जाँदाजाँदै महालेखा नियन्त्रक पाण्डेले उपसचिव चलाए, कान्ति बाल अस्पताल चलाउँदा परराष्ट्र छोएनन्

काठमाडौं। ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएका महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले जाँदाजाँदै लेखाका उपसचिव सरूवा गरेका छन्। कान्ति बाल अस्पताल, निर्वाचन आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्मका उपसचिव सरूवा गरेर महालेखा नियन्त्रक पाण्डे घर गएका हुन्।
कान्ति बाल अस्पतालका लेखा उपसचिव विष्णुप्रसाद निरौलालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालमा सरूवा गरेर पाण्डे घर गएका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका लेखा उपसचिव लावण्य दाहाल कुमारीचोक गएपछि निरौलालाई भूमिमा पठाइएको हो। दाहाल एक वर्षमै मेलम्ची खानेपानी आयोजना, राष्ट्रिय सतर्कता केन्द्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै कुमारीचोक पुगेका हुन्।
राष्ट्रिय सतर्कता केन्द्रका लेखा उपसचिव श्रीधर ज्ञवालीलाई निर्वाचन आयोग पठाइएको छ। निर्वाचन आयोगका लेखा उपसचिव बोधराज घिमिरे नापी विभाग पुगेका हुन्। नापी विभागमा कार्यरत लेखा उपसचिव लालबहादुर केसीले राजीनामा दिएका निर्वाचन आयोगबाट घिमिरेलाई नापी विभाग पठाइएको हो।
राष्ट्रिय सतर्कता केन्द्रमा लेखामा उपसचिव बस्नै मान्दैनन्। तर त्यहाँ २ जना लेखा उपसचिवको दरबन्दी रहेको छ। जानै नमान्ने अड्डामा एउटा उपसचिवको दरबन्दी कटौती गर्नु पर्ने आवाज उठ्दै आएको छ। तर, लेखाका कर्मचारीको स्वार्थले जान नमान्ने ठाउँमा पनि दरबन्दी कायम राख्ने काम भइरहेको हो।
लेखाका उपसचिवहरू जान कडा प्रतिस्पर्धा गरेको परराष्ट्र मन्त्रालयमा भने पाण्डे के गरे भन्ने कुरा यकिन भइसकेको छैन। भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत लेखा उपसचिव यदुनाथ भट्टराईको अवधि पुगिसकेको छ। नयाँ दिल्ली जान परराष्ट्र मन्त्रालयका लेखा उपसचिव भेषप्रसाद भुर्तेल तयारी हालतमा बसेका छन्। तर, परराष्ट्र मन्त्रालय जानका लागि महालेखा नियन्त्रक कार्यालयका कर्मचारी प्रशासन शाखा प्रमुख निरज केसीले मरिहत्ते गरेपछि पाण्डेलाई निकै सकस परेको थियो। त्यसैले उनी परराष्ट्रमा नचलाई घर गएका हुन्। महालेखाको सिस्टमभित्र बसेर निरन्तर काम गरिरहेका रामचन्द्र शर्मालाई परराष्ट्र पठाउनु पर्ने आवाज उठ्दै आएको छ। रेजिना कोइराला र मधुसुधन पौडेलले अख्तियार र अर्थ मन्त्रालयबाट ‘पावर’ भिडाएपछि परराष्ट्रको सरूवा थाती राखेर महालेखा नियन्त्रक पाण्डे बिदा भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #गणेशप्रसाद पाण्डे, #निरज केसी, #बोधराज घिमिरे, #मधुसुधन पौडेल, #रामचन्द्र शर्मा, #रेजिना कोइराला, #विष्णुप्रसाद निरौला, #श्रीधर ज्ञवाली
तपाईको प्रतिक्रिया दिनुहोस