मिडिया देखाएर धम्क्याउँदै टेन्डर हाल्दै सप्लायर्स

काठमाडौं। मेडिकल सप्लायर्सले मिडियाको आडमा कर्मचारी धम्क्याउँदै टेन्डर लिने गरेको आशंका बढेको छ। अस्पताल निर्देशक र मन्त्रालयका अधिकारीहरूले बताए अनुसार ‘हामीलाई टेन्डर पार्नु नत्र समाचार लेख्छु, लेखाउँछु’, भन्ने व्यक्ति देखा पर्न थालेका छन्। यसकै उदाहरण होला पछिल्ला दिनमा स्वास्थ्य क्षेत्रमा हुने खरिद पनि अस्पतालको आवश्यकताभन्दा पनि व्यापारीको आवश्यकता हेरेर खरिद हुन थालेको छ।
स्वास्थ्यमा व्यापारी आफै उपकरण खरिदको योजना बनाउने, सम्बन्धित मन्त्रालयबाट रकम हाल्न लगाउने र आफैले उक्त समान किन्ने परिपाटीको विकास भएको छ। आफूले टेन्डर नपाए समाचार लेखाउने त छँदैछ। स्वास्थ्यमा हुने खरिद आधिकांश स्वार्थमा हुने गरेको पाइन्छ।
पछिल्ला एउटा उदाहरण हुन्, मेडीइक्विप्स नेपाल प्रालिका निर्देशक केशव पाण्डे। गत वर्ष गेटा मेडिकल कलेजमा खरिद गरिएको डिआर सिस्टममा यस्तै भएको छ। उक्त उपकरण खरिदमा पाण्डको स्वार्थ जोडिएको देखिन्छ। खरिदमा स्वार्थ जोडिने र स्वार्थमा मिडिया प्रयोग गर्ने कुरा अहिले एक अर्काका पर्यायवाची जस्तै भएका छन्।
पछिल्लो केही वर्ष यता पाण्डे उकेरा अनलाइनसँग जोडिएको र त्यसलाई आधार बनाएर खरिदमा आफ्नो उपस्थिति बनाएको कर्मचारीहरू बताउँछन्। उकेरा मिडियासँग उनको के सम्बन्ध छ, त्यो उनैले जानून् तर हामी कागज हेरौं हैत।
पाथसिड नेपाल प्रालिको नाममा उनको श्रीमती गरिमा पौडेलको ६२५० कित्ता सेयर रहेको देखिन्छ। उक्त सेयर सदस्यका रुपमा पौडेल २०८० बैशाख १४ गतेबाट छन्। पाथसिड नेपाल प्रालिको नामबाट उकेरा अनलाइन चलेको छ। यसरी हेर्दा पाण्डेको उकेरामा लगानी भएको अनुमान गर्न सकिन्छ। यही कारण खरिदमा मिडिया देखाएर छिर्न खोजेको अधिकारीहरूको बुझाइ छ। यसको व्याख्या र अनुमान लगाउने जिम्मा तपाईंहरु कै हो।
स्रोत भन्छ, जहाँ जहाँ आफूले टेन्डर पाएको छैन त्यहाँको विषयमा आफ्नो लगानी रहेको मिडियाबाट समाचार लेखाउने गरेको छ। ‘गत वर्ष गेटा मेडिकल कलेजले खरिद गरेको डिजिटल रेडियोग्राफी (डिआर सिस्टम) खरिदमा पनि पाण्डेको स्वार्थमा भयो तर, त्यसमा समाचार लेखाइएन’, अधिकारी भन्छन्।
अस्पतालका निर्देशक डा. विप्लव सापकोटाको समयमा १ करोड ६० लाखमा खरिद भएको डिआरमा पनि पर्दापछाडि पाण्डेले खेलेको देखिन्छ। बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतद्धारा तयार पारिएको स्पेकका आधारमा फेयर ट्रेड प्रालिले पाएको थियो। मिन अग्रवाल सञ्चालक रहेको कम्पनीलाई मात्रै मिल्नेगरी स्पेक तयार पारिएको थियो। यस विषयमा पाण्डेले समाचार लेखाएनन्। यसमा पनि उनको सहभागिता रहेको अधिकारीहरु बताउँछन्।
तत्कालीन निर्देशक डा. सापकोटाले बताए अनुसार समयमा सामान आउन नसकेपछि म्याद थप गर्न आग्रह गरिएको थियो। नियम अनुसार म्याद थप ग¥यौ तर, भुक्तानी गरिएन। कबुल ब्राण्ड जापानको कोनिका माइनोल्टाको हो। पाण्डेको उक्त कम्पनीका अधिकारीसँग राम्रै सम्बन्ध रहेको बुझिन्छ। यसको नेपाली आधिकारीत बिक्रेता फेयर ट्रेड हो। यसमा समेत पाण्डेको सेयर रहेको बुझिएको छ। जापानको ब्राण्ड ल्याउनु र पाण्डेको त्यहाँका कर्मचारीसँग भेटेको फोटो आफैले हाल्नुले स्वार्थ बाझिएको स्पष्टै हुन्छ।
तत्कालीन निर्देशक डा. सापकोटाले समेत उनिहरुको सम्बन्धको विषयमा मौन स्वीकार गरेका छन्। उनले खरिदमा स्वार्थ बाझिएको विषयलाई अस्वीकार गर्न सकेनन्। तर, खरिदमा कुनै बदमासी नभएको बताए। यो एउटा सानो उदाहरण मात्रै हामीले देखाएका छौं। पछिल्लो समय मिडिया देखाएर कर्मचारी तर्साउने अनी आफ्नो स्वार्थ अनुसार काम गराउने परिपाटीको विकास हुँदै गएको देखिन्छ । यस्तो गलत प्रवृत्ति र विकृतिलाई निस्तेज बनाउन जरुरी छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस