दुई मन्त्रालय पाएकोमा पूर्वस्वास्थ्यमन्त्री उपेन्द्रले किन निजी स्कुलका मालिक राईलाई मात्र पठाए ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी(जसपा) नेपाललाई दुईवटा मन्त्रालय छुट्याएका थिए । तर, आज सपथमा पूर्वस्वास्थ्यमन्त्री उपेन्द्रले निजी स्कुलका मालिक अशोक राईलाई मात्र शिक्षामन्त्री बनाएर पठाएका छन् ।

जसपाका अध्यक्ष समेत रहेका पूर्व स्वास्थ्यमन्त्री उपेन्द्रले काठमाडौंको बुद्धनगरस्थित स्वप्न बाटिका स्कुलका मालिक अशोक राईलाई मात्र मन्त्री बनाएर पठाएका हुन् ।

सत्ता गठबन्धनको बैठकमा जसपाले दुई मन्त्रालय पाउने सहमति भएपछि उपेन्द्रले मन्त्रीमा राईको मात्र नाम दिए । निजी स्कुलका मालिक राईलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाएर उपेन्द्र समेत विवादमा तानिएका छन् ।

प्रधानमन्त्री दाहालले जसपाका अध्यक्ष उपेन्द्रसँग दुई मन्त्रीको नाम मागेका थिए । प्रधानमन्त्री आज बिहान शिक्षा र वन तथा वातावरण मन्त्रालयमा सपथ खुवाउने गरी उपेन्द्रसँग दुईजना सांसदको नाम मागेका हुन् । तर, उनले शिक्षामा मात्र मन्त्री पठाउने सन्देश पठाए ।

जसपामा प्रदीप यादव, प्रमोद यादव, वीरेन्द्र महतोलगायत मन्त्रीको आकांक्षी थिए । उपेन्द्रले वनमन्त्रालयमा मन्त्री पठाउन मानेनन् । प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार उपनिर्वाचनबाट चुनाव जितेर आएपछि उपेन्द्र आफैं मन्त्री बन्ने मनस्थितिमा छन् । उनले  परराष्ट्र मन्त्रालयमा जान चासो देखाएका छन् । उपेन्द्र चुनाव जितेर परराष्ट्रमन्त्री बन्ने योजनामा रहेकाले एउटा मन्त्री मात्र पठाएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ ।

आगामी बैशाख १० गते बारा- २ हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा उपेन्द्र उम्मेदवार बन्ने निश्चित छ । उपनिर्वाचनमार्फत सांसदमा छिर्न उनले त्यो क्षेत्रबाट निर्वाचित रामसायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएका हुन् । उपेन्द्र जसरी पनि चुनाव जितेर आउने रणनीतिमा छन् ।

प्रधानमन्त्री प्रचण्डसँग अहिले स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, वन, कानुन र युवा तथा खेलकुद मन्त्रालय रहेको छ । बाराबाट उपनिर्वाचन जितेर आएपछि उपेन्द्र परराष्ट्रमन्त्री वा अन्य कुनै मन्त्रालय लिएर सरकारमा जाने पक्षमा रहेको देखिन्छ । त्यसैले उपेन्द्रले दुई मन्त्रालय पाउँदा पनि अशोक राईलाई मात्र मन्त्रीमा पठाएको चर्चा छ । उपेन्द्र पहिला पनि प्रचण्ड नेतृत्व कै सरकारमा परराष्ट्रमन्त्री भइसकेका छन् ।

उपेन्द्रको पार्टीलाई सरकारमा ल्याएपछि सिके राउत भने भड्किएका छन् । जनमतबाट खानेपानीमन्त्री रहेका अब्दुल खानले आजै राजीनामा दिएका हुन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व परराष्ट्रमन्त्री, #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, #शिक्षामन्त्री अशोक राई, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com