दलित कोटाबाट परराष्ट्रमा सहसचिव बन्न नसकेका विकास दोस्रो प्रयासमा राजस्वको उपसचिव बने


काठमाडौं। दलित कोटाबाट परराष्ट्र सेवाको सहसचिव बन्न सकेका विकासकुमार रजक प्रशासन सेवा, राजस्व समूहको उपसचिव बनेका छन्। लोक सेवा आयोगले लिएको परीक्षामा आन्तरिक प्रतिस्पर्धाबाट विकास राजस्व समूहको उपसचिव बन्न सफल भएका हुन्। प्रशासन सेवा सामान्य प्रशासन समूहका शाखा अधिकृत रहेका विकास आन्तरिक प्रतिस्पर्धाबाट राजस्व समूहको उपसचिवमा सिफारिस भएका छन्।


हाल मलेसियास्थित नेपाली दूतावासमा श्रम सहचारी रहेका विकास राजस्व समूहको उपसचिवमा सिफारिस भएका छन्। विकास राजस्व समूहको उपसचिवमा सिफारिस भएसँगै वैकल्पिकमा रहेकी कल्पना खनाल रेग्मी मलेसियाको श्रम सहचारी भएर जाने भएकी छिन्। श्रम सहचारी रहेका विकास उपसचिव हुँदा वैदेशिक रोजगार बोर्डको सचिवालयमा कार्यरत शाखा अधिकृत कल्पनाको ‘भाग्य’ चम्किएको हो।


लोक सेवा आयोगले परराष्ट्र सेवाको सहसचिव (दलित कोटा)मा लिएको लिखित परीक्षामा विकाससहित ३ जनाको नाम निस्किएको छ। प्रशासन सेवाका शाखा अधिकृत विकाससहित परराष्ट्र सेवाकी उपसचिव सुजनी राना र दिपक वि.क. सहसचिवको लिखित परीक्षामा उत्तीर्ण भएका थिए। अन्तर्वार्तापछि भने दिपक वि. क. सहसचिवमा सिफारिस भए। सुजनी वैकल्पिकमा परिन् भने विकास वैकल्पिकमा पनि अटाएनन्।


परराष्ट्र सेवाको सहसचिवमा वैकल्पिकमा समेत नपरेका विकास  प्रशासन सेवा, राजस्व समूहको उपसचिवमा भने आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस भएका छन्। विकासले दोस्रो प्रयासमा राजस्वको उपसचिव भएरै छाडे।
प्रशासन सेवा, राजस्व समूहको द्वितीय श्रेणी (उपसचिव)को आन्तरिक प्रतिस्पर्धाको लिखित नजितामा २३ जना उत्तीर्ण भएका थिए। २३ जनामा अन्तर्वार्ता र प्रस्तुतीकरणपछि कपिल सिलवाल, प्रेमप्रसाद उपाध्याय, उपेन पाण्डेय, विकासकुमार रजक र प्रभात घिमिरेको नाम सिफारिस भएको छ। ५ जना आवश्यक परेकोमा विकासको नाम चौथो नम्बरमा सिफारिस भएको हो।


प्रशासन सेवाका शाखा अधिकृत विकास अघिल्लोपटक (८०८१ जेठ मा) राजस्व समूहको उपसचिवको लिखितमा नाम निकालेका थिए। तर, उनी राजस्वको उपसचिवमा सिफारिस हुन सकेनन्। अघिल्लो वर्ष राजस्वको उपसचिव बन्न नसकेका विकास यसपटक भने नतिजा उल्टाउन सफल भएका हुन्। उनी अब सामान्य प्रशासन समूहबाट राजस्व समूहमा प्रवेश गरेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव विकास कुमार रजक, #दलित कोटा, #राजस्व समूह, #विकासकुमार रजक

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ