नेपाल चिकित्सक संघलाई पछाडि फर्केर हेर्दा


काठमाडौं । जनक्रान्ति सम्पन्न भएलगत्तै २००७ साल फागुन २० गते वीर अस्पतालमा कार्यरत २० जना डाक्टरहरुको समूहले आफ्नो पेशागत हक हित प्रतिष्ठा सु-संगठन एवम् भावनात्मक एकता बनाउने उद्देश्यले र कर्तव्यवोधसहित १३ बुँदे निर्णय गरेको थियो । जसमा नेपाल चिकित्सक संघको स्थापना गर्ने अठोट प्रमुख थियो ।

सोही बैठकमा संस्थापक चिकित्सकहरूले उपचार सेवालाई नियम सम्मत बनाउने, स्वास्थ्य सेवामा संलग्न जनशक्तिलाई तालीम र प्रशिक्षणद्वारा दक्ष बनाउने, स्वास्थ्य मन्त्रालयसँग समन्वय राखी चिकित्सा ज्ञान-विज्ञानको प्रवर्द्धन गर्दै आम जनतालाई यसबाट लाभान्वित बनाउनेजस्ता कार्यमा पनि नेपाल चिकित्सक संघको आवश्यकता भएको ठहर गरेको थियो ।
उक्त निर्णयलाई सरकारी वैधानिकता र मान्यता प्राप्त गर्न सोही वर्षको चैत २ गते स्वास्थ्य मन्त्रालयमा चिकित्सकले निवेदन दिएका थिए । सोही वर्ष नेपाल चिकित्सक संघले सरकारबाट स्वीकृति पाएर नेपालको सबैभन्दा पहिलो पेशागत संगठन हुने इतिहास बनाएको हो ।

संघको संस्थापक अध्यक्ष स्व. डा. सिद्धिमणि आचार्य दीक्षित हुन् । उनले संघलाई ८ वर्ष अनवरत नेतृत्व दिएका थिए । संघलाई सुसङ्गठित, संस्थागत एवम् प्रभावकारी बनाउँदै लैजाने क्रममा निरन्तर रुपमा बैठक, सरकारसँगको सम्पर्क, वार्ता र सहमतिका अभ्यास हुँदै आएको थियो ।
२००९ साल बैशाखमा चिकित्सकहरूको तलबमानको विषयलाई लिएर स्नातक उत्तीर्ण चिकित्सकलाई मासिक रू.४००÷—, सहायक चिकित्सकलाई मासिक रु.३००÷—,अतिरिक्त स्नातकोत्तर उत्तीर्ण चिकित्सकलाई मासिक रू. १००÷–थप गरिएको थियो । विदेशबाट पढेर आएका नेपाली वा नेपालमा कार्यरत भारतीय चिकित्सक लाई रू. २००÷–का दरले थप भत्ता दिने प्रस्ताब चिकित्सक संघले प्रस्तुत गर्‍यो । त्यसैताका चिकित्सक संघका काम कारवाहीलाई विधानसम्मत बनाउन डा. एन्. चटर्जीको संयोजकत्वमा एउटा विधान मस्यौदा उपसमिति गठन गरिएको थियो ।
समितिमा डा. यज्ञराज जोशी, डा.आर. वैद्य, र डा.एन्डी जोशी सदस्य थिए । २०१० सालको बडादशैँका अवसरमा जनरल सुर शम्शेरले काठमाडौँस्थित सेतो दरबारको एउटा भाग संघलाई कार्यालय प्रयोजनका लागि दिएका थिए । तर पछि ‘नील सदन’ दिने निर्णय भयो ।
२०१२ साल र त्यसपछि संघले काठमाडौँ उपत्यकाबाहिर घुम्ती स्वास्थ्यसेवा टोली पठाउन शुरू गर्‍यो । २०१४ साल बैशाखमा स्वास्थ्य मन्त्रालयको सल्लाहकार निकायमा चिकित्सक संघका महासचिवलाई सदस्यका रुपमा आमन्त्रण गर्न थालेर नयाँ मान्यताको विकास भएको थियो ।
२०१४ मंसिरमा नेपाल चिकित्सक संघ र विराटनगरको मेडिकल कन्फरेन्सका वीच काठमाडौँमा एकीकरण बैठक तथा वार्ता सम्पन्न भयो । काठमाडौँका चिकित्सकहरूले संघको स्थापना गरेका थिए भने विराटनगरका चिकित्सकहरूले विराटनगर मेडिकल कन्फरेन्सका रुपमा समानान्तर चिकित्सक संगठनको प्रारम्भ गरेका थिए । जुन संघभन्दा अगाडि गठन भएको थियो ।

दुईवटा चलाउनु उचित हुँदैन भनेर काठमाडौं र विराटनगरका चिकित्सकले एकीकरण वार्ता गरेका थिए । उनीहरुको वार्ताबाट दुवै संगठनलाई मिलाएर अखिल नेपाल चिकित्सक संघको स्थापना गर्ने र विराटनगरमा संघको पूर्वाञ्चल शाखा रहने निर्णय भयो । साथै विराटनगरमा जस्तै नेपालगञ्जमा पश्चिमाञ्चल शाखा रहने र काठमाडौँको चिकित्सक संघलाई केन्द्रिय कार्यालयका रुपमा स्थापित गर्ने सहमति भयो । तीन शाखाको संयोजनका लागि विराटगरमा डा. अवधनारायण लाल, मध्यमाञ्चलमा डा.नरेन्द्रध्वज जोशी र पश्चिमशाखामा डा. त्रिवेणीप्रसाद प्रधान रहने सहमति भयो ।

सेतो दरबारमा संघको कार्यालय सात वर्षसम्म रहेपछि २०१५ साल असोजमा आकस्मिक रुपमा सरेर हनुमानढोका अगाडिको एउटा कोठामा रहनु पर्‍यो । २०१७ सालमा डा. डी एन वैद्यको अध्यक्षतामा चिकित्सक संघको अर्को कार्यसमिति निर्वाचित भयो । यस कार्यसमितिका पालामा चिकित्सक संघको प्रथम स्मारिका प्रकाशित भयो ।

विश्वस्वास्थ्य संगठनका प्रकाशनहरू नियमित रुपमा नेपाल भित्रिन थाले । साथै अन्तर्राष्ट्रिय मान्यता पाउने प्रक्रिया खुला गरियो । २०१८ सालमा डा. नागेश्वर प्रसाद सिंह चिकित्सक संघको चौथो अध्यक्ष निर्वाचित भए । यसले चिकित्सक संघको संशोधित विधान पारित गर्‍यो । त्यसपछि पाचौँ अध्यक्ष निर्वाचित भएर डा. यज्ञराज जोशी आए । उनको पालामा विश्व चिकित्सक संघ, ब्रिटिश चिकित्सक संघ, भारतीय चिकित्सक संघ र अमेरिकी चिकित्सक संघसँग सम्बन्ध बढाउने निर्णय गरियो ।

नेपाल चिकित्सक संघको दोश्रो अधिवेशन डा. अवधनारायणको अध्यक्षतामा कार्यसमिति निर्वाचित गर्दै २०२१ सालमा विराटनगरमा सम्पन्न भयो । उहाँका पालामा गैर स्वास्थ्य–उपचार प्रविधिको ज्ञान नभएका व्यक्तिले औषधि भण्डार वा पसल चलाउने र चिकित्सा सेवामा संलग्न व्यक्तिले यस्ता पसलमा सेवा पुर्‍याउने प्रवृत्ति चिकित्सा र अन्य स्वास्थ्य सेवाको गरिमा पतन गराउने कार्य हो भन्ने आवाज उठाउन शुरु गर्‍यो ।

यसै कार्यकालमा चिकित्सक संघले आफ्नै भवन निर्माणका लागि जग्गा प्राप्त गर्न सफलता पायो, जब राजा महेन्द्रसमक्ष भवन निर्माण उपसमितिका अध्यक्ष डा. यज्ञराज जोशीले यसबारेमा कुरा राखे । काठमाडौँस्थित भृकुटीमण्डप पछाडि दुई रोपनी जग्गा यस प्रयोजनका लागि दिने ‘हुकुम’ राजा महेन्द्रले दिए ।

भवन निर्माणार्थ चीनिया चिकित्सक संघले रु. ५०,००० उपलब्ध गरायो भने डा. जोगेन्द्र झाबाट रू. १२००० प्रदान गरिएको थियो । २०२० सालमा नेपाल मेडिकल काउन्सिल ऐन पारित भयो तर काउन्सिलका सदस्यको मनोनयन २०२२ कात्तिकमा मात्र भयो । २०२३ सालमा संघले औषधिमा सरकारले लगाइआएको १० प्रतिशत अतिरिक्त महसुल कुनै दृष्टिकोणले उचित छैन भनी सरकारसमक्ष कुरा राख्यो । परिणामस्वरुप त्यस्तो शुल्क एक प्रतिशतमात्र लगाउने कुरामा सरकारलाई निर्णय गराउन संघ सफल भयो ।

२०२५ सालमा भएको संघको वीरगञ्ज (पाचौँ) अधिवेशनले डा. लक्ष्मीनारायण प्रसाद अध्यक्षका साथै नयाँ कार्यसमितिको निर्वाचन ग¥यो । त्यसै कार्यकालदेखि एउटा अधिवेशन काठमाडौँमा र अर्को मोफसलमा पालैपालो गर्ने परम्पराजन्य निर्णय लिइयो । यस कार्यसमितिले सरकारलाई क्रियाशील सल्लाहकार परिषद गठन गर्न र औषधि नियन्त्रण ऐन लागू गर्न जोड लगायो ।

यसैबेला चिकित्सक संघको विधान संशोधन गरी अञ्चल शाखाको व्यवस्थागर्ने र वाग्मति अञ्चलको हकमा संघको केन्द्रीय कार्यालयले हेर्ने निर्णय पनि भयो । त्यसैताका जापान र न्युजिल्याण्डबाट संघलाई स्वास्थ्यसम्बन्धी छात्रवृत्तीहरू प्राप्त भए भने चिकित्सकहरूको उच्च शिक्षा अध्ययनका लागि छनौटको आधार तयार गर्ने काम पनि भए । यसै समयमा संघको प्रथम अधिवेशन भएको कार्तिक ७ गतेलाई चिकित्सक संघ दिवसको रुपमा मनाउने निर्णय पनि भयो ।

२०२७ साल फागुनमा भएको संघको पाचौँ अधिवेशनले शङ्करबहादुर सिंहलाई नवौँ अध्यक्षसहितको कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भयो । यस अधिवेशनले तत्कालीन पञ्चवर्षीय योजना अवधिमा एउटा मेडिकल कलेजको स्थापना गर्नुपर्ने र सरकारले नेपाल मेडिकल काउन्सिल ऐन लागू गर्नुपर्ने विषयमा जोड दिँदै निर्णय ग¥यो । त्यसताका काठमाडौँ बाहिर वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, राजविराज र राप्तीदूनमा शाखाहरू सक्रिय थिए । यस अवधिमा नेपाल मेडिकल काउन्सिल ऐनको कार्यान्वयन र दन्तविशेषज्ञलाई काउन्सिलमा मनोनयन गरेर समावेशी बनाइनुपर्ने सुझावलाई अगाडि बढाइयो । साथै स्वास्थ्योपचार व्यवसायलाई प्रवद्र्धन गर्ने र सेवाग्राहीको हितलाई ध्यानमा राखी फागुन २८ लाई चिकित्सक दिवसको रुपमा मनाउनुपर्ने सुझावका साथै काठमाडौँको शान्तभवन र वीर अस्पतालमा स्नातकोत्तर तहको शिक्षा तथा तालीमको प्रारम्भ गर्नुपर्ने, मेडिकल कलेजको स्थापनामा पुनः जोड र नर्स तथा अन्य स्वास्थ्यकर्मीको तालीम तथा दक्षता अभिवृद्धि कार्य अगाडि बढाउने कार्यका लागि संघले प्रतिबद्धता लिएको थियो ।

संघका शाखामध्ये कुनैबाट पनि अधिवेशनको आयोजना गर्ने प्रस्ताव नआएपछि काठमाडौँमा सम्पन्न (२०२९ पुस ३० गते ) भएको अधिवेशनताका डा. भीष्मराज प्रसाईँ दशौँ अध्यक्ष निर्वाचित भए । २०३२ सालमा पहिलोपटक सरकारले २०४७ सम्मका लागि दीर्घकालीन स्वास्थ्य योजना लागु गर्ने घोषणा गरेपछि त्यसको तर्जुमाका लागि डा. लक्ष्मीनारायण प्रसाद, डा.सुन्दरमणि दीक्षित, डा. मणिन्द्ररञ्जन बराल, डा. नरेन्द्रबहादुर राना र डा. नगेन्द्रध्वज जोशी सम्मिलित एक समिति गठन गर्‍यो ।

संघको सातौँ एवम् रजतजयन्ती अधिवेशन जनकपुरमा हुनुपर्ने थियो, विविध कारणवश त्यहाँ हुन नसकेपछि दोस्रोपटक काठमाडौँमा भयो । यसले डा. अन्जनीकुमार शर्मालाई संघको एघारौँ अध्यक्ष र अन्य पदाधिकारी निर्वाचित गर्दै संघको पच्चीसवर्षे निरन्तर अस्तित्व तथा प्रभाव प्रस्तुत गर्‍यो।

स्वास्थ्य समस्या अनुसन्धान समितिको गठन तथा प्रतिवेदन प्रस्तुत, प्रतिवेदन कार्यान्वयन सम्बन्धि अर्को समिति गठन, काठमाडौँको ह्युमत टोल भासिएपछि जनतामा उत्पन्न समस्यामा लामो सहयोग, वल्ड् मेडिकल एशोसिएसनमा चिकित्सक संघको सदस्यता, २६ जर्मन वरिष्ट डाक्टरहरूको नेपाल भ्रमण तथा दुईटा डाइलीसीस मेशिन उपहार, डाक्टरहरूले आफ्नो पूर्ण परिचय झल्किने लेटरप्याडमा मात्र प्रेस्क्रिप्सन दिनुपर्ने, शाखाहरूवीचको एकतामा जोड आदि यस अवधिका केही उपलब्धि हुन् ।

काठमाडौँमा २०३४ फागुन १९ देखि २२ गतेसम्म भएको संघको आठौँ अधिवेशनले डा. मणिन्द्ररञ्जन बराललाई नयाँ अध्यक्षको रुपमा निर्वाचित ग¥यो । त्यसपछिको अधिवेशनमा डा. विष्णुप्रसाद शर्मा संघको नयाँ अध्यक्ष निर्वाचित भए । यस अवधिमा धेरै नियमावलीहरू पारित भए । यस अवधिमा संघको थप भवनको भुइँतला निर्माण, अमेरिका, चीन, इजरायल, फ्रान्स, तत्कालीन सोभियत संघ आदि मुलुकबाट एमडी कोर्श उत्तीर्ण गरेका डाक्टरहरूको योग्यता वेलायत, भारत, बाङ्लादेश, पाकिस्तानबाट एम्बीबीएस् सरहको समकक्षता निर्धारण जस्ता उपलब्धि हासिल भएका थिए ।

२०३७ साल फागुन ८-११ मा सम्पन्न संघको दशौँ अधिवेशन पश्चात निर्वाचित कार्यसमितिले सन्तोषजनक रुपमा आफ्ना प्रयास अगाडि बढायो । यसमा त्रिवि चिकित्साशास्त्र विभाग र वीर अस्पतालको बोर्डमा संघको प्रतिनिधित्व हुनुपर्ने, डाक्टरहरूको सरुवाले गर्दा संघको कार्यसम्पादनमा प्रभाव पर्नगयो ।

२०५० साल फागुनमा काठमाडौँमा सम्पन्न नेपाल चिकित्सक संघको सोह्रौँ अधिवेशनले डा.भोजराज जोशी अध्यक्ष सहितको नयाँ कार्यसमितिको निर्वाचन गर्‍यो । त्यसेै समयदेखि नेपालमा प्राइभेट कलेजको स्थापनाका लागि संघले बहसलाई प्रोत्साहन दियो र २०४८सालपछि निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एक पत्र पनि दिइयो । यद्यपि प्राइभेट कलेजहरूमा अचाक्ली महँगो शुल्क लिने प्रवृत्तिलाई संघले नै विरोध गर्नु पनि पर्‍यो ।

२०५१ सालमा भएको संघको सत्रौँ अधिवेशनले डा. रमेशकान्त अधिकारीलाई संघको बीसौँ अध्यक्ष सहितको कार्यसमिति निर्वाचन गर्‍यो । यस कार्यसमितिले आफ्ना बैठकका पारित निर्णय आइन्दा नेपाली भाषामा राख्नुपर्ने निर्णय गरेर नयाँ परम्परा बसाल्यो । चिकित्सक र स्वास्थ्य संस्थाप्रति अभद्र व्यवहारका घटना त्यसबेला पनि हुने गर्थे । त्यसकारण चिकित्सक संघले त्यसबेला ‘यातना तथा चिकित्सा व्यवसाय’ विषयक एउटा चारदिने कार्यशाला गोष्ठी आयोजना गरेको थियो ।

२०४६ सालको जनआन्दोलन पश्चात चिकित्सक संघको बाह्य सम्पर्क र सम्बन्धमा व्यापकता आयो । विश्व चिकित्सक संघका साथै नेपाल चिकित्सक संघले एशिया तथा प्रशान्त क्षेत्रीय चिकित्सक संघको महासंघका बैठक वा सम्मेलनमा भाग लिन थाल्यो । देशभित्र स्वास्थ्य क्षेत्रका मामिला वा सन्दर्भलाई लिएर यसको भुमिका र गतिविधि पनि धेरै बढेर गयो । चिकित्सक संघसंग आबद्ध डाक्टरको निधन भएमा निजका वालवालिकाहरूलाई आवश्यकता अनुसार छात्रवृत्तिको व्यवस्था गर्न थालियो भने डाक्टरहरूको जीवन बीमाको व्यवस्थाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइयो ।

२०५४ सालमा भएको संघका अठारौँ अधिवेशनले डा. विजयकान्त शर्मालाई नयाँ अध्यक्ष निर्वाचित गर्नुका साथै नयाँ कार्यसमिति निर्वाचित गर्‍यो । सो कार्यकालमा पनि निजी क्षेत्रका मेडिकल कलेजका मामिला, चिकित्सा शिक्षाको गुणस्तरीयता, स्नातकोत्तर र डिग्री वा डिप्लोमा योग्यताको स्तर वा समकक्षता निर्धारण, चिकित्सकको सरकारी सेवामा वृत्तिविकासको सवाल, स्वास्थ्य सेवा ऐनको प्रभावकारिता, एसएलसी उत्तीर्ण गर्नासाथ विदेशमा डाक्टरी पढ्न जाने प्रवृत्तिले निम्त्याएको समस्या र चिन्ता, कतिपय नक्कली आईएस्सी प्रमाणपत्रका आधारमा पनि चिकित्साशास्त्रका लागि भर्ना लिइएको शिकायत त्यसबेलाका जल्दाबल्दा समस्या र चुनौतिहरू थिए ।

२०५४ सालमा चिकित्सक संघका सदस्य डा. भरतकुमार प्रधान दुईपटक स्वास्थ्य मन्त्री भए पछि चिकित्सा ब्यबसायभित्रका जल्दाबल्दा समस्यामाथि समाधानको उपाय पहिल्याउन डा. उदयराज उपाध्याय, डा. सोमनाथ अर्याल र डा. निराकारमान श्रेष्ठ सम्मिलित तीन सदस्यीय विशेष समिति गठन गरियो ।

वीरगञ्जमा भएको संघको १९औँ अधिवेशनले डा. आनन्दप्रसाद श्रेष्ठ बाइसौँ अध्यक्ष सहितको नयाँ कार्यसमितिको निर्वाचन ग¥यो । यस कार्यसमितिका मूख्य कार्यसूचीमा स्वास्थ्य सेवा सम्बन्धि ऐन/कानून र अन्य प्रावधानलाई समयसापेक्ष तथा जनउपयोगी बनाउनुपर्ने, सरकारी अस्पतालमा चिकित्सक, नर्स वा अन्य स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति पाउनुपर्ने, संघका आजीवन सदस्य डाक्टरहरूले विस्तृत दुर्घटना बीमा पाउनुपर्ने, सीएमई कलेज (उपचार शिक्षा) लाई अझ व्यापकता दिनुपर्ने, सरकारी अस्पतालमा सेवाग्राही विरामीले पाउने चिकित्सकको सेवा निःशुल्क हुने कुरा विरामीलाई बुझाउनुपर्ने, स्नातकोत्तर तहको स्वास्थ्य सम्बन्धि शिक्षा प्रणालीमा विद्यमान समस्याको उचित समाधान गरिनुपर्ने, चिकित्सा शिक्षा ऐनको कार्यान्वयनलाई जोड दिनुपर्ने, संघका शाखाहरूको योजनाबद्ध कार्यक्रम र गतिविधि तय गर्न सहयोग गर्नुपर्ने, रेडक्रसको चिन्हलाई डाक्टरहरूको पहिचानबोधक ठान्ने र उपयोग गर्ने कार्यको अन्त्य गरिनुपर्ने थिए ।

नेपाल चिकित्सक संघले पचास वर्ष पूरा गरेको अवसर, २०५६ सालमा यसको स्वर्ण जयन्तीका साथ बीसौँ अधिवेशन काठमाडौँमा गर्ने तयारी भयो । हुलाक टिकट प्रकाशित गर्ने र सुनका सिक्का निर्माण गर्ने काम गरियो । त्यसबेलामा संघसँग आबद्ध मतदाता चिकित्सकको संख्या २२२५ पुगेको थियो, जसमध्ये १५५१ जना आजीवन सदस्य हुनुहुन्थ्यो ।
क्रमश:

नेपाल चिकित्सक संघका स्थापना काल देखि ३१ औं कार्य समितिका अध्यक्षहरु
डा. शिद्धिमणी दिक्षित २००७ – २०१५
डा. जीत सिंह मल्ल २०१६–२०१७
डा. दिनेशानन्द बैद्य २०१७–२०१८
डा. नागेश्वर प्रसाद सिंह २०१८–२०१९
डा. यज्ञराज जोशी २०१९–२०२१
डा. अवध नारायण लाल २०२१ २०१३
डा. लक्ष्मण पौडेल २०२३–२०२५
डा. लक्ष्मी नारायण प्रसाद २०२५–२०२७
डा. शंकर बहादुर सिंह २०२७–२०२९
डा. राम भद्र अडिगा २०२९–२०३१
डा. अन्जनी कुमार शर्मा २०३१–२०३३
डा. विष्णु प्रसाद शर्मा २०३३–२०३५
डा. मणिन्द्र रञ्जन बराल २०३५–२०३८
डा. बद्री बहादुर वैद्य २०३९–२०४१
डा. सुदिप कुमार भट्टाचार्य २०४१–२०४३
डा. यन्त मणी प्रधान २०४३–२०४५
डा. सच्चे कुमार पहाडी २०४५–२०४७
डा. हेमाङ्ग दिक्षित २०४७–२०४९
डा. भोजराज जोशी २०४९–२०५१
डा. रमेश कान्त अधिकारी २०५१–२०५३
डा. विजय कुमार शर्मा २०५३–२०५५
डा. आनन्द प्रसाद शर्मा २०५५–२०५७
डा. कल्याण राज पाण्डे २०५७–२०५९
डा. मनोहर प्रसाद गुप्ता २०५९–२०६१
डा. सुधा शर्मा २०६१–२०६३
डा. चोपलाल भुसाल २०६३–२०६५
डा. केदार नरसिंह के.सी. २०६६–२०६८
डा. किरण प्रसाद श्रेष्ठ २०६७–२०६९
डा. अन्जनी कुमार झा २०६९–२०७३
डा. मुक्तिराम श्रेष्ठ २०२०७६
डा. लोचन कार्की २०७६–२०७९

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com