स्वास्थ्यमा बेथिति

स्वास्थ्य सेवा विभागका महानिर्देशककै सचिवालयमा किरासरी सवारी साधन


काठमाडौं । देख्दा असाध्यै भलाद्मी र इमान्दार मात्र हैन, नियम कानुनका कुरा आफूमात्र नभएर सबैलाई सिकाउन खोज्छन् स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह । तर, उनकै कार्यालयमा भएको गैरकानुनी कामलाई उनले ओझेलमा पारेका छन् ।

देशमा आर्थिक संकट परेको भन्दै इन्धन बचाउने बाहनामा सरकारले शनिबार र आइतबार हप्ताको दुईदिन सार्वजनिक विदा दिएको छ । यही नाटकमा स्वास्थ्य क्षेत्र पनि मिसिएको छ । देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा आइतबार समेत बन्द गरिएको छ ।

अधिकारीहरु भन्छन्, ‘यसरी दुई दिन विदा दिनु जरुरी छैन । बरु गैरकानुनी रुपमा प्रयोग भएका गाडी र इन्धनको प्रयोग रोक्न सके लक्ष्यमा पुग्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा नेपालको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको राज्यको ठम्याइ रहेको छ । तर, जुन चिज रोक्न राज्यले यस्तो निर्णय गरेको छ, त्यसको दुरुपयोग हुँदा स्वास्थ्यका सम्बन्धित अधिकारी मौन छन् ।’,

 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहको विभागमै गैरकानुनी रुपमा सवारी साधन प्रयोग भएका छन् । महानिर्देशक आफैले बा १ झ ८४७५ र बा २ झ ३४३४ नम्बरका गाडी प्रयोग गरेका छन् । बिभागमा उनलेबाहेक अन्य कसैले पनि सवारी साधान र इन्धन प्रयोग गर्न पाउँदैनन् । तर, उपसचिवदेखि अन्य कार्यालय सहयोगी सम्मले सवारी साधनको प्रयोग गरेका छन् ।

सामान्य अवस्थामा प्रयोग हुँदा हामीले बोलेका थिएनौं, बोल्दैनौं । तर, अहिले देशमा संटक परेको भन्दै विदा दिने, अस्पतालमा बिरामी नहेर्ने अनी गैरकानुनी रुपमा सवारी साधान प्रयोग गरि इन्धन खर्च गर्न उद्धत भएपछि हामी बोल्न बाध्य भएका हौं । विभागका उप सचिव प्रेमकाजी महर्जनले पनि बा २ झ ३१२३ नम्बरको महेन्द्राको स्कारपीयो प्रयोग गरेका छन् । कानुनले सहसचिवभन्दा माथिलाई मात्रै सवारी साधनको प्रयोग र इन्धन दिने व्यवस्था गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंह कानुनसम्मत काम गर्ने भएकाले आफूले पनि संकटमा एउटा मात्रै सवारी प्रयोग गरुन र अन्यले गैरकानुनी रुपमा प्रयोग गरेका सवारी साधनको प्रयोगमा प्रतिबन्ध लगाउन् । स्वास्थ्यको सचिवप्रति हामीलाई रतिभर विश्वास छैन तर, सिंहप्रति अझै आशा भएकाले उनले कानुनसम्मत निर्णय लिउन भन्ने हाम्रो चाहना हो । हुन त यस्ता कुरा आफैले वा आफ्ना नजिकका सहोदारले भन्ने कुरा थियो । तर, सबै स्वार्थ केन्द्रीत हुँदा हामीले छुचो भएर ‘प्वाक्क’ बोल्नुपरेको हो ।

अझ गज्जबको कुरा त महानिर्देशक डा. सिंहको सचिवालयमा किरासरी सवारी साधन प्रयोग भएका छन् । प्राप्त विवरण अनुसार महानिर्देशकको सचिवालयमा १७ वटा सवारी साधन प्रयोग भएका छन् । यी सबै गैरकानुनी संचालन भएका छन् । इन्धन प्रयोगका विषयमा कुनै लेखा जोखा छैन । त्यसैले दुई दिन विदा हैन देशभर प्रयोग भएका गैरकानुनी सवारी साधनको प्रयोग रोकेर आइतबार पनि सेवा संचालन गर्नुपर्छ ।

स्वास्थ्य मन्त्रालयका पुर्व प्रमुख विशेषज्ञ डा. शुशीलनाथ प्याकुरेल पनि गैरकानुनी रुपमा प्रयोग भएका गाडी र इन्धन रोके आफै समस्या समाधान हुने बताउँछन् । स्वास्थ्य लाइभले बुधबार स्वास्थ्य मन्त्रालयमा बेथिति शीर्षक दिँदै जनतालाई सास्ती दिएर दुईदिन विदा हैन, गैरकानुनी रुपमा प्रयोग गरिएका यातायात खोसेर इन्धन वचाऊ भनेर समाचार सार्वजनिक गरेको थियो । हामी देशभरका स्वास्थ्य कार्यालयको बेथितिका बारेमा आम नागरिकलाई जानकारी दिनेछौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाल ३२ वटा सवारी साधन प्रयोग भइरहेका छन् । तर, अधिकांश सवारी साधन गैरकानुनी रुपमा संचालित छन् । अर्थ मन्त्रालयद्वारा जारी कार्य संचालन निर्देशिका, २०७७ ले स्पष्ट रुपमा कस कसले सवारी साधनको प्रयोग गर्न पाउने र कति लिटर तेल पाउने उल्लेख गरेको छ । उक्त निर्देशिकालाई स्वास्थ्यका माफियाहरुले रेड्डीको टोकरीमा हालेका छन् ।

निर्देशिका अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, सचिव, विशिष्ट श्रेणी र सहसचिव सम्मले सवारी सुविधा र इन्धन पाउने कानुनी व्यवस्था रहेको छ । तर, स्वास्थ्यमा हेर्नुहोस्, उप सचिव, शाखा अधिकृत मात्र हैन स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकारले समेत गाडी चढेका छन् । अनी आम जनतालाई भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावट भन्दै दुईदिन विदा दिएर दुख दिने काम भएको छ । यस्तो निर्दयी राज्य र कर्मचारी सम्भवत नेपाल देश बाहेक अन्यन्त्र नहुन सक्छ अधिकारीहरु भन्छन् ।

कसले कति पाउँछन् इन्धन 

कानुन अनुसार प्रधानमन्त्रीले मासिक ३०६ लिटर पेट्रोल र बार्षिक ४० लिटर मोबिल पाउँछन् । उपप्रधान मन्त्रीले मासिक ३०६ लिटर पेट्रोल र बार्षिक २० लिटर मोबिल पाउँछन् । यता मन्त्रीले मासिक २०७ लिटर पेट्रोल र बार्षिक २० लिटर मोबिल पाउने ब्यस्था कानुनले गरेको छ ।

राज्यमन्त्रीले मासिक २०० लिटर पेट्रोल र बार्षिक २० लिटर मोबिल पाउने छन् । यता सहायकमन्त्रीले पनि मासिक १८० लिटर पेट्रोल र बार्षिक २० लिटर मोबिल पाउने छन् । त्यस्तै सचिव÷विशिष्ट श्रेष्णीका पदाधिकारीले कानुन अनुसार महिनामा १०० लिटर पेट्रोल पाउने छन् ।

सहसचिवले महिनामा ७० लिटर पेट्रोल पाउने छन् । तर, स्वास्थ्यमा उपसचिव र शाखा अधिकृतले समेत ७२ लिटरभन्दा बढी महिनामा पेट्रोल लिएर जाने गरेका छन् । मन्त्री, सचिव र सहसचिवको कुनै हिसाब छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. दीपेन्द्र रमण सिंह महानिर्देशक स्वास्थ्य सेवा विभाग, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ