वीपी प्रतिष्ठानले मिलेमतोमा झन्डै २० लाख हर्जना नलिएको पुष्टि


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारीले मिलेमतोमा झन्डै २० लाख हर्जना नलिएको तथ्य फेला परेको छ । समयमै मेडिकल सामग्री र मेसिनरी औजार आपूर्ति नगर्ने फर्मसँग वीपी प्रतिष्ठानका कर्मचारीले मिलेमतोमा झन्डै २० लाख हर्जना छुट दिएको खुल्न आएको हो ।

महलेखा परीक्षकको कार्यालयका अनुसार वीपी प्रतिष्ठानले विभिन्न १२ वटा फर्मसँग २० लाख ३८ हजार १६४ रुपैयाँ हर्जना लिनु पर्ने थियो । तर, प्रतिष्ठानले २ लाख ५ हजार १६९ रुपैयाँ मात्र हर्जना लिएको पाइएको छ । वीपी प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा विभिन्न १२ वटा फर्मलाई १८ लाख ३२ हजार ९९५ रुपैयाँ हर्जना छुट दिएको पाइएको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ तथा सम्झौताको शर्त बमोजिम आपूर्तकले सम्झौता अवधिमा सम्झौता अनुसारको सामान आपूर्ति नगरेमा सम्झौता रकमको प्रतिदिन ०.०५ प्रतिशतका दरले बढीमा १० प्रतिशतमा नबढ्ने गरी पूर्वनिर्धारित क्षतिपूर्ति असूल गर्न पर्ने व्यवस्था छ । तर, वीपी प्रतिष्ठानले सम्झौता अवधिमा सम्झौता अनुसारको सामान आपूर्ति नगर्ने १२ वटा फर्मसँग झन्डै १८ लाख बढी हर्जना नलिएको तथ्य खुलेको छ । महालेखाका अनुसार वीपी प्रतिष्ठानले गर्ग इन्पेक्स, नेसनल मानसरोवर प्रिन्टिङ प्रेस, जय श्री श्याम ट्रेडिङ कन्सर्न, द मेडिकल सोलुसन प्रालि, सिद्धिविनायक धरान सप्लायर्स प्रालि र हेल्थ लिङ्क नेपाल प्रालिसँग उक्त हर्जना नलिएको हो ।


त्यस्तै एभरेष्ट ट्रेड लिङ्क, सुदीप इन्टरनेसनल प्रालि, श्याम सर्जिकल सप्लायर्स, डाइग्नोटेक सपोर्ट प्रालि र जी एच मेडिटेक कन्सर्नसँग वीपी प्रतिष्ठानका पदाधिकारीले मिलेमतो गरी १८ लाख बढी हर्जना छुट दिएका हुन् ।
अख्तियारको दुरुपयोग गरी सम्झौता अनुसारको हर्जना नलिने वीपी प्रतिष्ठानका जिम्मेवार पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ । वीपीका पदाधिकारीले आफ्नो स्वार्थमा नीतिगत भ्रष्टाचार कसरी गर्छन् भन्ने यो गतिलो उदाहरण हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #घोटाला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com