लैंगिक अल्पसंख्यकको आत्महत्या दर बृद्धि


काठमाडौं । केही समय अगाडि नयाँ बानेश्वरमा कोठा भाडा बस्दै आएका २४ वर्षिय एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परे । जागिर र पढाईका लागि काठमाडौँमा कोठा लिएर एक्लै बस्दै आएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बताए अनुसार प्रेम सम्बन्धमा आएको खटपटका कारण उनले आत्महत्या गरेका हुन् । उनीसँग दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका एक जना ‘गे पुरुष’लाई प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको थियो ।
प्रेम सम्बन्धमा रहेका समलिंगी पुरुष विवाहित भएको थाहा पाएपछि प्रेम सम्बन्धमा समस्या आएको थियो । लैंगिक पहिचानका आधारमा सजिलै जागीर पाउने अवस्था नहुँदा उनी डिप्रेसन समेत परेको बताइएको थियो । अझ पार्टनरसंगको सम्बन्धमाआएको खटपटका कारण आत्महत्याको बाटो रोज्न पुगेको प्रहरीले जनाएको छ ।
लैगिक पहिचानकै आधारमा परीवारबाट निकालिनु, जागिर सहजै नपाउँनु र विभिन्न खालका हिंसा खेप्नुपर्ने स्थितीका कारण पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसख्यक समुदायमा आत्महत्याको दर बढ्दै गएको देखिन्छ ।

ब्लु डायमण्ड सोसाइटीको विवरण अनुसार पछिल्लो दुई वर्षमा देशभर ४० जनाले आत्महत्या गरेका छन् । प्रत्येक साता आत्महत्याको प्रयास गरेका ८ देखि १० जना काउन्सिलिङका लागि पुग्ने गरेको पाइएको छ । निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङका अनुसार फरक लैंगिक पहिचान खुलाइसकेपछि समाजमा स्थापित हुनसक्ने वातावरण नहुँदा आधारभूत आवश्यकताका लागि नै समस्या भोगिरहेका यौनिक अल्पसंख्यकमा महामारीले झन् जटिलता थपिदिएको हो ।

उनी भन्छिन्, ‘मैले पछिल्लो चार दिनमा तीनजना आत्महत्याको प्रयास गरेका व्यक्तिहरुलाई भेटेर काउन्सिलिङ दिएँ । हरेक साताजसो तीन देखि चार जनालाई आफैले भेटेर सकेसम्म सम्झाउने प्रयास गर्छु । र अधिकांशलाई परामर्शका लागि मानसिक रोग विशेषज्ञ वा मनोविद् कहाँ पठाउने गरेकी छु । यो ब्लु डायमण्डको सम्पर्कमा आउने काठमाडौंको मात्रै तंथ्याक हो । देशभर यस्ता घटना कति घटिरहेका छन् भन्ने अनुमान पनि गर्न सकिदैँन ।’

हाल देशभर अनुमानित ९ लाखभन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जनसंख्या छ । विश्वव्यापी मान्यता अनुसार कुल जनसंख्याको ८ देखि १० प्रतिशत जनसंख्याक्वयेर समुदाय छ, तर नेपालमा यकिन तंथ्याक भने उपलब्ध छैन ।

लैंगिक पहिचानका आधारमा भोग्नुपर्ने हिंसाको डरका कारण एकदमै न्यून प्रतिशत मात्रै लैंगिक पहिचानसहितको पहिचान खुलाउने गरेका छन् । लैंगिक पहिचान खुलाएकाहरुमा पनि परिवारबाट निकालिनु, वैवाहिक सम्बन्ध स्थापित गर्न नपाउनु, जागिर सहजै नपाउने हुदाँ आर्थिक समस्या झेल्नुपर्ने जस्ता विभिन्न मानसिक तथा शारीरिक हिंसाका कारण एन्जाइटी र डिप्रेसनको सिकार हुने गरेको मनोविद्हरु बताउँछन् । पछिल्ला केही वर्ष यता लैंगिक पहिचान खुलाएरबाहिर आउने क्रम बढेपनि पहिचानका आधारमा आवश्यक सेवा सुविधाबाट बन्चित हुनुपर्ने, जागिर नपाउने, बस्नका लागी सजिलै स्थान नपाउने, सार्वजनिक स्थानमा पहिचान कै आधारमा हिंसा खेप्नुपर्ने आदि विभिन्न कारणले निम्त्याएको डिप्रेसनका लागी आत्महत्याको दर बढ्दै गएको बताउँछिन्, मनोविद् जमुना श्रेष्ठ ।
लैंगिक पहिचानसहित बाहिर आउँदा परीवारबाट निकालिएका, दैनिक काम गरेर बाँचिरहेकाहरुलाई लकडाउनमा बाँच्न पनि समस्या भएको र कतिपय नागरीकता नहुुँदा राहतबाट समेत बन्चित हुनुपरेका घटनाले अल्पसंख्यक समुदायमा डिप्रेसन र एन्जाइटीको समस्या बढिरहेको चिकित्सक बताउँछन् ।

आत्महत्याको प्रयास गर्नेहरु धेरै
गत शुक्रबार मन्जु (नाम परीवर्तन)ले किरा मार्ने औषधि प्रयोग गरेर आत्महत्याको प्रयास गरेपछि परिवारका सदस्यले अस्पताल पुर्याए । उनले सय एमएल उडुस मार्न प्रयोग गरीने सेल्फोस सेवन गरेकी थिइन् । विषादीको असर शरीरमा धेरै देखिएकाकारण १० दिन भेन्टीलेटरमा राखेर उपचार गरियो ।
यता आइतबार मात्रै कलंकी बस्दै आएका राजन (नाम परीवर्तन)ले झुण्डिएर आत्महत्याको प्रयास गरे । उनी ट्रान्सजेण्डर पुरुष हुन् । उनलाई सिलिङमा भुण्डिएर आत्महत्याको प्रयास गरीरहेको थाहा पाएपछि छिमेकीले बचाएकाथिए ।
यौनिक अल्पसंख्यक समुदायमा कोभिड महामारी पश्चात आत्महत्याको प्रयास गर्ने समस्या जटिल समस्याको रुपमा देखिएको छ । गत ६ वर्ष देखि यौनिक अल्पसंख्यकहरुको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरीरहेकी मनोविद् जमुना श्रेष्ठका अनुसार लकडाउनको अवधीपछि यो समस्या विकरालबन्दै गएको छ ।

के छ तथ्यांक
प्रहरीको तंथ्याकअनुसार क्वयेर समुदायमा मात्रै नभई महामारी सुरु भए पश्चात आत्महत्याको दर बढेको देखिन्छ । आर्थिक वर्ष २०७८-०७९ मा देशभर एक हजार ४० जनाले आत्महत्या गरेको तंथ्याक छ । यस्तै आ.व २०७७-०७८ मा ७हजार एक सय ४१ र २०७६-०७७ मा २ हजार ७ सय तीनजनाले आत्महत्या गरेको प्रहरीको विवरणले देखाँउछ । महामारी सामान्य अवस्थामा फर्केपछि आम समुदायमा आत्महत्याको दरमा कमी आए पनि लैंगिक अल्पसंख्यकमा भने आत्महत्याको दर उच्च रहेको अभियान्ताहरु बताउँछन् । विज्ञहरुका अनुसार अझैसम्म लैंगिक फरक पहिचानलाई स्वीकार्न नसकेका कारण हुने हिंसा, वैवाहिक सम्बन्धलाई कानुनी मान्यता नदिइनु, लैंगिक पहिचानको आधारमा नागरिकता नपाउँदा आधारभूत आवश्यकताबाट बन्चित हुनु र महामारीले थप जटिलता निम्तनु आदी विभिन्न कारणले महामारीपछि आत्महत्याको दर बढेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com