मेडिकल काउन्सिलबाट चिकित्सकको डाटा ‘चोरी’ भएपछि आकस्मिक बैठक बोलाइयो


काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरूको वैयक्तिक विवरण दुरूपयोग (चोरी)को घटना सार्वजनिक भएपछि आइतबार आकस्मिक बैठक बोलाइएको छ ।

काउन्सिलले गोप्य राखेको चिकित्सकको मोबाइल नम्बर चोरी गरेर डा. कालुसिंह खत्री र डा. तोशिमा कार्कीले भोट मागेको तथ्य सार्वजनिक भएपछि काउन्सिलले आकस्मिक बैठक बोलाइएको हो । काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले आइतबार आकस्मिक बैठक बोलाइएको पुष्टि गरे ।

एउटा प्रयोजनका लागि लिइएको चिकित्सकको विवरण अर्कै प्रयोजनका लागि प्रयोग गरेपछि यो सार्वजनिक चासोको विषय बनेको छ । काउन्सिलबाट चिकित्सकको गोप्य डाटा चोरी गरेर ई-सेवामार्फत मेडिकल काउन्सिलको सदस्य पदमा उठेका डा. कार्की र खत्रीले भोट मागेको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ

काउन्सिलका उच्च पदाधिकारीको मिलेमतोमा दुई उमेदवार डा. कालुसिंह खत्री र डा. तोशिमा कार्कीले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरु भोट मागेको प्रमाणबाहिर आएको हो । डाटा चोरीको मुख्य योजनाकार डा. खत्री भएको आरोप लाग्दै आएको छ ।

काउन्सिलले चिकित्सकहरुलाई सूचनाका लागि प्रयोग गर्दै आएको ३७८८८ नम्बर दुरुपयोग गरेर चिकित्सकद्वय खत्री र कार्कीले डाटा चोरी गरेका हुन् । करिब १५ हजार चिकित्सकको डाटा ई-सेवामा पुगेको पुष्टि भएको हो ।

डाटा सम्बन्धी कारोबार गर्ने एक्सटेन्सो डाटा कम्पनी खोलेको ई-सेवालाई चिकित्सकहरुको गोप्य नम्बर उपलब्ध गराएर वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा १२ को ठाडो उल्लंघन मात्र गरिएको छैन उक्त कम्पनीको व्यवसायसमेत प्रबर्द्धन गर्ने काम भएको छ ।

कानुनअनुसार वैयक्तिक विवरण दुरूपयोगलाई कसूर मानिएकाले काउन्सिललाई एउटा प्रयोजनका लागि दिइएको डाटा दुरुपयोग गर्नेमाथि मुद्दा चल्ने देखिन्छ । एउटा प्रयोजनका लागि प्रदान गरिएको डाटा अर्को प्रयोजनमा प्रयोग गर्ने कार्यमा संलग्न कसूरदारलाई ३ वर्षसम्म कैद हुने व्यवस्था छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ