विश्व आत्महत्या दिवस

बढ्दो आत्महत्याको ग्राफ


काठमाडौं । विगत चार वर्षको अन्तरालमा आत्महत्या गर्नेको दर ११ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आत्महत्या गर्नेको दर हरेक वर्ष बढ्दै गएको देखिएको छ ।

बि.स. ०७५ सालमा आत्महत्या गर्नेको संख्या ५ हजार ३१७ जना अर्थात ३ दशमलब ७७ प्रतिशत थियो । तर, त्यो संख्या हाल बढेर बि.स ०७८ मा ७ हजार ११७ जना पुगेको छ । यो संख्या १४ दशमलब ४ प्रतिशत हो । ०७७ मा आत्महत्या ६ हजार २४१ जनाले गरेका थिए । त्यस्तै ०७६ सालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए । ०७९ को तथ्यांक भने एकिन भएको छैन ।

सरकारले आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्याको विषय बन्दै गएको बताएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले प्रत्येक वर्ष विश्वमा ७ लाख मानिसको मृत्यु आत्महत्याका कारणले हुने गरेको बताएको छ ।

नेपालमा पनि राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणको रिर्पोट अनुृसार कुल जनसंख्याको ६ दशमलब ५ प्रतिशत मानिसमा आत्महत्याको सोच र योजना हुने गरेको देखिएको छ ।

चिकित्सकहरुले बताए अनुसार मानसिक स्वास्थ्य समस्या, जैविक कारण, दीर्घकालिन रोगहरु, मनो सामाजिक कारणले आत्महत्या रोज्ने गरेका छन् । एक्कासी धेरै खुसी हुने वा धेरै दुखी हुने व्यक्तिले तत्काल आत्महत्या रोज्न सक्छन् । आफैलाई हानी पुर्याउने तथा जोखिमपूर्ण व्यवहार गर्ने, मृत्युबारे कुरा गर्ने जस्ता संकेत आत्महत्या गर्ने व्यक्तिले देखाउँछन् ।

मानसिक अस्पताल लगनखेलका बरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डा बासुदेव कार्कीका अनुसार विश्वमा हरेक वर्ष १ करोड ६० लाख नागरिकले आत्महत्याको प्रयास गर्छन् । उनिहरु मध्ये आठ लाखले प्रतिवर्ष आत्महत्या गर्दै आएका छन् । उनका अनुसार प्रति ४० सेकेण्डमा एक जनाले आत्महत्या गरिरहेका हुन्छन् ।

मृत्युको कारण मध्ये १ दशमलब ४ प्रतिशत आत्महत्या हो । त्यस्तै एक जनाले आत्महत्या गर्दा १३५ जना त्यसबाट प्रभावित हुने गरेको डा कार्की बताउँछन् । विश्वमा १५ देखि २९ वर्षका उमेर समूहको मृत्युको सुचि आत्महत्या रहेको छ र त्यो दोश्रो स्थानमा छ ।

नेपालको अवस्था
नेपालमा १५ देखी ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० को तथ्यांक अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४ दशमलब ३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाईएको डा कार्कीले बताए ।

त्यस्तै २ दशमलब ३ प्रतिशत वयस्कमा र ० दशमलब ६ प्रतिशत किशोरकिशोरीमा उदासिनताको समस्या देखिएको छ । ६ दशमलब ५ प्रतिशत वयस्कमा र ३ दशमलब ९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको देखिएको छ । डा कार्कीले भने, १ दशमलब १ प्रतिशत वयस्क र ० दशमलब ७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको देखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com