पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत टेरामक्स भ्रष्टाचारमा डामिए, पूर्वकानुन सचिव धनराज ज्ञवाली पनि प्रतिवादी

काठमाडौं। बहुचर्चित टेरामक्स प्रविधि खरिद अनियमिततामा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। स्वास्थ्यमन्त्री हुँदा मैमत्ता बनेका बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमामा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबाट निर्वाचित बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १५ जना व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। कम्पनीलाई पनि अख्तियारले प्रतिवादी बनाएको हो। टेरामक्स प्रविधि खरिद अनियमिततामा पूर्वकानुन सचिव धनराज ज्ञवालीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। ज्ञवालीलाई नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यहरू हैसियतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
टेरामक्स प्रविधि घोटालामा प्राधिकरणका सदस्य टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक अच्युतानन्द मिश्र, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन् । टेरामक्स प्रविधि घोटालामा प्रतिवादीहरू उपर ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक अच्युतानन्द मिश्र, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी, सन्दिप अधिकारीले ‘एमडिएमएस’मा भ्रष्टाचार मुद्दा दायर विशेष अदालतबाट भएर सफाइ पाएका थिए। उनीहरू फेरि टेरामक्समा जाकिएका छन्।
टेरामक्स प्रकरणमा तत्कालीन सञ्चार सचिव महेन्द्रमान गुरूङ, उक्त प्रकरणमा कुनै न कुनै हिसाबले जोडिएका तत्कालीन सञ्चारमन्त्रीद्वय गोकुलप्रसाद बाँस्कोटा र ज्ञानेन्द्रबहादुर कार्की, सचिव बैकुण्ठप्रसाद अर्याल, र तत्कालीन सहसचिव विनोदप्रसाद सिंहले भने उन्मुक्ति पाएका छन्। लामो समयको रस्साकस्सीपछि अख्तियारले टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
क्याटेगोरी : समाचारट्याग : #टेरामक्स, #टेरामक्स प्रविधि, #धनराज ज्ञवाली, #मोहन बहादुर बस्नेत
तपाईको प्रतिक्रिया दिनुहोस