विभिन्न देशमा छरिएर बसेका स्वास्थ्यकर्मीलाई गोलबद गर्न अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन (अन्तर्वार्ता)


२० हजार बढि नेपाली मुलका चिकित्सक, नर्स, पारामेडिक्स लगायत अन्य स्वास्थ्यकर्मी गरि अमेरिकामा बसाेबास गर्छन् । छरिएर रहेका स्वास्थ्यकर्मीलाई एकै छानामुनि गाेलबद्द पार्ने उदेश्यले पहिलाेपटक अमेरिकामा पहिलो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदैछ।

उक्त सम्मेलनमा १० देश बढीबाट स्वास्थ्यकर्मीको सहभागी रहने छ । पछिल्लो समय बढ्दै गएकाे नसर्ने राेग बारे सम्मेलनमा बृहत्  छलफल हुने छ ।

एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी मे महिनाको २७ र २८ तारिखमा अमेरिकाको डलासमा हुनेछ । यसै सम्मेलनकाे विषयलाई जाेडेर स्वास्थ्य लाइभले एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा.सञ्जीव सापकोटासँग लिएको अन्तर्वार्ता :

अमेरिकामा पहिलो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदैछ, याे सम्मेलन किन आवश्यक पर्याे ?

पहिले पनि यस्तो खालकाे सम्मेलन गर्ने विषयमा छलफल भएको थियाे । तर, धेरै चुनाैतिहरुका कारण हुन सकेन ।  केही संस्थाहरूले गर्ने प्रयास गर्दापनि सबैलाई एकैठाउँमा ल्याउने सम्मेलन आयोजना गर्न सम्भव भएकाे थिएन ।

उत्तर दक्षिण अमेरिकाका विभिन्न राज्य तथा  स्थानमा बसोबास गर्ने नेपाली मुलका झन्डै २० हजारभन्दा बढी स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिहरू छन् । उनिहरुलाई एकै ठाउँमा भेला गर्ने प्रयास गर्नका लागि पनि पहिलो क्षेत्रीय स्वास्थ्य सम्मेलनको आयोजना हुन लागेको हो ।

उत्तरी र दक्षिणी अमेरिकामा गरी ( क्यानडा र संयुक्त राज्य अमेरिका समावेश) नेपाली मुलका २० हजारभन्दा बढी नर्स, चिकित्सक, महामारी विशेषज्ञ, स्वास्थ्य व्यवसायी, पारामेडिक्स, स्वास्थ्यको विषयमा वकालत गर्ने लगायतका व्यक्तिहरूलाई एकै स्थानमा भेला गरेर जोड्नका लागि साथै उनीहरूको कुरा एकै ठाउँमा सुनिदिने संस्था वा सम्मेलन नभएकाले यो सम्मेलनको आयोजना गर्दैछौं ।

याे सम्मेलन गर्नुकाे मुख्य उदेश्य काे हाे ?

उत्तर र दक्षिण अमेरिकाका विभिन्न क्षेत्रमा गरी नेपाली मुलका व्यक्तिहरूको सङ्ख्या २ लाखभन्दा धेरै मानिसहरूको बसोबास रहेको छ । ती नेपाली नागरिकको स्वास्थ्य आवश्यकता र स्वास्थ्यमा देखिएका समस्या लगायतका विषयमा कस्तो पहुँच छ र उनीहरूलाई स्वास्थ्यसँग सम्बन्धी समस्यालाई कसरी सहज बनाउन सकिन्छ भन्ने उदेश्यका साथ सम्मेलनको आयोजना  हुन लागेको हो ।

साथै यी क्षेत्रमा बसोबास गर्ने नागरिकले स्वास्थ्य क्षेत्रलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ, विदेशमा बसेर पनि नेपाली नागरिक र नेपाली स्वास्थ्य क्षेत्रलाई कसरी राम्रो बनाउनका लागि के भूमिका निर्वाह गर्ने तथा नेपालमा रहेका स्वास्थ्य क्षेत्रका व्यक्तिहरूलाई कसरी नीतिगत रुपमा सरकारलाई सल्लाह सुझाव दिने पनि सम्मेलनको अर्को उदेश्य रहेको छ ।

सम्मेलनको मुख्य उद्देश्य उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु रहेको छ ।

कति देशका प्रतिनिधि सहभागी हुदैछन्, उनिहरूका लागि व्यवस्थापन कसरी गरिन्छ ?

अमेरिकाको डलासमा मे २७ र २८ मा आयोजना सम्मेलन हुँदैछ । जसमा अमेरिका, क्यानडा, मेक्सिको लगायत करिब १० वटा मुलुकका प्रतिनिधिले सहभागीता जनाउने बिश्वास छ।

सम्मेलनका लागि तयारी गर्ने समय कम भएकाले के कति सहभागि हुन्छन् भन्ने अहिले नै यकिन भन्न सकिँदैन । तर, सम्मेलनमा भौतिक रुपमा सहभागीता जनाउन नसके पनि भर्चुअल माध्यमबाट पनि जोडिन सक्ने व्यवस्था गरिएको छ ।

सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न स्वास्थ्य समिति, वैज्ञानिक समिति लगायतका समिति एवं उपसमिति पनि गठन भएको छ । जसले सम्मेलनमा सहभागि भएकाहरूको बसोबासको व्यवस्था, विभिन्न विषयमा हुने छलफलका लागि हल व्यवस्थापन,‌ रजिस्ट्रेशन लगायतको काम  गर्छ ।

अहिलेसम्म एनआरएनएको ग्लोबल हेल्थ कमिटीले नेपालकाे स्वास्थ्य क्षेत्रमा के के गरेकाे छ ?

एनआरएनए ग्लोबल स्वास्थ्य समितिले स्वास्थ्यको क्षेत्रमा लाग्ने खर्च, समय, झन्झटलाई सक्दो कम गर्ने, रोग लाग्नै नदिनका लागि के के उपाय अपनाउन सकिन्छ भनेर विभिन्न सभा, छलफलको आयोजना गर्दै आएको छ भने जनचेतनामुलक पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

साथै नेपालमा विभिन्न समयमा आएको विपदको बेलामा समितिले आर्थिक र भौतिक रुपमा पनि सहयोग गर्ने काम गरेको छ । ०७२ सालकाे बानासकारी भुकम्फको बेला पनि हामीले आर्थिक सहयोग गरेका थियौं भने अन्य प्राकृतिक विपदको बेला पनि हामीबाट हुने सहयोग गर्दै आएका छौं ।

त्यति मात्र नभई स्वास्थ्यलाई कसरी पवद्र्धन गर्न सकिन्छ, आर्थिक रुपमा कसरी स्वास्थ्यलाई सहज र सुलभ बनाउने, रोग लाग्न नदिनका लागि विभिन्न रोकथामका विषयमा हामीले जनचेतना फैलाउने काम पनि समितिले गर्दै आएको छ ।

विश्वका विभिन्न मुलुकमा गरी एनआरएनए ग्लोबल हेल्थ समितिका विभिन्न ८० वटा हाङ्गाहरू रहेका छन् । र, तीनिहरूले पनि स्वास्थ्यका विभिन्न विषयमा छलफल गर्ने, जनचेतना फैलाउने, स्वास्थ्य वकालत गर्ने, स्वास्थ्यलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ लगायतका विषयमा काम गर्दै आएको छ ।

बढ्दाे नसर्ने राेगकाे जाेखिमकाबीच तपाईंहरूकाे नेपाल र नेपालीबीच कस्ताे भुमिका रहन्छ ?

सर्नेभन्दा पनि नसर्ने रोगका कारण पछिल्लो समय भयावह रुप लिन थालेकाले यो निकै नै चिन्ताको विषय बनेको छ । मानिसको बानी व्यवहार, उसको रहनसहन, खानपानका कारण पनि नसर्ने रोगको जोखिम बढिरहेको देखिन्छ ।

मुटुरोग, मधुमेह, क्यान्सर, मानसिक स्वास्थ्य सम्बन्धी समस्या लगायतको जोखिम पनि निकै डर लाग्दोगरी बढिरहेको छ । विशेषगरी मानसिक स्वास्थ्य सम्बन्धी समस्या झन् डरलाग्दो छ । बेलाबेलामा हुने प्राकृतिक विपद, महामारीका कारण आत्महत्याको दर बढ्ने, मानिसहरू डिप्रेशनमा जाने, एकहोरो हुने जस्ता जोखिम पनि बढाएको छ । यसको रोकथाम र निराकरणका लागि सबैले आ आफ्नो स्तरबाट नै पहल गर्नुपर्ने देखिन्छ ।

आफ्नो खानपानको बानीलाई सुधार्ने, स्वस्थ जीवनशैली अपनाउने र साथै ग्लोबल हेल्थ समितिले सञ्चालनमा ल्याएको टेली हेल्थ सेवामार्फत् पनि स्वास्थ्यसँग सम्बन्धी कुनैपनि जिज्ञासा भएमा सम्पर्क गरेर जानकारी हासिल गर्न सकिन्छ ।  नसर्ने रोगको रोकथाम र जोखिम न्यूनिकरण गर्नका लागि हामी सँधै तयार छौं र लागिरहेका छौं ।

अहिले मानसिक स्वास्थ्य गम्भीर रूपमा देखा परेकाे छ । यसका विषयमा सम्मेलनमा आवाज उठाउनु महत्त्वपूर्ण छ। अहिलेसम्म सयौं नेपालीले आत्महत्या गरेका छन् र यो दर बढ्दै गएको छ । ग्लोबल हेल्थ कमिटीको भूमिका नेपालीमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न र आत्महत्या रोक्न उल्लेखनीय हुनु पर्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता
ट्याग : ##NRNA

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com