वीर अस्पतालमा क्याथ ल्याबको ठेक्का पार्न विशाल पण्डितको ‘किर्ते’ काम


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले खरिद गर्न लागेको अत्याधुनिक क्याथ ल्याबको ठेक्का पार्न मेडिकल सप्लायर्स विशाल पण्डितको ‘किर्ते’ काम गरेको फेला परेको छ ।

हस्पिटेक प्रालिका मालिका पण्डितले प्रतिस्पर्धी आपूर्तिकर्ता कम्पनीले आफ्नो कम्पनीलेभन्दा १६ लाख कम हालेपछि ठेक्का हत्याउन वीरका कर्मचारीसँग मिलेर किर्ते काम गरेको फेला परेको हो ।

टेन्डर हाल्दा भ्याटसहित हालेका पण्डितले अरुकोभन्दा १६ लाख महँगो भएपछि सेटिङमा हातले नै लेखेर भ्याट र भ्याटबाहेकको रकम गरेर पेश गरेको पाइएको हो । नियम अनुसार हातले लेखेर तयार पारेको डकुमेन्ट मान्य हुँदैन । साार्वजनिक खरिद कानुन अनुसार यसरी डकुमेन्ट किर्ते गर्ने पण्डितको कम्पनीलाई कालोसूचीमा राख्नु पर्ने हुन्छ ।

सेटिङ गरेर वीरमा कागजात किर्ते गरिसकेपछि पण्डितले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)मा हालेको उजुरीमा भनेका छन्, ‘भ्याट नजोड्दा आफ्नो सस्तो हुन्छ त्यसैले क्याथ ल्याब मेरो कम्पनीले पाउँनु पर्छ ।’, यसरी किर्ते गरेर क्याथ ल्याव पाउनु पर्ने दाबीसहित पिपिएमओमा मुद्दा हालेका पण्डित सफल हुन भने सकेनन् । अस्पतालका केही कर्मचारी समेत पण्डित जिताउन लागि परेका थिए । उनीहरू  नुन खाएर त्यसकाे साेझाे गर्न किर्ते गरेर बिड गर्दा समेत संरक्षणमा देखिएका थिए । यसरी हातले लेखेर टेन्डर हाल्न पाइँदैन भन्ने कुरा ठेक्का सेटिङमा पोख्त पण्डितलाई थाहा नहुने कुरै भएन । तर वीर र पिपिएमओमा सेटिङ मिलाएर ठेक्का हत्याउन उनले किर्ते गरेको देखिन्छ ।

वीरमा क्याथ ल्याबका लागि तीनवटा कम्पनी हस्पिटेक, ईस्ट वेस्ट र ग्लोवल मेडिटेक टेन्डरमा सहभागी भएका थिए । मेडिटेकले जापानीज रुपैयाँ १९ करोड ९८ लाख, इस्ट वेस्टले ७ लाख ३३ हजार ९ सय युरो र हस्पिटेकले ८ लाख युएस डलरमा टेन्डर हालेका थिए । तीन कम्पनीमध्ये टेन्डर खोलेको दिन अन्तर्राष्ट्रिय डलरको मुल्य अनुसार ईस्ट वेस्टले दुईवटाकोभन्दा सस्तो भएको थियो । टेन्डरमा छनौट भएको इस्ट वेस्ट कन्सर्नकोभन्दा  हस्पिटेकले १६ लाख बढीमा टेन्डर हालेको पाइन्छ । त्यो सूचना पाएपछि पण्डितले सेटिङमा हातले नै लेखेर ठेक्का हत्याउने प्रयासमा लागेको देखिन्छ ।

आफ्नो कम्पनीले ठेक्का नपाउने देखिएपछि क्याथ ल्याब खरिद प्रक्रिया नै रद्द गर्ने र फेरि टेन्डर हत्याउने दाउमा पण्डित लागेको वीर अस्पताल कै अधिकारीहरू सुनाउँछन् ।  पण्डितले स्वास्थ्य उपकरण खरिदमा एकछत्र राज गरिरहेका छन् । टेन्डर सेटिङ गरेर भएपनि स्वास्थ्य उपकरण खरिदका ठेक्का पारेरै छाड्छन् । वीरको क्याथ ल्याब खरिदमा डकुमेन्ट किर्ते गर्नुले पनि त्यो कुराको पुष्टि गर्छ । यो घटनाले पण्डितले यसअघि पाएका ठक्कामा पेश गरेका डकुमेन्ट छानबिन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## वीर अस्पताल, ##विशाल पण्डित, #क्याथ ल्याब, #मिलेमतो, #मेडिकल माफिया, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #हस्पिटेक

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ