एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा ९५ प्रतिशत लक्ष्य प्राप्तिमा चुनौति


काठमाडौ । एचआईभी संक्रमित पत्ता लगाउन प्रयोग गरिने किट खरिमा आवश्यक बजेट नभएका कारण ९५ प्रतिशत लक्ष्य प्राप्ति गर्न चुनौति रहेको एक कार्यक्रमाका अधिकारीहरुले बताएका छन् । सरकारले सन् २०३० सम्ममा एचआईभी न्युनिकरण गर्ने भनेर अन्तराष्ट्रिय प्रतिवद्धता गरिसकेको छ । त्यस्तै एनएचएसपी राष्ट्रिय रणनीति (सन् २०२१–२०२६)ले ९५÷९५÷९५ को लक्ष्य लिएको छ । ९५ प्रतिशत भनेको अनुमानित संख्याको खोजी गर्ने, त्यस्तै ९५ भनेको तिनिहरुको उपचार गर्ने र ९५ भनेको उपचारमा रहेकाको भाइरल लोड परीक्षण गर्ने हो । तर, बजेट आवश्यकता अनुसार नहुदा तोकिएको समयमा ९५ को लक्ष्य हासिल गर्न निकै कठिन रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाले बताईन् ।

बिहीबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धीत लान्छना तथा भेदभाव न्युनिकरणका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा निर्देशक डा देवकोटाले एचआईभी एड्सको अवस्था, केन्द्रले गर्दै आएको काम, दातृ निकायले गरेको सहयोग, सन् २०३० सम्म हासिल गर्नु पर्ने लक्ष्यका बारेमा विस्तृत जानकारी दिईन् ।

‘७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितहरुप्रति समाजमा भेदभाव तथा लान्छना यथावत रहेको र सबै गर्भवती प्रसुति, सुत्केरी महिलाहरुको एचआईभी परीक्षणको पहुँचमा पुग्न नसकेको देवकोटाले बताईन् । उनले यसअघि एचआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’ को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’ को मात्र उपचार हुने बताईन् ।

आर्थिक वर्ष २०७७ ÷ ०७८ मा ५६ करोड ४८ लाख ८५ हजार बजेट थियो । भने २०७८÷०७९ मा ५६ करोड ५२ लाख थियो र तर यस आर्थिक वर्ष २०७९÷०८० मा ५५ करोड बजेट रहेको डा.देवकोटाले जानकारी दिईन् । डा.देवकोेटाले पहिलाको तुलनामा बिरामीको संख्या बढ्दै गएको तर बजेट भने घटेको गुनासो गरिन् ।

कति छन् बिरामी
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल एचआईभी एड्सका अनुमानित ३० हजार संक्रमित छन् । पुरुष १६ हजार ४ सय रहेका छन् । महिला १३ हजार ६ सय छन् । १४ बर्षमुनिका बालबालिकाहरु १२ सय रहेका छन् । निर्देशक डा देवकोटाले हरेक वर्ष ६८० नयाँ एचआईभी संक्रमित थपिने गरेको पनि बताईन् । एचआईभीबाट ५१० जनाको भने मृत्यु भएको छ । डा.देवकोटाले भनिन्, ‘एचआईभीको उच्च जोखिममा सुईको प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङगी र तेस्रो लिङगीमा बढी पर्दछन् ।’

कार्यक्रममा इपीक नेपालका प्रतिनिधि राजेश खनालले कुन समुदायमा एचआईभी संक्रमित छन् पहिला त्यस्ता समुदाय खोज्ने गरेको बताए । ‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले काम गदै आएको छ,’ खनालले भने, ‘हामीले सात प्रदेशका ३७ जिल्ला र ३८७ नगरपालिकामा सेवा दिदै आएका छौं ।’

यता कार्यक्रममा सेभ द चिल्डे«नका प्रतिनिधि सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिने बताए । वन्तले भने, ‘हामीले २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका छौं, आठ वटा गैरसरकारी संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन भएको छ ।’
वन्तका अनुसार महिला एचआईभी पोजेटिभका लागि लक्षित गरेर काठमाडौं, ललितपुर, भक्तपुर , पोखरा र सुनसरी गरी पाँच जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘सबैभन्दा बढी बैदेशिक रोजगारीमा जाने २० वटा जिल्ला छानेर हामीले एचआईभी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौं उनले भने ।

सेभ द चिल्ड्रेनले बैदेशिक रोजगारीका लागि भारत लगायत अन्य देश गएर फर्कने जिल्लामा नेपाल हेल्थ सोसाईटीबाट कार्यक्रम सञ्चालन गरिरहेको बताए । सेभ द चिल्ड्रेनले भारतबाट आएकाहरुलाई एचआईभीसँगै क्षयरोगको पनि परीक्षण गर्ने गरिएको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले एचआईभी संक्रमितलाई गरिनें विभेद र लान्छना सबै समुदाय मिलेर घटाउँन सकिने बताए । डा. सिंहले भने, ‘एक जना मात्र लागेर हुदैंन सबै समुदाय लागेर मात्र यो भेदभाव र लान्छना अन्त्य गर्न सकिन्छ ।’

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले आम जनमानसमा एचआईभी एड्स तथा यौनबाट संक्रमितहरुमाथि समाजमा अझ पनि भेदभाव र लान्छना लगाउने कार्य जारी रहेको भन्दै त्यसको न्युनिकरणका लागि सरोकारवाला पक्षसंग मिलेर छलफल चलाएको बताए । उनले भेदभाव तथा लान्छनाकै कारण अहिले पनि करीब एक तिहाई संक्रमितहरु उपचारको पहुँच बाहिर रहेको बताउँदै सञ्चारमाध्यम ती भेदभाव र लान्छना कम गर्न सहयोगी हुनसक्ने धारणा राखे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com