भन्सार र राजस्वको डिजी भइसकेका शोभाकान्त पौडेल सचिवमा बढुवा

काठमाडौं। भन्सार विभाग र आन्तरिक राजस्वका विभागका महानिर्देशक (डिजी) भइसकेका शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन्। अर्थ मन्त्रालयको आर्थिक विश्लेषण महाशाखा प्रमुख भएका पौडेललाई बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको हो। पौडेल सम्भवतः गण्डकी प्रदेशकाे प्रमुख सचिवमा पदस्थापन हुनेछन्। गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट जेठ २२ गते अवकाशमा जान लागेकाले उनलाई संघमा तानेर पौडेललाई पठाउने तयारी भइरहेको छ।
अर्थ मन्त्रालयमा शक्तिशाली भएर बसेका स्याङ्जाली पौडेल जेष्ठताका आधारमा सचिव बढुवाका लागि एकल सिफारिस भएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अवकाश भएपछि रिक्त स्थानमा पौडेलको बढुवा भएको हो। २०७० साल चैतमा खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका पौडेल पूरा कार्यकाल सचिव चलाउनेमा पर्छन्। गणेशप्रसाद पाण्डेको ठाउँमा भने भूपाल बराल सचिवमा बढुवा हुनेछन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस