परराष्ट्रमा बेथिति: नासुबाट छिरेकाले लोकतान्त्रिक बढुवाबाटै राजदूत हुने योग्यता पुऱ्याए


काठमाडौं। परराष्ट्र सेवामा नायब सुब्बा (नासु)बाट सेवा प्रवेश गरेका कर्मचारीले एउटा परीक्षा पनि ‘फेस’ नगरी राजदूत हुने योग्यता पुऱ्याएका छन्। परराष्ट्र सेवामा जथाभावी सहसचिवको दरबन्दी थप्दा नासुबाट छिरेका कर्मचारी बढुवाबाटै सहसचिव भएका हुन्। आरजु राणा देउवाको पालामा परराष्ट्रमा यस्तो बेथिति भित्रिएको छ। परराष्ट्रमन्त्रीको भूमिकामा आरजुको उदय भएसँगै परराष्ट्र मन्त्रालय बेथितिको भुमरिमा परेको हो।

परराष्ट्र सेवामा सहसचिवको अनावश्यक दरबन्दी थप्दा नासुबाट छिरेका पारस पण्डित र प्रकाश अधिकारी बढुवाद्वारा सहसचिव भएका हुन्। उनीहरू नायब सुब्बाबाहेक एउटा पनि लिखित परीक्षा नदिई सहसचिव हुन सफल भएका छन्। शाखा अधिकृतदेखि सहसचिवसम्म पारस र प्रकाशले लोकतान्त्रिक बढुवाको विशेष लाभ लिएका हुन्। सरकारी सेवाको फलामे ढोका(आइरन गेट) मानिने राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा लेखेर प्रतिस्पर्धाबाट प्रवेश गरी बढुवा भएर सहसचिव बन्नु सामान्य हो। तर, नायब सुब्बाबाट छिरेर बढुवा हुँदै सहसचिव बन्ने कुरा सामान्य होइन। प्रशासन र अन्य सेवामा यो कुरा असम्भव हो। तर, परराष्ट्र सेवामा नासु बढुवाबाटै सहसचिव बन्न सम्भव भएको छ।

परराष्ट्रमा सहसचिवको एकैपटक ११ दरबन्दी थपेर १४ पदमा विज्ञापन गर्दा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमताका आधारमा ५/५ जना गरी १० जना सहसचिव भएका हुन्। एकैपटक १० जना बढुवा हुँदा नासुबाट छिरेका पारस र प्रकाश पनि सहसचिव बन्न सफल भएका छन्।

जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य र दरपदा सापकोटा सहसचिवमा बढुवा भए। कार्यक्षमताको आधारमा दधिराम भण्डारी, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डम्बरुवल्लभ पौडेल र पारस पण्डित सहसचिवमा बढुवा भएका हुन्। उनीहरूले परराष्ट्र मन्त्रालयलाई ‘माछाबजार’ बनाइदिएका छन्।

२०५५ साल चैतमा नेपाल प्रशासन सेवा, कुटनैतिक समूहको नायब सुब्बा (राजपत्र अनंकित प्रथम श्रेणी)बाट सरकारी सेवामा प्रवेश गरेका पारस पण्डित २६ वर्षमा बढुवाद्वारा नै परराष्ट्र सेवाको सहसचिव बन्न सफल भएका छन्। दरबन्दीभन्दा बढी सहसचिव भएपछि पारस अहिले परराष्ट्र मन्त्रालयको जगेडामा थन्किएका हुन्।

कुटनैतिक समूह (हाल परराष्ट्र सेवा)मा नासुबाट छिरेका पारस २०६७ साल वैशाखमा लोकतान्त्रिक बढुवाका माध्यमबाट परराष्ट्र सेवाको शाखा अधिकृत बने। उनै नुवाकोटे पारस २०७३ चैतमा बढुवा मार्फत नै परराष्ट्र सेवाको उपसचिव भए। उपसचिव भएको ८ वर्ष नपुग्दै २०८१ माघमा बढुवा भएर पारस फेरि परराष्ट्र सेवाको सहसचिव भएका हुन्। आरजुका पालामा परराष्ट्रमा एकैपटक ११ सहसचिवको दरबन्दी थप्दा पारस ८ वर्ष नपुग्दै ( ७ वर्ष १० महिनामै) उपसचिवबाट सहसचिवमा बढुवा भएका हुन्। जबकी प्रशासन सेवामा उपसचिवहरूलाई सहसचिव बन्न १४ वर्ष लागेको छ। २०६७ सालमा प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव भएकाहरू पारससँगै सहसचिव बढुवा भएका छन्।

पारसहरू नासुबाट छिरेर बिजुली गतिमा बढुवा खाँदै सहसचिवमा उक्लिएपछि विशिष्टीकृत सेवा भनेर दाबी गरिएको परराष्ट्र सेवाको भद्दा मजाक भएको छ। नासुहरू लोकतान्त्रिक बढुवाबाटै राजदूतको लाइनमा पुगेपछि कुटनीतिमा ‘कालो बादल’ मडारिन थालेको हो।

नासुबाट बढुवा भएर सहसचिवसम्म पुगेका पारस साढे ५३ वर्षका भए। ५८ वर्ष अवकाशको उमेर हद कायम हुँदा ५ वर्ष र ६० वर्ष पुग्दा ७ वर्ष परराष्ट्र सेवाको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को भूमिकामा देखिने पारस राजदूत बन्न योग्य भएका छन्। नासुमा पारस नेपाली राजदूतावास थाइल्याण्ड, शाखा अधिकृत भएपछि अस्ट्रेलियाको क्यानबेरामा गएर काम गरेका थिए। उपसचिव भएपछि उनले इस्लामावाद र संयुक्त राष्ट्र संघका लागि नेपाली राज्यको स्थायी नियोग, स्विजरल्याण्ड, जेनेभामा काम गरेका छन्। सहसचिव भएपछि भने पारस परराष्ट्र मन्त्रालयको बरण्डामा हल्लिरहेका छन्। पारसले जनप्रशासनमा द्वितीय श्रेणीमा स्नातकोत्तर गरेका छन्।

पारस मात्र होइन उनीभन्दा एक वर्ष अघि २०५४ साल साउनमा नेपाल प्रशासन सेवा, कुटनैतिक समूहको नायब सुब्बा (राजपत्र अनंकित प्रथम श्रेणी)बाट सरकारी सेवामा प्रवेश गरेका प्रकाश अधिकारी पनि २७ वर्षपछि सहसचिव भएका हुन्। १२ वर्ष ८ महिनापछि २०६७ साल बैशाखमा शाखा अधिकृतमा बढुवा भएका प्रकाश त्यसको करिब ६ वर्षपछि २०७२ चैतमा बढुवाबाटै परराष्ट्र सेवाको उपसचिव बने। उनी २०८१ माघमा बढुवा मार्फत नै फेरि परराष्ट्र सेवाको सहसचिव बन्न सफल भए।

आरजुका पालामा परराष्ट्रमा एकैपटक ११ सहसचिवको दरबन्दी थपेर १४ जनाको विज्ञापन गरेपछि प्रकाश ९ वर्ष नपुग्दै उपसचिवबाट सहसचिव भएका हुन्। उपसचिवबाट सहसचिव बन्न पारसलाईभन्दा प्रकाशलाई १ वर्ष बढी लाग्यो। सहसचिव भएपछि प्रकाश राष्ट्रपति कार्यालय शीतलनिवासमा फ्यालिएका छन्। बढुवा गर्नका लागि राष्ट्रपति कार्यालयमा सहसचिवको दरबन्दी बनाइएपनि परराष्ट्रका सहसचिवहरू जान मान्दैनन्।

नासुबाट बढुवा भएर सहसचिवसम्म पुगेका प्रकाश करिब ५२ वर्षका भए। ५८ वर्ष अवकाशको उमेर हद हुँदा ६ वर्ष र ६० वर्ष पुग्दा ८ वर्ष परराष्ट्र सेवाको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को भूमिकामा देखिने प्रकाश पनि राजदूत बन्न योग्य भएका छन्। नासु हुँदा परराष्ट्र मन्त्रालयबाहिर जान नपाएका प्रकाश शाखा अधिकृत भएपछि डेनमार्गको कोपनहेगनस्थित नेपाली राजदूतावासमा सरूवा भएर गएका थिए। उपसचिव भएपछि उनी क्यानडाको अटोवास्थित नेपाली राजदूतावासमा पुगे। त्यसपछि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग फेरि परराष्ट्र मन्त्रालय हुँदै थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासमा जान सफल भए। प्रकाशले वाणिज्यशास्त्रमा द्वितीय श्रेणीमा स्नातक गरेका छन्।

पारस र प्रकाशसँगै परराष्ट्र सेवाको सहसचिव बनेका दधिराम भण्डारी पनि नासुबाटै परराष्ट्रमा छिरेका हुन्। प्रशासन सेवा कुटनैतिक समूहको नासुबाट २०६० साल बैशाखमा परराष्ट्र छिरेका दधिरामले त्यसको ६ वर्षपछि २०६६ भदौमा आन्तरिक प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको शाखा अधिकृतमा नाम निकालेका थिए। उपसचिव र सहसचिवमा भने दधिराम बढुवाद्वारा माथि आएका हुन्।

२०७२ फागुनमा उपसचिवमा बढुवा भएका दधिराम त्यसको ९ वर्षपछि २०८१ माघमा परराष्ट्र सेवाको सहसचिवमा बढुवा भए। नासुबाट छिरेको २२ वर्षमै उनी परराष्ट्रको सहसचिव भएर राजदूत हुने लाइनमा बसेका छन्। ४४ वर्षभन्दा कम उमेरका सहसचिव भएका गुल्मेली दधिराम १५ वर्ष परराष्ट्र सेवामा रहने देखिन्छन्। दधिरामले जनप्रशासनमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन्। सहसचिव भएपछि दधिरामलाई सगरमाथा संवाद सचिवालयमा खटाइएको छ।

२०५२ सालमा नेपाल प्रशासन सेवा कुटनैतिक समूहको नायब सुब्बा (राजपत्र अनंकित प्रथम श्रेणी)को वैकल्पिकमा परेका पुष्पराज भट्टराई पनि परराष्ट्र सेवाको सहसचिव बनेका छन्। २०५२ सालमा लोकबहादुर थापा, तापस अधिकारी, रेवतीरमण पौडेल, प्रकाशमणि पौडेल, सुधिर भट्टराई, अम्बरबहादुर कार्की, जंगबहादुर गुरूङ, डोरनाथ अर्याल र हरिश्चन्द्र घिमिरे कुटनैतिक समूहको नायब सुब्बा (नासु)मा सिफारिस हुँदा पुष्पराज भट्टराई वैकल्पिकमा परेका थिए। हाल संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि, राजदूत रहेका लोकबहादुर थापाले शाखा अधिकृतमा नाम निकालेपछि पुष्पराजको भाग्य चम्कियो।

२०६५ साल चैतमा परराष्ट्रको शाखा अधिकृतमा बढुवा भएका पुष्पराज त्यसको ३ वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव बन्न सफल भएका थिए। सहसचिव हुन भने उनलाई झन्डै १२ वर्ष लाग्यो। कानुनमा स्नातक गरेका पुष्पराज उपसचिव हुँदा नेपाली महावाणिज्यदूतावास न्युयोर्क, अमेरिकामा ३ वर्ष बढी जमेर बसे। दक्षिण कोरियामा मिनिस्टर काउन्सेलर भएर गएका पुष्पले केही समय कार्यवहाक राजदूतको जिम्मेवारी पाएका थिए। ५५ वर्ष नाघेका खोटाङ्गे पुष्पराज भट्टराई एकपटक राजदूत पड्काउने दाउमा छन्। पुष्पराज अहिले परराष्ट्र मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख छन्।

परराष्ट्रमा नासुबाट छिरेका कर्मचारीलाई बढुवाबाटै सहसचिवमा पुऱ्याउन विशेष देन परराष्ट्रमन्त्री आरजु राणा देउवाको रहेको छ। परराष्ट्र मन्त्रालयको १५ वटा महाशाखा बनाएर नासुलाई लोकतान्त्रिक बढुवाबाट सहसचिव बनाउने आरजुको नाम इतिहासमा ‘दर्ज’ हुनेछ। अमेरिकाले समेत विदेशस्थित नियोग कटौती गर्दा आरजुको भने राज्यलाई अनावश्यक भार थप्ने गरी दरबन्दी थपेकी छिन्। अमेरिकाले टेक्सास र क्यालिफोर्नियामा महावाणिज्यदूत खोल्न अनुमति नदिँदै सुरेश अधिकारी र लक्ष्मण खनाललाई महावाणिज्यदूत पठाएर आरजुले अर्को ‘जग हसाई’ गरेकी छिन्। यो कलंकित कार्यको पनि समयले मूल्याङ्कन गर्नेछ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## सुरेश अधिकारी, #आरजु राणा परराष्ट्रमन्त्री, #क्यालिफोर्निया, #टेक्सास, #दधिराम भण्डारी, #परराष्ट्र माछाबजार, #परराष्ट्र सेवा, #पारस पण्डित, #पुष्पराज भट्टराई, #प्रकाश अधिकारी, #लक्ष्मण खनाल, #सगरमाथ संवाद सचिवालय, #सहसचिवको माछा बजार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ