चिकित्सा शिक्षा आयोग लाई एक विद्यार्थीको प्रश्नः के को लागि परिक्षा हुन्छ ?


चिकित्सा शिक्षा आयोग स्थापना भएकै ३ वर्ष हुन लागिसकेको छ । आयोगको भर्खरै टुसा पलाएको छ भन्दै धेरै सहयोग गरियो । तर, अब त अत्ति भयो । आखिर कहिलेसम्म विद्यार्थीलाई फकाईरहने ?

आयोग स्थापना भएकै मुलभुत रुपमा केबल दुईवटा ऐजेण्डाको लागि थियो । गुणस्तरिय चिकित्सा शिक्षा र मेरिटको आधारमा भर्ना ! चिकित्सा शिक्षा ऐन कै दफा १७ को उपदफा (२) ले योग्यताक्रमको आधारमा भर्ना हुनेछ भनेको छ । अर्थात मेरिटको आधारमा भर्ना । तर, खै कता छ मेरिटको ? खै के को आधारमा भर्ना हुँदैछ ?

अहिले २०२२ को लागि छात्रवृत्तिको तथाकथित मिलान चलिरहेको छ । पहिलो भर्ना सूचिमा भर्ना हुन्छु भनेर भर्ना नभएका या कोही थाहै नपाएर नाम आएका र अझ कोही त नाम आएर पनि थाहा नपाएका विद्यार्थीहरुको कारणले गर्दा खाली हुन गएका सीटमा मिलान भईरहेको छ ।

मलाई तल्लो श्रेणी मा भएका भाई बहिनीहरु प्रति पनि उत्तिकै सम्मान र माया छ । तर पहिलो म्याचिङ्गमा माथिल्लो योग्यता श्रेणीमा भएका विद्यार्थीहरु तल्लो प्राथमिकता भएका कलेजमा भर्ना हुन बाध्य भए भने अहिले तल्लो योग्यता श्रेणी भएका विद्यार्थीहरु माथिल्लो प्राथमिकता भएका कलेजमा भर्ना हुने भए । खै कहाँ भयो योग्यताको आधारमा भर्ना ?

यो त अहिले छात्रवृत्ति नै पाउँदा पनि पढ्दिन भन्ने विद्यार्थीहरुको संख्या न्यून हुने भएर देखिएको सानो समस्या हो । अब यो म्याचिङ्ग जब डोनेसनका लागि सुरु हुन्छ, त्यो बेला थाहा हुन्छ कि आयोगको प्रणाली मा कत्रो प्वाल परेको छ भनेर । लुकाउन खोज्न कोही आए पनि लुक्ने वाला छैन । त्यसैले त आयोगको मिल्दो विरुद्ध नै मुद्दा परेर एक ठाउँका विद्यार्थी अर्को ठाउँ भर्ना हुन्छन् अदालतको आदेशमा । अनि आयोगका गैरजिम्मेवार पदाधिकारीहरु राजनीति गर्छन् ।

विद्यार्थी सङ्गठनलाई बोल्न लगाउँछन् लाज पचाएर, राजनीति गर्ने भए सडकमा गए भयो नि! अझ आयोग कानुन मै नभएको २ वर्ष परिक्षा नै दिन नपाउने गरि कारबाहि गर्छौँ भन्दै विद्यार्थीलाई अनौपचारिक, मौखिक धम्कि दिईरहेको छ । सक्छौ भने कानुनी आधारमा कारबाहि गर न, निरिह विद्यार्थीलाई मानसिक तनाब दिने अधिकार आयोगलाई कसले दियो ? कुन कानुनको आधारमा कारबाहि गर्नुहुन्छ त ? भनेर सोध्दा कार्यविधिको आधारमा कारबाहि गर्छौँ भन्न सम्म भ्याए ।

कार्यविधिको आधारमा कारबाहि हुन्छ कि हुँदैन भन्ने सम्म ज्ञान नहुनेले पद किन ओगट्नु, राजीनामा दिएर मार्ग प्रशस्त गरे हुन्छ । जबसम्म चिकित्सा शिक्षाको प्रवेश परिक्षाको मर्म बुझेका, यसको गहिराई थाहा भएका पदाधिकारिहरु सो पदमा पुग्दैनन् नि, यस्तै भईरहन्छ । त्यसैले राजीनामा सबै पदाधिकारिहरुले दिए हुन्छ । घमण्ड हैन, आँफुमा विश्वास हो । आयोगका अहिले भएका पदाधिकारिहरु भन्दा त राम्रो र विद्यार्थी मैत्री अनि कानुनसम्मत काम गर्न म नै सक्षम छु ।

नामका अगाडी प्रा. डा. राख्दैमा चिकित्सा शिक्षाको मर्म अनुसार काम गर्न सकिन्छ भनेर मान्न सकिँदैन । कृपया पदाधिकारीहरु तपाईँहरु असक्षम सावित भईसक्नु भयो, राजीनामा दिनुहोस्। विद्यार्थीहरुको के को लागि परिक्षाको तयारी गर्ने ? तपाईँहरुको ‘लक्की ड्र’ मा सामेल हुनको लागि?

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com