काठमाडौं महानगरपालिकाकी स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनको लोभलाग्दो सक्रियता


काठमाडौं । नगर कार्यपालिकाको निर्णय ‘किर्ते’को अभियोग लागेर काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख बर्खास्तीको पक्रियामा रहेका छन् । पौडेलको ठाउँमा स्वास्थ्य विभागको निमित्त प्रमुख जिम्मेवारी सजिना मर्हजनले सम्हाल्ने मौका पाएकी छिन् । स्वास्थ्य विभागको निमित्त प्रमुखको जिम्मेवारी लिएपछि सजिनाले लोभलाग्दो सक्रियता देखाउन थालेकी हुन् ।

सजिनाले स्वास्थ्य विभागको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने प्रणालीको विकास गर्न सक्रियता देखाइन् । अब काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस) को युजन नेम र पासवर्ड उपलब्ध गराउन थालेको हो । युजर नेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य विभागले प्रशिक्षण दिने समेत थालेको छ ।

सजिनाको नेतृत्वमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग सूचना प्रविधिमैत्री मात्रै भएको छैन प्रविधिमा समेत छलाङ मार्न थालेको छ । लक्षित वर्गको निःशुल्क उपचार सेवा सुनिश्चित गर्नका लागि पनि महानगरपालिकाले अनलाइन प्रणालीको विकास गरेको हो । अनलाइन प्रणालीमा गएर लक्षित वर्गले सजिलै सेवा लिन सक्ने गरी सजिनाको टिमले काम गरेको छ ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवाअन्तर्गत सबैले सरल, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने तथा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) का लागि अस्पतालहरुले १० प्रतिशत शय्या उपलब्ध गराउनु पर्ने व्यवस्था कार्यान्वयनलाई तीव्रता दिएको छ । उक्त सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्यले महानगरपालिकाले अनलाइन प्रणाली विकास गरेकाे हो ।

काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन (फ्रीहेल्थ डट काठमाडौँ डट जीओभी डट एनपी) वेभ ठेगानामा प्रणाली उपलब्ध गराएको छ । यो प्रणालीमा अस्पतालहरुलाई आवद्ध गराउन युजर नेम र पासवर्ड दिन थालिएको मेयर बालेन शाहले नै जानकारी गराएका छन् । ‘कति अस्पतालहरुले लिइसक्नु भएको पनि छ । यसमा कुन अस्पतालमा कुन सेवा छ । वेड संख्या कति हो । कति वडा वेडमा बिरामीले उपचार गराइरहनु भएको छ । कति वटा खाली छन, हेर्न सकिन्छ ।’, उनले भने । सजिनाको नेतृत्वमा रहेको महानगरको स्वास्थ्य विभागले उक्त प्रणालीको नियमित अनुगमन र अपडेट गर्न थालेको छ ।

सजिनाका अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन् । यी अस्पतालहरुमा जम्मा गरेर ३७ सय ४४ वटा शय्या रहेको विभागले जनाएको छ ।  यसको १० प्रतिशत शय्या निःशुल्क उपचारका लागि भएको भन्दै विभागले अस्पतालहरुलाई प्रणालीमा विवरण अद्यावधिक गराउन युजर नेम र पासवर्ड दिइसकिएको बतायो । यस क्रममा आज ११ वटा अस्पतालहरुले प्रणालीमा आवद्धता जनाएका विभागको भनाइ छ ।

‘आवद्ध अस्पतालहरुमध्ये सबैभन्दा धेरै शय्या हुनेमा काठमाडौँ मेडिकल कलेज, सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज, स्वयम्भू छन् । यी २ वटा अस्पतालमा ३/३ सय शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल छन् । यस्ता अस्पतालको संख्या ७ वटा रहेको छ ।’, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले जनाएको छ ।

सजिनाको नेतृत्वमा काठमाडौं महानगरपालिकामा फागुन १६ गतेबाट रुबेला दादुरा खोप अभियान सुरु गर्ने तयारी थालेको छ । काठमाडौं महानगरपालिकाले फागुन १६ गतेदेखि २ चरणमा रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज काठमाडौँ प्लाजामा भएको पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो । फागुन १६ गतेदेखि १९ वटा वडाहरु ( वडा नं. १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८) र फागुन २० गतेदेखि १३ वटा वडाहरु (४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२) मा खोप कार्यक्रम चल्नेछ । खोपमा रुवेला दादुरासँगै नियमित खोप पनि प्रदान गरिनेछ ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) ले, ९ महिनामाथि र ५ बर्षमुनिका ४१ हजार ९२ जना बालबालिका देखाएको छ । यिनीहरुलाई रुवेला दादुरासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइनेछ । यसरी दिइने खोपहरुमा डिपीटी, हेप बी–हिब, पीसीभी, आइपीभी रहेका छन् । यस्तै ५ बर्षमाथि १५ बर्ष उमेर तलका बालबालिकाको संख्या १ लाख १ हजार १२९ जना देखाएको छ । उनीहरुलाई रुवेला दादुराको खोप दिइनेछ ।

सजिनाले नेतृत्व गरेसँगै काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग निकै चलायमान हुन थालेको छ । युवा जोश, जाँगर र उत्साहका साथ सजिनाले स्वास्थ्य विभागलाई हाँक्न थालेकी छिन् । विभाग लाई प्रविधिमैत्री मात्र होइन सेवा प्रवाहलाई छिटो, छरितो, भरपर्दो र प्रभावकारी बनाउन पनि उनी उत्तिकै सक्रिय देखिन्छन् । पछिल्ला समय काठमाडौं महानगरपालिकाकी स्वास्थ्य सेवा विभाग निमित्त प्रमुख सजिनाको खटाई र सक्रियाता साँच्चिकै लोभलाग्दो छ । स्वास्थ्य विभागले नियमित कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाउन थालेको देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग, #बालेन शाह, #रामप्रसाद पौडेल, #सजिना महर्जन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com