जसलाई राज्यमन्त्री उमेश श्रेष्ठले चिकित्सक बन्ने सपना साकार पारिदिए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले धेरैलाई डाक्टर पढाउन भूमिमा खेलेका छन् ।

उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई निजी खर्चमा समेत पढाउने गरेका छ । लिटिल एन्जेल्स(एलए), मोर्डन आइडललगायतका स्कूलका समेत सञ्चालक रहेका शिक्षासेवी राज्यमन्त्री श्रेष्ठले धेरैको चिकित्सक बन्ने सपना साकार पारिदिएका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको अगुवाईमा भोजपुर जिल्लामा भएको वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन जाँदा राज्यमन्त्री श्रेष्ठले यो रहस्य खोलेका हुन् । शिविरमा चिकित्सक बन्ने सपना साकार बनाइदिएका डा. कैलाश विश्वकर्मा समेत उपस्थित रहेका थिए । उनले स्वास्थ्य लाइभका प्रतिनिधिसँगको कुराकानीमा राज्यमन्त्री  श्रेष्ठले आफूमाथि लगाएको गुनको खुलेर प्रशंशा गरे ।

डा.  कैलाश विश्वकर्मा

दुर्गम पहाडी जिल्ला भोजपुरमा जन्मिएर, विद्योदय स्कूलबाट एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि राजधानी काठमाडौं छिरेको बताउँने विश्वकर्माले चिकित्सक बन्ने सपना साकार पारिदिने राज्यमन्त्री श्रेष्ठलाई ‘भगवान’ नै ठान्ने रहेछन् । श्रेष्ठले एलएमा खाने, बस्ने र पढ्ने व्यवस्था मिलाइदिएकोदेखि पोखरास्थित मणिपाल मेडिकल कलेजमा एमबीबीस पढ्दा पुर्‍याएको योगदानको विषयमा डा. विश्वकर्माले कृतज्ञता व्यक्त गरे ।

एमबीबीए सकेर श्रेष्ठकै सल्लाहमा भोजपुरे जनताको सेवामा जिल्ला फर्किएको डा.कैलाश विश्वकर्माले आफ्नो जीवन र ‘करियर’को कहानी  स्वास्थ्य लाइभलाई  सुनाए ।

भोजपुर नगरपालिका ७ मा स्थाई घर रहेका डा. कैलाश विश्वकर्माले एसएलसीसम्मको अध्ययन विद्योदय माध्यमिक विद्यालयबाट गरेका हुन्  । एसएलसी सकाएपछि उच्च शिक्षाका लागि ललितपुर जिल्लाकाे हात्तीवनस्थित लिटिल एञ्जल (एलए) मा साइन्स पढ्न थाले ।

भोजपुरका दलित त्यसमा पनि गरिब परिवारमा जन्मिएका कैलाश कसरी देशकै नाम कहलिएको विद्यालय पुगे त । यसको रोचक कहानी छ । हाल नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ पनि भोजपुरमै जन्मिएर कैलाशले पढेको स्कूल विद्योदय माध्यमिक विद्यालय पढेका हुन् ।

भोजपुर हुँदै काठमाडौं पुगेका श्रेष्ठले शिक्षा क्षेत्रमा ठूलो फड्को मात्रै मारेनन् देशको नम्बर वान शिक्षासेवीका रुपमा आफूलाई स्थापित गराउन सफल भए । उनले खोलेका विद्यालयहरुमा हाल २५ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन्  ।

उमेश श्रेष्ठले विद्योलयबाट जुन विद्यार्थी प्रथम हुन्छ उसलाई आफैंल खोलेको एलएमा लगेर निःशुल्क छात्रावृत्तिमा पढाउने घोषणा गरे । कैलाशले ०६५ सालको एसएलसीमा विद्योदय स्कूल टप गरेपछि त्यसको लाभ प्राप्त गरे । उनलाई श्रेष्ठले  लिटिल एन्जल्स स्कूल (एलएमा) छात्रवृत्तिमा प्लस टू तहमा पढाए  । खान, बस्न, घर आउदा जाँदा लाग्ने सम्पूर्ण खर्च समेत श्रेष्ठले बेहोरेको विश्वकर्मा सुनाउँछन् ।

‘मैले एलएबाट साइन्समा प्लस टु पास गरे । तर, उहाँले मलाई छाड्नु भएन । एक वर्ष एलएमै बसेर एमबीबीएसको तयारीमा जुटे । सबै साथीहरु घर जाँदा पनि मलाई उमेर श्रेष्ठले तिमि यहीँ मेहनत गरेर बस भन्नु भयो ।’, विश्वकर्माले भने, ‘उहाँको अनुरोधलाई सहर्ष स्वीकार्दै मैले कही नगई एमबीबीएस तयारी गरेर फलस्वरुप नेपाल सरकारले लिएको छात्रवृत्तिमा नाम निकाल्न सफल भए । नाम निस्केपछि नेपाल सरकारको कोटमा मणिपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न गएँ ।’,

कैलाशले छात्रावृत्तिमा एमबीबीएस पढ्न पाएपनि पढाइ शुल्क मात्रै लाग्दैन थियो खाने बस्ने सबै तिर्नुपर्ने थियो । आफ्नो आर्थिक अवस्था कमजोर भएकाले यसमा पनि उमेशले नै  सहयोग गर्दिएको उनी बताउँछन्  । आफूलाई एमबीबीएस डाक्टर बनाउँन उमेश सरको ठूलो हात रहेको कैलाशको  भनाइ छ। ‘यदी उहाँको ठाउँमा अर्क व्यक्ति भएको भए यसरी सहयोग गर्न सम्भव थिएन ।’, उनले अघि थपे, ‘पहाड त्यसमा पनि गरिबका छोराछोरीलाई जसरी भएपनि सहयोग गरी अगाडि ल्याउनु पर्छ भन्ने उमेश श्रेष्ठको भावनाले मलाई चिकित्सक बनायो ।’,

आफूले उमेश श्रेष्ठको सहयोग नपाएको भए चिकित्सक बन्ने अवस्था नरहेको भन्दै डा. कैलाशले विद्यालय प्रथम हुँदैमा र छात्रवृत्ति पाउँदैमा त्यस अवधिमा लाग्ने खर्च जुटाउन सक्ने सामर्थ्य आफूमा नरहेको प्रस्ट पारे  । एसएलसीपछिको खर्च भनेको निकै ठूलो हुने उनको अनुभव छ ।  स्कुल मात्र हैन जिल्लामै प्रथम भएपनि आर्थिक अवस्था कमजोर भएको परिवारलाई चिकित्सक, पाइलट, इन्जिनियर जस्ता विषय पढ्न समस्या पर्ने कैलाश बताउँछन् ।

‘उमेश श्रेष्ठ मेरो जीवनमा नआएको भए म चिकित्सक हैन खाडी मुलुकमा काम गरिरहेको हुन्थेहोला’, लामो श्वास तान्दै कैलाशले स्वास्थ्य लाइभसँग भने,  ‘विदेश नगएपनि म अध्ययन छाडेर बसेको हुन्थें । तर, आज चिकित्सक भएर जिल्लामा सेवा गर्न पाएको छु । यसैमा ठूलो गर्व छ।’,

अहिले भोजपुर जिल्ला अस्पतालमा ५० वेड संचालन गर्न सबै पूर्वाधार तयार भएको छ । यहाँ ५० वेडको अस्पताल संचालनमा आएको खण्डमा विशेषज्ञ चिकित्सकको दरबन्दी हुने थियो । विशेषगरी जिल्लामै डेलिभरी सेवाको व्यवस्था गर्न सके गर्भवती महिलाहरूले ठूलो राहत पाउने डा. कैलाश सुनाउँछन् ।

भोजपुर जिल्ला अस्पतालमा प्रसूति, बाल रोग र हार्डजर्नीका विशेषज्ञ चिकित्सक व्यवस्थापन गर्न सके ठूलो उपलब्धि हुने उनको भनाइ छ ।  बालबालिकाले स्वास्थ्य सेवालाई विशेष ध्यान दिनुपर्नेमा डा. कैलाशको जोड छ । त्यसका साथै हाडजोर्नीको धेरै बिरामी हुने भएकाले यी तीन विद्याका चिकित्सक अस्पतालमा आवश्यक परेको उनले बताए । ‘सरकारले तत्काल स्त्री रोग, बाल रोग र अर्थोपेडिकका विशेषज्ञ चिकित्सक पठाए भोजपुरका आम नागरिकले ठूलो राहत पाउने थिए ।’, डा. कैलाशले अन्त्यमा आग्रह मिश्रित लवजमा भने ।

क्याटेगोरी : मेडिकल शिक्षा, विचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #डा. कैलाश विश्वकर्मा, #नेपाल चिकित्सक संघ, #भोजपुर, #भोजपुर जिल्ला अस्पताल, #मणिपाल शिक्षण अस्पताल, #राज्यमन्त्री उमेश श्रेष्ठ, #लिटिल एन्जल्स स्कूल(एलए), #विद्योदय स्कूल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य शिविर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com