सचिव पाण्डे सेवानिवृत्त, पर्यटन मन्त्रालय र महालेखा नियन्त्रक कार्यालय सचिवविहीन


काठमाडौं। महालेखा नियन्त्रक (सचिव) गणेशप्रसाद पाण्डे सेवानिवृत्त भएका छन्। ५८ वर्षे उमेर हदका कारण सचिव पाण्डेले अनिवार्य अवकाश पाएका हुन्।

२०७८ साल असार २० गते सचिवमा बढुवा भएका पाण्डे करिब ४ वर्ष विशिष्ट श्रेणी (सचिव)मा काम गरेर सोमबारदेखि अनिवार्य अवकाशमा गएका छन्। उनले अवकाश पाएसँगै महालेखा नियन्त्रक कार्यालय नेतृत्व (सचिव)विहीन भएको छ।

पाण्डे न्याय सेवा, संसद् सेवा हुँदै प्रशासन सेवामा छिरेका कर्मचारी हुन्। २०२४ साल बैशाख ३० गते बाग्लुङमा जन्मिएका पाण्डे २०५१ साल चैतमा सरकारी सेवामा प्रवेश गरेका थिए। अदालतको कर्मचारी, संसद्को कर्मचारी हुँदै पाण्डे २०६८ फागुनमा प्रशासन सेवाको सहसचिव भएका थिए। त्यसको झन्डै १ दशकपछि सचिव भएका पाण्डे ३१ वर्षे सरकारी सेवाबाट बिदा भएका छन्।

पाण्डेसँगै सहसचिव भएका मुकुन्दप्रसाद पौड्याल र दामोदर रेग्मी सचिवबाट सेवानिवृत्त भइसकेका छन्। अब उनको ‘ब्याची’ मधुसुदन बुर्लाकोटी मात्र सचिवको भूमिकामा राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत छन्।

पाण्डेले कर्णाली प्रदेशको प्रमुख सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव, महालेखा नियन्त्रकलगायतको भूमिकामा काम गरेर बिदा भएका छन्। पर्यटन सचिव हुँदा विवादित नेपाल नागरिक उड्डयन प्राधिकरणकाका महानिर्देशक प्रदिप अधिकारीलाई ब्रह्मा, विष्णु र महेश्वर संज्ञा दिएपछि पाण्डे चर्चामा आएका थिए। त्यसपछि उनी महालेखा नियन्त्रक कार्यालयमा सरूवा भए। पाण्डे महालेखा नियन्त्रक कार्यालयबाटै घर गएका हुन्।

बैशाख २४ गतेदेखि सचिव विनोदप्रकाश सिंहले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिवविहीन भएको छ। बजेटको मुखमा पर्यटन मन्त्रालय सचिवविहीन बनेको हो।

पर्यटन सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा सचिव रामेश्वर दंगाल, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्माको नाम चर्चा छ।

महालेखा नियन्त्रकमा भने बागमती प्रदेशका सचिव डा. महादेव पन्थ, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी आउन निकै जोडबल गरिरहेको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. गणेश पाण्डे, #विनोद प्रकाश सिंह, #सचिव डा. गणेश पाण्डे, #सचिव विनोदप्रकाश सिंह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ