किन हुन्छ रक्त समूहको फेरबदल

पुर्वाञ्चलमै पहिलो पटक विराट मेडिकल कलेजले रक्त समूहमा भएको सबै एन्टिबडी जाँच गर्ने प्रविधि संचालनमा ल्यायो


उदाहरण १
मोरङकी ३१ वर्षीय उमा चौधरी ( नाम परिवर्तन ) दोस्रो सन्तानको तयारीमा जुटेको धेरै पटक भयो । पटक पटक गर्भ खेर गएपछि उनी विराट मेडिकल कलेज शिक्षण अस्पताल पुगिन् । निरन्तर दोस्रो गर्भ खेर जानुको कारण चिकित्सकले खोजे । चिकित्सकले चौधरीको गर्भ खेर जाने अवस्था आउनुको कारण आमा र पेट भित्रको शिशुको रक्त समूह फरक परेको पत्ता लगाए । ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपालका अनुसार आमा र बच्चाको केल रक्त समूह फरक भएकाले गर्भ खेर गइरहेको हो ।

उदाहरण २
४६ वर्षीय रुना देबी राजवंशी नियमित डाइलाइसिस सेवा लिइरहेका छन् । सुरुमा डाइलाइसिस गर्दा चिकित्सकले उनको रक्त समूह ए पोजेटिभ भनेर ट्रान्सफ्युजन गरेका थिए । तर, अहिले उनको शरीरमा ए को विरुद्ध हुनुपर्ने एन्टिबडी देखिएको छैन । रक्त समूह बदलिएका कारण डाइलाइसिसमा ए को विरुद्ध बनेको एन्टिबडी रगत चलाउन मिलेको छैन । हामीले उहाँका लागि उचित रक्त समूह भएको व्यक्ति खोज्नुपरेको छ, डा नेपाल भन्छन् ।

उदाहरण ३
१९ वर्षीया एक महिला गर्भवती भएकी छन् । आमा र बच्चामा छुट्टै रक्त समूह देखिएकाले नियमित चिकित्सकको निगरानीमा राखिएको छ । चिकित्सक भन्छन् समस्या बढ्दै गएको खण्डमा सुरक्षित रुपमा गर्भपतन गराउनु पर्ने हुनसक्छ ।

यी तीन वटा प्रतिनिधिमूलक घटना मात्रै हुन् । नेपालमा रक्त दान हुन्छ । बिरामीमा उचित तरिकाले एन्टिजेन एन्टिबडीको जाँच हुदैन । नेपालका नाम चलेका अस्पतालहरूमा समेत रक्त समूहको फेरबदलबारे परिक्षण गर्ने प्रविधि सुरु भएको छैन । तर, विराट मेडिकल कलेजले हालै रक्त समूहमा भएको सबै एन्टिबडी जाँच गर्ने प्रविधि सञ्चालनमा ल्याएको छ । यसको नेतृत्व ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाल र  ल्याब इन्चार्ज प्रविण दाहालले गरेका छन् ।

बिरामीहरूमा मल्टिपल ट्रान्सफ्युजनले गर्दा छुट्टै एन्टिबडी देखिने गरेको छ । यसलाई हामीले नयाँ प्रविधिको सहायतामा पत्ता लगाएर सुरक्षित ट्रान्सफ्युजन सेवा दिइरहेका छौ, डा नेपाल भन्छन् । हाम्रो बुझाइमा सेम ग्रुपलाई सेम रगत दिँदा मिल्छ भन्नेमा थियौं तर, त्यो गलत रहेछ भन्ने कुरा पत्ता लगाइरहेका छौं, नेपालले थपे ।

विराट मेडिकल कलेज र त्यहाँको रक्त सञ्चार केन्द्रमा काम गर्ने कर्मचारीले बिरामीलाई आवश्यक परेको रगत मात्रै दिएका छैनन् । सेवा लिन आएका बिरामीहरूलाई सल्लाह सुझाव दिने र उपचारको विधि समेत अवलम्बन गर्ने काम हामीले गरेका छौं ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपालले भने ।

मानिसको शरीरमा ५ सय वटा ब्लड ग्रुप “एन्टिजेन” छन् 

रक्त समूह ए, बि, ओ र आर – एच मात्रै रक्त समूह हुने आम नागरिकको बुझाइ छ । जस मध्ये ५० वटा अत्यन्तै जरुरीका रक्त समूह छन् । डा नेपालका अनुसार ५० वटा रक्त समूह का ५०० भन्दा बढी एन्टिजेन हुन्छन् ।

यस्तो अत्याधुनिक रक्त समूहको जाँच विराट मेडिकल कलेजमा हुन थालेको छ । ए, बी, ओ र आर – एच मात्रै रक्त समूह जाँच हुँदा विदेशमा २० औं वर्ष अगाडि ५० औं रक्त समूहको जाँच भइरहेको छ । तर, नेपालको हकमा भने विराटको सेवा नै पहिलो हो । विराटले अत्यन्तै महत्वपूर्ण क्लिनिकल्ली सिग्नीफिकेट  एन्टिबडी पत्ता लगाउने काम गरेको छ । आर एच, केएल किङ डफी जस्ता ग्रुप पत्ता लगाएको छ ।

नेपालको राम्रो र सुविधा सम्पन्न रक्त सञ्चार केन्द्र भनेर ग्राण्डी अस्पतालको नाम आउँछ । तर, अब त्यसलाई विराटले बार लगाएको छ । ग्राण्डी अस्पतालको भन्दा एक तह माथिको रक्त सञ्चार केन्द्र विराटले सुरु गरेको चिकित्सकहरू बताउँछन् ।

विराट मेडिकल कलेज रक्त सञ्चार केन्द्रका इन्चार्ज डा प्रविण दाहाल पूर्वाञ्चल विकास क्षेत्रकै एडभान्स ब्लड बैंक भएको बताउँछन् । विराटले अप्रिल ५, २०२३ देखि सेवा सुरु गरेको हो ।

देशभर दाताको रगतमा ब्रह्मलुट भएको समाचारहरू आइरहेका छन् । तर, विराटले मापदण्ड भन्दा पनि सस्तोमा रगत बिरामीलाई उपलब्ध गराउँदै आएको छ । उसले एक प्रिन्ट रगत ७ सयमा बिक्री गर्दै आएको छ । एक प्रिन्ट रगत तयार पार्न अस्पतालको खर्च १८ सय हुने गरेको छ । सरकारले गत वर्ष निर्णयनै गरेर कम्तिमा ८ सय १० रुपैयाँ देखि बढीमा १६ सय ४० रुपैयाँ सम्म प्रति प्रिन्ट लिन पाउने व्यवस्था गरेको छ ।

अरु अस्पताल भन्दा विराट किन फरक ?

अरु अस्पतालहरूले होल ब्लड मात्रै संकलन गर्दै आएका छन् । यसो भन्नुको अर्थ एक जनाबाट लिएको रगत एक जनालाई मात्रै दिन मिल्छ । तर, विराटले ९८ प्रतिशत कम्पोनेन्ट थेरापी प्रयोग गरेर एक जनाबाट लिएको रगत चार देखि पाँच जनालाई दिने गरेको छ ।

नयाँ प्रविधिको प्रयोग गरेर एक जनाबाट संकलन भएको रगत तीन देखि पाँच जनालाई दिन मिल्ने बनाएको छ । यसले गर्दा रगतमा कहिल्यै अभाव हुदैन । रगत नपाएर पर्वमा मान्छे मर्ने अवस्थाको अन्त्य हामीले गरेका छौं कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन् ।

देशका ८० प्रतिशत ठाउँमा होल्ड ब्लडकै प्रचलन रहेको छ । तर, विगत ६ महिना देखि विराट मेडिकल कलेजले व्यक्तिलाई जुन रगत आवश्यकता परेको छ त्यही रगत मात्रै दिदै आएको छ ।

डा विपिन नेपाल भन्छन्, नेपालमा रगत दान गर्नेहरूको हैन, व्यवस्थापनको मात्रै कमी हो । एक जनाको रगत एक जनालाई मात्रै दिँदा देशभर रगतको अभाव हुने गरेको छ । तर, एक जनाले दिएको रगत तीन देखि पाँच जना सम्मलाई दिने गरी व्यवस्थापन गरेको खण्डमा कहिल्यै रगतको अभाव हुदैन । नेपाल भन्छन् अब पूर्वमा रगतको अभाव हुने दिन सकिएको छ । अहिले नै विराटले पूर्वाञ्चलको आधा माग धानेको छ ।

विराटमा रगत भण्डारणको अवस्था

इन्चार्ज दाहाल भन्छन्, छुट्टा छुटै कम्पोनेन्टलाई सोही अनुसारको तापक्रम मिलाएर राखेका छौं । विराटमा होल्ड ब्लड ३५ दिन सम्म स्टोरेज गरेर राख्न मिल्छ । फ्रेस प्रोकन प्लाज्मालाई सात वर्ष सम्म राखेर प्रयोग गर्न मिल्ने बनाइएको छ । अहिले पनि मागलाई सहजै धान्ने हिसाबले तीन हजार बढी रगत मौज्दातमा राखिएको छ । १० हजार प्रिन्ट रगत राख्ने क्षमताको विकास भएको छ ।

विराटले इकोलुमेना नामको उपकरण जडान गरेको छ । यो उपकरण नेपालको ग्राण्डी  अस्पतालमा मात्रै सञ्चालनमा छ । अन्य अस्पतालमा किटबाट हुने परिक्षण विराटले क्लीया भन्ने टेक्नोलोजी प्रयोग गरेर एचआइभी, हेपाटाइटिस बी, सि सबै जाँच गर्दै आएको छ ।

यो सँगै विराटले ट्रान्सफ्युजन मेडिसिनको फेलोसिप गराउने भएको छ । नेपालमा चिकित्सक नभएको अवस्थामा विराटले फेलोसिपको उचित व्यवस्था गर्दै जनशक्ति उत्पादन गर्ने तर्फ लागेको हो । यसले राज्यलाई ठुलो सहयोग पुग्ने अधिकारीहरू बताउँछन् ।

तराईका क्षेत्रमा अन्य क्षेत्रको अनुपातमा रगत सम्बन्धीका रोग धेरै छन् । हामीले सेवा सुरु गरेको ६ महिनामा धेरै केसहरू फेला परेका छन् डा नेपाल भन्छन् । पहिलो कुरा बिरामीमा रक्त समूह नै परिवर्तन भएको पत्ता लगाएका छौं ।

थालासेमिया, सिकलसेल एनिमियाका बिरामी धेरै छन् । उनीहरूको रगतमा बढी समस्या आएको देखिन्छ । रगतको रोग धेरै हुनेमा विराटले सुरु गरेको अत्याधुनिक रक्त सञ्चार केन्द्रको भूमिका बढी हुन्छ । विराटले अब प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक तयारी थालेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Birat Medical, ##Dr Bipin Nepal, ##Dr Gyanendra karki

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com