दुई पूर्वस्वास्थ्यमन्त्री अख्तियारको ‘रेड जोन’मा, अख्तियार पुगेर दिए बयान


काठमाडौं। दुई जना पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ‘रेड जोन’मा परेका छन्। गम्भीर प्रकृतिको अनियमितता पूर्वस्वास्थ्यमन्त्रीद्वय मोहनबहादुर बस्नेत र उमाकान्त चौधरीमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्ने जोखिम बढेको छ। संयोग दुबै जना नेपाली कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका थिए। चौधरी त नेपाली कांग्रेसका सहमहामन्त्री समेत हुन्।

अख्तियारले बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गर्न लागेको हो। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीको हैसियतमा बस्नेतले टेरामक्स खरिदको सुरूवात गरेका थिए। उनी नै टेरामक्स उपकरण खरिद घोटालाका सूत्रधार रहेको अख्तियार स्रोतको भनाइ छ। बस्नेतले सार्वजनिक रूपमै आफूमाथि भ्रष्टाचार मुद्दा लाग्ने सम्भावना रहेको अभिव्यक्ति दिएका छन्। अख्तियारले चाँडै नै उनीमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने सम्भावना रहेको स्रोतको दाबी छ।

त्यस्तै पूर्वस्वास्थ्यमन्त्री उमाकान्त चौधरी पनि भ्रष्टाचार मुद्दाको जोखिममा रहेका छन्। भारतीय योगगुरू रामदेव बाबाको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिनामा तत्कालीन स्वास्थ्यमन्त्री चौधरी तानिएका हुन्। पतञ्जली योगपीठको हदबन्दी छुटमा किनेको जग्गा अपचलन प्रकरणमा चौधरीमाथि भ्रष्टाचार मुद्दा दायर हुने जोखिम बढेको हो। उक्त प्रकरणमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र स्वास्थ्यमन्त्री चौधरीसहित १ दर्जन बढी बयान लिइसकेको छ।

तत्कालीन स्वास्थ्यमन्त्री चौधरीले भने पतञ्जली जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। ‘यसमा मेरो कुनै भूमिका रहेको छैन। कसरी नाम जोडिएर आयो आफै आश्चर्यमा छु।’, राजनीतिक सकाउने उद्देश्यका साथ नाम जोडिएर आएको भन्दै चौधरीले दु:खेसो गरेका छन्। अख्तियार स्रोतले बने चौधरीको बयान लिएको पुष्टि गऱ्यो। पतञ्जली स्वास्थ्य मन्त्रालयसँग पनि जोडिएकाले तत्कालीन स्वास्थ्यमन्त्री चौधरी पनि उक्त प्रकरणमा जोडिएका हुन्।

तत्कालीन मन्त्रिपरिषद्ले कानुनविपरीत अनियमित ढंगले हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेच्न स्वीकृत दिएको विषयमा अख्तियारले संलग्नहरूको बयान लिएको हो।

पतञ्जलीले काभ्रेपलाञ्चोकको साँगामा करिब ६ सय रोपनी जग्गा खरिद गरेकामा हदबन्दी छुटको करिब ३ सय ५४ रोपनी जग्गा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेच्न स्वीकृत दिएको थियो। मन्त्रिपरिषद्ले अनियमित ढंगले हदबन्दी छुटको जग्गा बिक्री गर्न अनुमति दिएपछि अहिले यो विषयमा अख्तियारले छानबिनलाई अन्तिम चरणमा पुऱ्याएको हो।

टेरामक्समा पूर्व स्वास्थ्यमन्त्री बस्नेत र पतञ्जलीमा पूर्वस्वास्थ्यमन्त्री चौधरी अख्तियारको ‘रेड जोन’मा देखिन्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबै प्रकरणमा मुद्दा चलाउने तयारी गरिरहेको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ