सप्तरी-२ मा पूर्व स्वास्थ्यमन्त्री यादव र डा. सिके राउतबीच कडा टक्कर


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभाका लागि सप्तरी क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त क्षेत्रबाट प्रतिनिधिसभामा १६ जनाको उम्मेदवारी परेपनि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच कडा प्रतिस्पर्धा हुने विश्लेषण सुरु भएको छ ।

नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका यादव र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विशेष सम्बन्ध रहेका राउतबीच सप्तरी-२ मा कडा टक्कर देखिन्छ । मधेशमा आफ्नो प्रभाव क्षेत्र विस्तार गर्ने योजनामा रहेका डा. राउत मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा स्थापित हुने दाउमा छन् ।

सप्तरी-२ मा ओलीले देखावटी रुपमा उपेन्द्रलाई समर्थन गरे पनि रणनीतिक रूपमा यादवलाई समर्थन गर्ने सम्भावना रहेको एमाले कै नेताहरू बताउँछन् । उक्त क्षेत्रमा नेपाली कांग्रेस र नेकपा माओवादीसहितको सत्ता गठबन्धनले लोसपाका जयप्रकाश ठाकुरलाई समर्थन गरेपनि उपेन्द्र र सिकेबीच नै प्रतिस्पर्धा हुने देखिएको हो ।

उक्त निर्वाचन क्षेत्रबाट जसपा अध्यक्ष यादव, जनमत पार्टीका अध्यक्ष डा. राउत, लोसपाका ठाकुरसहित १६ जना चुनावी मैदानमा छन् ।  राप्रपाका कैला मन्सुरी(मियाँ), नेपाली जनता दलका चन्द्र कुमारी देव, नेपाली कांग्रेस (बी.पी.) बाट चिरञ्जीवी लाल देव, हाम्रो नेपाली पार्टीका डम्बर नारायण साह तेली, नेपाल संघीय समाजवादी पार्टीका प्रमिला देवी मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीका बरुण कुमार झा, पिछडा वर्ग निषाद दलित जनजाति पार्टीका सुमित्रा मण्डल र राप्रपा नेपालका हजरत अली पनि यादव र राउतसँगै प्रतिस्पर्धामा रहेका छन् । तर, यादव र राउतबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ चर्चामा छन् ।

पटक-पटक सत्तामा पुगेका यादव र सत्ताको स्वाद चाख्ने रणनीतिमा रहेका डा. राउतबीच सप्तरी-२ मा कडा टक्कर देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #जनमत पार्टीका अध्यक्ष, #डा. सिके राउत, #नेपालका अध्यक्ष, #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, #प्रतिनिधिसभा सप्तरी क्षेत्र नम्बर २, #लोसपाका जयप्रकाश ठाकुर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com