कीटजन्य रोगको पहिचान गर्न सातै प्रदेशमा ल्याब सञ्चालन, वर्षको चार पटक अध्ययन गरिने 


काठमाडौं ।  कीटजन्य रोगहरू विश्वव्यापी रुपमा बढ्दै जाँदा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । पछिल्लो समय बर्खा र गर्मी समयमा मात्र नभएर मध्य जाडोमा समेत कीटजन्य रोगहरू देखा परिरहेका छन् । त्यसैले रोगी र रोगलाई मात्रै ध्यानमा राखेर कीटजन्य रोग नियन्त्रण गर्न गाह्रो देखिएको अधिकारीहरूले बताएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कीटजन्य रोग सार्ने भेक्टरको खोजीकार्यलाई तिव्रता दिन सातै प्रदेशमा इन्टोमोलोजीकल ल्याब सञ्चालन गर्ने भएको छ । त्यसका लागि आवश्यक मेसिन र उपकरणहरू विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराइसकेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीले इन्टोमोलोजीकल ल्याब सञ्चालन गर्नु एक उपलब्धीका रुपमा लिएका छन् । विश्वमा बढ्दो कीटजन्य रोगको नियन्त्रण र निदानका लागि यो ल्याब अति आवश्यक पनि थियो । 

कीटजन्य रोगको खोजीकार्य गर्ने उद्देश्यले सातै प्रदेशमा पहिलो चरणमा ल्याब सञ्चालन गरिएको छ । अब प्रत्येक वर्ष आफ्नो प्रदेश भित्र भएका भेक्टरहरुको अध्ययन अनुसन्धान गर्ने र भेक्टरको अवस्था पत्ता लगाउने काम प्रदेशमा तालिम दिएका स्वास्थ्यकर्मीले गर्नेछन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा गोकर्ण दाहालका अनुसार वर्षमा चार पटक भेक्टरको अध्ययन अनुसन्धान गरिने छ । बर्खा लाग्नु भन्दा अगाडि, बर्खाको समयमा, बर्खा सकिए पछि र जाडो समयमा भेक्टरहरुको अध्ययन अनुसन्धान गरिने भएको छ । अध्ययनबाट देखिएको नतिजा अनुसार भेक्टर कन्ट्रोलको  रणनीति बनाएर अगाडि बढ्ने छ । 

ल्याब सञ्चालन गर्ने जनशक्ति छैन 

भेक्टर अध्ययनका लागि इन्टोमोलोजीष्ट आवश्यक पर्छ । भेक्टरमै काम गरेको र पढेको इन्टोमोलोजीष्ट पूर्ति गर्न सक्ने अवस्थामा सरकार छैन । नेपालमा इन्टोमोलोजीको पढाइ हुदैन । अन्य विषय अध्ययन गर्दा बिचमा इन्टोमोलोजीको कुरा पढ्ने बाहेक छुट्टै अध्ययन छैन । 

विभागले सात प्रदेशमा ८४ जना स्वास्थ्यकर्मीलाई इन्टोमोलोजी सम्बन्धी तालिम दिएको छ । उक्त तालिमको आधारमा उनीहरूले भेक्टर पत्ता लगाउने छन् । संकलन गरेर सम्बन्धित स्थानमा तालिम दिएका इन्टोमोलोजीहरुले ल्याउँछन् । त्यस भित्र रहेको मलिक्युलर को अवस्था पत्ता लगाउन केन्द्रिय प्रयोगशाला  भिबीडिआरटीलाई बिस्तार गरि केन्द्रिय ल्याबको रुपमा विकास गर्ने वा छुट्टै भेक्टरको विशेषज्ञ सेवा सहितको ल्याब हुनुपर्छ भन्नेमा हामी छौं, डा दाहालले भने । 

तालिम दिएका कर्मचारीले गर्ने काम ?

  • भेक्टर संकलन
  • संकलित भेक्टरको पहिचान गर्ने
  • र संकलित भेक्टर भित्र भाइरस छ वा छैन भनेर छुट्टै नमुना ल्याएर विशेषज्ञ ल्याबमै परिक्षण गरिन्छ । 
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ