यी हुन् टेरामक्स अनियमिततामा बयान लिएर पनि मुद्दा नचलाइएका ‘हाई प्रोफाइल’हरू

काठमाडौं। बहुचर्चित टेरामक्स प्रविधि खरिद अनियमिततामा बयान लिएका ‘हाई प्रोफाइल’लाई जोगाइएको छ। टेरामक्स खरिद अनियमिततामा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपनि उनकै मातहतमा बसेर काम गरेका सचिव महेन्द्रमान गुरूङलाई जोगाइएको हो।
तत्कालीनमन्त्री मोहनसँगै महेन्द्रले टेरामक्स खरिद अनियमिततामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका थिए। अख्तियारले विशेष अदालतमा टेरामक्स घोटालामा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा मोहनलाई प्रतिवादी बनाउँदा महेन्द्रलाई बनाइएन।
मोहनपछि सञ्चारमन्त्री बनेर टेरामक्स प्रकरणमा गोकुलप्रसाद बाँस्कोटा पनि अख्तियारमा पुगेर बयान दिएका थिए। गोकुलको पालामा पनि महेन्द्र नै सचिव थिए। मोहनलाई मुद्दा चलाउँदा गोकुललाई पनि भ्रष्टाचार मुद्दा चलाइएन।
गोकुलपछि सञ्चारमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्की र उनको पालाका सचिव बैकुण्ठप्रसाद अर्याल पनि अख्तियार पुगेर बयान दिएका थिए। टेरामक्स प्रविधि खरिदको ठूलो भुक्तानीमा जोडिएका तत्कालीन मन्त्री कार्की र सचिव अर्याललाई प्रतिवादी बनाइएन। अर्याल मुख्यसचिव हुँदा अन्तःशुल्क स्टिकर छपाई घोटालामा भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेका थिए। विशेष अदालतबाट सफाइ पाएपछि अर्यालले मुख्यसचिवबाट राजीनामा दिए। त्यो उनका लागि ‘प्लस प्वाइन्ट’ भयो।
टेरामक्स जोडिएर मुद्दा नचलाइएका अर्का ‘हाई प्रोफाइल’ हालै पर्यटन सचिवबाट अवकाश भएका विनोदप्रकाश सिंह हुन्। उनी सञ्चार मन्त्रालयको सहसचिव हुँदा टेरामक्स खरिद अनियमिततामा जोडिएर अख्तियार पुगेर बयान दिएका थिए। परिबन्दमा परेर टेरामक्समा जोडिएका सिंहले पनि राहत पाएका छन्। ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको टेरामक्स प्रविधि घोटालामा यी ‘हाई प्रोफाइल’हरूले भ्रष्टाचार मुद्दामा उन्मुक्ति पाएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #गोकुल बाँस्कोटा, #ज्ञानेन्द्रबहादुर कार्की, #टेरामक्स, #टेरामक्स प्रविधि, #डा. बैकुण्ठ अर्याल, #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #विनोद प्रकाश सिंह
तपाईको प्रतिक्रिया दिनुहोस