भरत तालले चर्चित बनेका बागमतीका मेयर थापा भ्रष्टाचारमा डामिए

मेयर फिल्म छायाकंन भइरहँदा थापाको राजनीतिक करियर 'चिलिम'


काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपायोग अनुसन्धान आयोगले झन्डै साढे ५ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सार्वजनिक पद धारण गरेका बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले सार्वजनिक पदको दुरुपयोग गरी ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । भरत तालले चर्चामा आएका थापा भ्रष्टाचारमा डामिएका छन् । उनले मेयर भएपछि झन्डै साढे ५ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।

वाग्मती नगरपालिकाका मेयर थापाको जीवनीमा आधारित चलचित्र ‘मेयर’ निर्माण भइरहेको अवस्थामा उनी भने अकुत सम्पत्ति आर्जनमा अख्तियारको फन्दामा परेका छन् । फिल्म बन्नु अगाडि नै मेयर थापाको राजनीतिक करियर ‘चिलिम’ हुने अवस्था आएको हो ।

हेर्नुहोस् आयोगको प्रेस विज्ञप्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८०।१२।२८ गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भरत कुमार थापाले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवा प्रवेश गरेको मिति 2074/06/07 गतेदेखि मिति 207९/10/29 गतेसम्मको अनुसन्धान जाँच अवधिको निजको सम्पूर्ण वैधानिक आयहरूमा निजले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवामा प्रवेश गर्नु भन्दा अगाडि निज तथा निजको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैङ्क मौज्दात रकम, निजले सार्वजनिक सेवामा प्रवेशपश्वात प्राप्त गरेको पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण/कर्जा आय, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा रु. 7,86,50,201।48 (सात करोड छयासी लाख पचास हजार दुई सय एक रुपैयाँ अठ्‍चालीस पैसा) निजको वैधानिक स्रोत खुल्न आएको एवं सोही जाँच अवधिमा निजको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घर/जग्गा खरिद, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट उपभोग गरेको कर्जा/ऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरुमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुरवापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी जम्मा रु.13,20,03,391।14 (तेह्र करोड बीस लाख तीन हजार तीन सय एकानब्बे रुपैया चौध पैसा) खर्च तथा लगानी गरेको देखिन्छ।
यसैगरी अनुसन्धान जाँच अवधिमा स्रोत खुल्न आएको निजको वैध आय रु. ७,86,50,201।48 (सात करोड छयासी लाख पचास हजार दुई सय एक रुपैयाँ अठ्‍चालीस पैसा) को अनुपातमा सोही अवधिमा निजले रु.13,20,03,391।14 (तेह्र करोड बीस लाख तीन हजार तीन सय एकानब्बे रुपैयाँ चौध पैसा) खर्च तथा लगानी गरेको देखिँदा निजको कुल बैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबिच तादाम्यता देखिन नआई रु.5,33,53,189।66 (पाँच करोड तेत्तीस लाख त्रिपन्न हजार एक सय उनानब्बे रुपैया छैसठ्ठी पैसा) बरावरको सम्पत्ति ऋणात्मक देखिएकोले सार्वजनिक पद धारण गरेका बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले सार्वजनिक पदको दुरुपयोग गरी रु.5,33,53,189।66 गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएकोले निजलाई बिगो रु.5,33,53,189।66 (पाँच करोड तेत्तीस लाख त्रिपन्न हजार एक सय उनानब्बे रुपैयाँ छैसठ्ठी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुनका साथै निजले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत/असुल उपर हुन मागदाबी लिइएको छ।
साथै, निज भरत कुमार थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट निजको एकासगोल परिवारका सदस्यहरु श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाई बुहारी द्वारीका राउतको नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पूरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजहरु रेश्मी कुमारी घिमिरे थापा, राम कुमार थापा र द्वारिका राउतलाई प्रतिवादी कायम गर्ने तथा निहरुको नाममा हाल कायम रहेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिबाट बिगो जफत/असुल उपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

 

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ