मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा प्रधानमन्त्री, हट्न सक्छन् स्वास्थ्यमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनगर्ठनको गृहकार्य सुरू गरेका छन् । आर्थिक वर्ष २०७१/ ८२ को बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै उनले मन्त्रीहरू हेरफेरको तयारी गरेका हुन् ।

प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार उनलाई विश्वास मत दिने सिके राउतको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीदेखि आम जनता पार्टीका प्रभु साहसम्मलाई सरकार सहभागी गराउन खोजिएको हो । त्यसका लागि प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका केही मन्त्रीहरु फेरिने सम्भावना रहेको स्रोतले बतायो । रञ्जिता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने दौडधुमा छिन् । उनलाई त्यो मन्त्रालय दिँदा माओवादी केन्द्रबाट मन्त्री बनेका हितबहादुर तामाङ हट्नु पर्ने अवस्था आउँछ । माओवादीभित्र लामो समयदेखि मन्त्री खाइरहेका नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत र रेखा शर्मालाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउनु पर्ने मत बलियो छ ।

नारायणकाजीले परराष्ट्र छाडे उक्त मन्त्रालय लिने नेकपा एमालेको दाउ छ । अन्जन शाक्य, सुनिता बराल हरू परराष्ट्र ताकेर बसिरहेका छन् । माओवादीबाट पुराना मन्त्री फिर्ता गए माधव सापकोटा ऊर्जा र सञ्चारमध्ये कुनै मन्त्री बन्न सक्छन् ।  जनमत पार्टीले पुरानै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना बढेर गएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटाएर अशोक राईको नेतृत्वमा बनाइएको जनता समाजवादी पार्टीले ३ वटा मन्त्रालयको दाबी गरेको छ । उक्त पार्टीबाट नवलकिशोर साह सडी वन तथा वातावरणमन्त्री र प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं हसिना खान स्वास्थ्य राज्यमन्त्री छिन् ।

अशोक राई नेतृत्वको जसपाबाट रञ्जु ठाकुरलाई मन्त्री बनाउन प्रचण्डमाथि दबाव छ । रञ्जु विनाविभागीय मन्त्री बन्ने हो कि मन्त्रालय समेत तोकिने हो टुंगो लागेको छैन । रञ्जु मन्त्री बने जसपाले स्वास्थ्य मन्त्रालय छाड्नु पर्ने हुन्छ । त्यो अवस्थामा एमाले वा प्रभु साहले कानुन मन्त्रालय पाउँछन्।  सोमबारदेखि स्विट्जरल्याण्डको जेनेभामा हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को ७७ औं विश्व स्वास्थ्य सभामा भाग लिन स्वास्थ्यमन्त्री यादव जाँदैछन् । उनी विदेशमै हुँदा खानेपानी वा अन्य कुनै मन्त्री बन्ने  सम्भावना पनि उच्च रहेको देखिन्छ । उपेन्द्र यादव पनि विदेशमै हुँदा स्वदेशमा स्वास्थ्यमन्त्रीको पद जाने अवस्था आएको हो ।

प्रभु साह सहरी विकासमन्त्री बन्न खोजिरहेका छन् ।  कानुनमन्त्रीमा पनि उनको सम्भावना उत्तिकै छ । नेकपा एकीकृत समाजवादीबाट प्रेम आले कृष्णकुमार उर्फ किसान श्रेष्ठहरु पनि मन्त्री खाने दौडधुमा छन् । किसानलाई मन्त्री बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं अग्रसर भइरहेका छन् ।  त्यसैले दाहाल नेतृत्वको मन्त्रिमण्डलमा व्यापक हेरफेरको तयारी भइरहेको पाइन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्यमन्त्री प्रदीप यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ