रक्षा सचिव किरणको जस्तै सहसचिव रामचन्द्रकी श्रीमतीलाई पनि परेको थियो डिभी, उनी भने अमेरिका गएनन्
	
                                            काठमाडौं । रक्षा सचिव किरणराज शर्मा, पौडेलको अमेरिकी पिआर काण्ड अहिले सतहमा आएको छ । उनले २०७० सालमै पिआर त्यागेको दाबी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रक्षा सचिव शर्मासँग अमेरिकी पिआर भएको उजुरी परेपछि यो तथ्य सार्वजनिक भएको हो ।
ऊर्जा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भएका बेला सहसचिव शर्माले पिआर त्यागेको जानकारी गराएका छन् । तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी, पिआरविरुद्ध एक्सन लिन थालेपछि उनले पनि पिआर त्यागेको जानकारी गराएको देखिन्छ ।
महिला बालबालिका मन्त्रालयमा हुँदा शर्माकी श्रीमतीलाई डिभी परेको थियो । उनीसँगै हाल सहसचिव रहेका रामचन्द्र ढकाल र अर्का अधिकृत भोजराज घिमिरेकी श्रीमतीलाई पनि डिभी परेको थियो ।
नेपाल सरकारको उपसचिव भइसकेका शर्मा श्रीमतीलाई डिभी पर्न साथ अमेरिका गए । उनीसँगै भोजराज पनि श्रीमतीसँगै अमेरिका गए । तर, ढकाल भने गएनन् । राजिनामा दिएर जाने तर जागिर नछाडी नजाने भनेर अडान लिएपछि उनकी श्रीमती पनि नेपाल नछाड्ने निर्णयमा पुगिन् ।
कतिपयले रक्षा सचिव शर्माले इमानदारिता देखाएको भनेर बचाउ गरेको समेत गरेको पाइन्छ । श्रीमतीलाई डिभी परेर नेपालमा जागिर हुँदाहुँदै २/३ वर्ष बढी अमेरिका बसेर पिआर बनाउने र कानुन अनुसार मिलाउने कामलाई इमानदारिताभन्दा पनि बाध्यतासँग जोडिन्छ । एउटा राष्ट्र सेवक कर्मचारीले गरेको यो अनैतिक र अनुचित कार्य हो । त्यस्ता व्यक्तिले रक्षा, गृह जस्ता मन्त्रालयको नेतृत्व गर्न नैतिकताले पनि मिल्दैन । एकपटक अर्को देशको नागरिक बन्ने प्रक्रियामा रहिसकेकालाई रक्षा, सुरक्षा र कानुनसँग जोडिएका महत्त्वपूर्ण र संवेदनशील मन्त्रालयको जिम्मेवारी दिन हुँदैन । यो विषयमा सरकार गम्भीर र संवेदनशील बन्नैपर्छ ।
श्रीमतीलाई डिभी पर्दा किरण र रामचन्द्र उपसचिव भइसकेका थिए । भोजराज भने अधिकृत नै थिए । लेखा अधिकृतबाट प्रशासनको उपसचिव बनेको एक/डेढ वर्षमै श्रीमतीको पछि लागेर सरकारी जागिर नहापी किरण अमेरिका हानिए । भोजराजले पनि त्यसै गरे । तर, हुलाक सेवाको अधिकृतबाट प्रशासनको उपसचिव बनेका रामचन्द्र अमेरिका नजाने र नपालमै रहने निर्णयमा पुगे ।
पूर्व डिआईजी नारायण आचार्यका बहिनीज्वाइँ किरणले डिभी पिआरलाई कानुन अनुसार मिलाए । भोजराज उतै बिलाए । तर, रामचन्द्रले सरकारी नून खाएर साँच्चिकै इमानदारिता देखाए । यस्ताे कार्यलाई भनिन्छ इमानदारिता । सरकारी कर्मचारीले डिभी हुँदै पिआर लिनु कति पनि इमानदारिताको परिभाषाभित्र पर्दैन । लिएर छाडनुभन्दा बरु भोजराज जस्तै सरकारी जागिर हामेर डिभी, पिआर हुँदै उतै बस्नु चाहिँ बढी इमानदारिता हो । श्रीमतीलाई डिभी परेपछि अमेरिका भासिएका भोजराज डण्डुराज घिमिरेका सहोदर दाइ हुन् ।
रामचन्द्र हुलाक सेवाको अधिकृत हुँदा हालका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव हुँदै क्यानडाका राजदूत बनेका भरतराज पौडयाल, श्रम सचिव बाट हालै अवकाश पाएका केवलप्रसाद भण्डारी र सचिवबाट धेरै अगाडि अवकाश पाइसकेका पूर्णचन्द्र भट्टराईका ब्याची हुन् । किरण, रामचन्द्र र सञ्चार सचिवबाट अवकाश पाएका हरि बस्याल सँगैका उपसचिव हुन् । तीमध्ये किरण डिभीको पछाडि लागेर अमेरिका पुगेका थिए ।
२०६९ फागुन २४ मा सहसचिवमा नाम निकालेका किरणले त्यसपछि मात्र श्रीमतीलाई नेपाल बोलाएको जानकारहरु बताउँछन् ।उनकी श्रीमती र १ छोरा अझै पनि अमेरिका आवतजावत गरिरहन्छन् । किरणलाई कतिपयले ‘ताक परे नेपाल नत्र अमेरिका’ गर्न सक्ने व्यक्तिका रूपमा पनि लिने गर्छन् । त्यसैले उनलाई देशको सुरक्षासँग जोडिएको र संवेदनशील मन्त्रालयको जिम्मेवारी दिँदा सरकारले विशेष ध्यान दिन जरुरी छ ।
रक्षा सचिव किरणसँगै एकैदिन सहसचिव हुनेमा राजस्व सचिव रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव हरिप्रसाद मैनाली, सामान्य प्रशासन सचिव मुकुन्दप्रसाद निरौला, अख्तियारका सचिव रामेश्वर दंगाल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ र निर्वाचन आयोगका सचिव रबिलाल पन्थ रहेका छन् ।
क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #किरणराज शर्मा रक्षा सचिव, #डिभी, #भोजराज घिमिरे, #रामचन्द्र ढकाल

				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस