पर्यटन सचिव सिंह घर गए, महालेखा नियन्त्रक पाण्डे घर जाने तरखरमा


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव विनोद प्रकाश सिंहले अनिवार्य अवकाश पाएका छन्। सिंहले ५८ वर्षीय उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन्।

२०७९ असार ६ गते नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका सिंह करिब ३ वर्ष सचिवको भूमिकामा काम गरेर सरकारी सेवाबाट बिदा भएका हुन्। कोशी प्रदेशको प्रमुख सचिव, गृह मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, महालेखा नियन्त्रक हुँदै संस्कृति तथा पर्यटन मन्त्रालय पुगेका थिए। २०४३ सालमा नायब सुब्बा निजामती सेवामा प्रवेश गरेका सिंह ३८ वर्ष बिताएर घर गएका हुन्। महालेखा नियन्त्रकको कार्यालयबाट ४ महिना अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव भएर गएका सिंह पर्यटनबाटै घर गएका छन्।

कडा स्वभाव सिंह महालेखा नियन्त्रक हुँद सरूवा विवादमा समेत मुछिएका थिए। पर्यटनमा पुगेपछि भने सचिव सिंह खासै विवादमा आएनन्। बजेटको मुखमा पर्यटन सचिव सिंह बिदा भएका छन्।

त्यस्तै महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे पनि घर जान लागेका हुन्। बैशाख २९ गतेसम्म जागिर रहेका पाण्डे एक दिन अघि नै घर जाने तरखरमा छन्।  २७ गते शनिबार र २९ गते बुद्ध जयन्ती, उभौली पर्वको सार्वजनिक बिदा रहेकाले उनको जागिर बिहीबार शुक्रबार र आइतबार ३ दिन मात्र बाँकी छ।

२०७८ असार २० गते सचिवमा बढुवा भएका पाण्डे करिब ४ वर्ष सचिव भएर ५८ वर्ष पुगेपछि घर जान लागेका हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव हुँदा निकै विवादमा तानिएका पाण्डे महालेखामा पनि त्यसको छनक दिँदैछन्। घर जाँदाजाँदै लेखा उपसचिवको सरूवा गर्ने चलखेलमा छन्। परराष्ट्र, कर्मचारी प्रशासन शाखा र सडक विभागमा सेटिङ मिल्ने गरी सरूवा गर्न पाण्डे अग्रसर देखिन्छ।

पर्यटनमा हुँदा विवादित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई भगवान् ठान्ने पाण्डेले महालेखा नियन्त्रक कार्यालयमा उपसचिव निरज केसीलाई त्यस्तै मान्ने गरेका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संस्कृतका श्लोक सुनाएर पर्यटन सचिव बन्न सफल भएका पाण्डे महालेखामा भने असफल देखिएका छन्। वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतमा सचिव बनेका महालेखा नियन्त्रक पाण्डे घर जाने तरखरमा देखिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद पाण्डे, #विनोदप्रकाश सिंह, #सचिव डा. गणेश पाण्डे, #सचिव विनोदप्रकाश सिंह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ