्यक्तिलाई नै छनौट गरिने छ । यदि अस्पतालबाट जनशक्ति अभाव भएमा तोकिएको दिन खोप सञ्चालन गर्न खोप केन्द्रको नजिकको पालिका/वडा तहको स्वास्थ्य संस्थाबाट एकजना खोप कार्यकर्ता व्यवस्था गर्ने सरकारले जनाएको छ । यो कार्यको लागि स्वास्थ्य कार्यालयले पालिका, स्वास्थ्य संस्थासँग समन्वय गर्ने ।
ए.ई.एफ.आई व्यवस्थापन र खोप सेसनको लागि संयोजक: खोप केन्द्र तोकिएको अस्पतालसँगको समन्वयमा सम्बन्धित अस्पतालबाट एकजना बालरोग विशेषज्ञ चिकित्सक अथवा-मेडिकल अधिकृतलई संयोजक तोक्ने र प्रत्येक खोपकेन्द्रमा ए.ई.एफ.आई. किटको व्यवस्थापन गर्ने ।
खोप कोल्डचेन, आपूर्ति वितरण र खोप सेसन सचालनमा समन्वय र गुणस्तर अनुगमन: यो कार्यको लागि काठमाडौं उपत्यकामा स्वास्थ्य कार्यालयको समन्वयमा प्रत्येक जिल्लामा एकजना सुपरीवेक्षक तोक्ने । यो कार्यको लागि कोभिड खोप कार्यक्रममा सहयोग गर्ने साझेदार निकायहरुबाटसमेत आवश्यकताअनुसार परिचालन गर्ने । खोप संचालन हुने जिल्ला बाट खोप कार्यक्रम फोकल पर्सन-कोभिड फोकल पर्सनलाई समन्वय तथा व्यवस्थापनको जिम्मेवारी दिने । खोप सञ्चालन हुने अस्पतालबाट एकजना चिकित्सक संयोजक तोक्ने । संघीय र प्रदेश खोप भण्डारणबाट एक जना फोकल पर्सन तोक्ने ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस