क्याम्ब्रिज एनालिटिकाको झल्को दिने मेडिकल काउन्सिलको एसएमएस काण्ड


काठमाडौं । क्याम्ब्रिज एनालिटिकाको झल्को दिने सिरान टेक्नोलोजिजले गरेको मेडिकल काउन्सिलको एसएमएस काण्डलाई सामान्य रुपमा लिइएको छ ।

फेसबुकको डाटा दुरुपयोग गरी अमेरिकाको राष्ट्रपतिको चुनाव प्रभावित गर्ने क्याम्ब्रिज एनालिटिका जस्तै सिरान टेकले मेडिकल काउन्सिलमा रहेको चिकित्सकको नम्बरसँग हुबहु मिल्ने गरी केही उम्मेदवारलाई भोट माग्दै एसएमएस पठाएको थियो । ३७८८८ नम्बरबाट काउन्सिलका सदस्य डा. कालुसिंह खत्री, डा. तोशिमा कार्की र लवकुमार शाहलाई भोट मागेपछि उक्त रहस्य बाहिर आएको हो ।

सन् २०१६ क्याम्ब्रिज एनालिटिका अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ट ट्रमलाई जिताउन यसरी नै काम गरेपछि फेसबुकलाई ५ अर्ब डलर जरिवाना गरिएको थियो । तर मेडिकल काउन्सिलको एसएमएस काण्डमा सिरान टेकलाई त्यत्ति कै छाडिएको छ । फेसबुकको डाटा दुरुपयोग भएको आरोप लागेपछि अमेरिकाको ‘फेड्रल ट्रेड कमिसन’ (एफटिसी)ले अनुसन्धान गरेको थियो । मेडिकल काउन्सिलको ‘डाटा चोरी’ आरोपको काण्डमा काउन्सिल आफैंले आकस्मिक बैठक बोलाएर एउटा विज्ञप्तिको भरमा क्लिन चिट दिन खोजिएको छ ।

मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले निकालेको विज्ञप्तिबाटै यस्तो गम्भिर विषयमा काउन्सिलले कर्मकाण्डी काम गरेको प्रस्टै हुन्छ ।

काउन्सिलले एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने लगायतका विषयमा थप जानकारी प्राप्त गर्न सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गरिएको छ । यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुरोध गर्नुपर्नेमा काउन्सिलका जिम्मेवार व्यक्ति नै मुछिने भएपछि  एसएमएस काण्ड थामथुम पार्न खोजिएको आरोप लागेका हो । काउन्सिल कै वेबसाइट बनाउने र नम्बर  प्राप्त गर्ने सिरान टेकले केही उम्मेदवारलाई भोट माग्नुले यो घटना क्याम्ब्रिज एनालिटिकाको झल्को दिने खालको छ ।

के हो क्याम्ब्रिज एनालिटिका काण्ड ?

पछिल्लो समय अमेरिकाको राष्ट्रपतीय चुनावमा क्यामब्रिज एनालिटिका नामक डाटा सम्बन्धी काम गर्ने कम्पनीले फेसबुकमार्फत संकलन गरेको डाटा चुनावी परिणाम प्रभावित गर्न दुरुपयोग गरेको घटना यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । पाँच करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको विवरण लन्डनस्थित क्याम्ब्रिज एनालिटिकाले चुनाव प्रचार र फेक न्यूज टार्गेटिङको लागि दुरुपयोग गरेपछि फेसबुकलाई प्रजातन्त्रका लागि खतरा भएको आरोप मात्र लागेन, यसका संस्थापक मार्क जकरबर्गले अमेरिकाको कंग्रेससामु सुनुवाई नै खेप्नुपरेको थियो ।

आफूसँग भएको तथ्याङ्क गोप्य रुपमा राख्न नसकेको कसुरमा फेसबुकमाथि ५ अर्ब अमेरिकी डलरको जरिवाना लागेको हो । ‘फेड्रल ट्रेड कमिसन’ (एफटिसी)ले यस विषयमा फेसबुकमाथि अनुसन्धान गरेर बेलायतस्थित राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका तथ्यांकको दुरूपयोग गरी अमेरिकाको राष्ट्रपतिको चुनावको नतिजा प्रभावित पारिएको  पुष्टि गरेको थियो ।

नेपालमा पनि मेडिकल काउन्सिलमा दर्तावाला चिकित्सकको डाटा दुरुपयोग भएको आरोप स्वयं चिकित्सहरुले लगाउँदा पनि आरोपित चिकित्सक र एसएमएस सेवा प्रदायक कम्पनीलाई अधिकार प्राप्त निकायबाट छानबिन नगरी काउन्सिल आफैले क्लिन चिट दिने प्रयास गरेको छ ।नेपालमा पनि अर्को क्याम्ब्रिज एनालिटिका काण्ड दोहोरिने खतरा छ ।

 

के छ नेपालको कानुन ?

वैयक्तिक गोपनियता सम्बन्धी ऐन, २०७५ को दफा १२ (३) मा सार्वजनिक निकायले सम्बन्धित व्यक्तिको मञ्जुरी लिई संकलन गरेको तथ्यांक जुन प्रयोजनको लागि हो संकलन गरिएको हो सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने उल्लेख छ । उक्त कानुनमा फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा तथा राष्ट्रिय सुरक्षा र शान्ति सुव्यवस्थाको प्रयोजनका लागि मात्र त्यस्तो तथ्यांक कानुनबमोजिम उपलब्ध गराउन सकिने प्रावधान छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले कानुनबमोजिम बाहेक एउटा प्रयोजनका लागि संकलन गरिएको विवरण अर्को प्रयोजनका लागि प्रयोग गर्नु गैरकानुनी भएको बताए । सरकारी निकायसँग रहेको वैयक्तिक विवरण निजी कम्पनीसँग पुगेको हो भने त्यो गम्भीर विषय भएकाले यसलाई सामान्य रुपमा लिन नहुने उनको भनाइ छ ।नागरिकको वैयक्तिक विवरण राज्यले पनि राष्ट्रिय सुरक्षाको प्रयोजनलगायत विशेष परिस्थितिमा मात्र कानुनबमोजिम लिन सक्ने पूर्वन्यायाधीश केसीको धारणा छ । तर मेडिकल काउन्सिलको डाटा दुरुपयोग भएको चिकित्सकले नै आरोप लगाउँदा र सिरान टेकले एसएमएस पठाउँदा पनि मेडिकल काउन्सिल यसलाई सामान्य रूपमा लिएर उम्कने प्रयास गरेको देखिन्छ ।

काउन्सिलको सदस्य पदको उम्मेदवारको चुनावी नतिजा प्रभावित पार्न खोजिएको सिरान टेकको यो एसएमएस क्याम्ब्रिज एनालिटिकाको झल्को दिने किसिमको भएकाले अनुसन्धानको जिम्मा सिआईबीले लिन जरुरी छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com