टेरामक्स भ्रष्टाचार प्रकरण
‘आफैले खनेको खाल्डो’मा परेका पूर्वकानुन सचिव धनराज ज्ञवाली

काठमाडौं। बहुचर्चित टेरामक्स प्रविधि खरिद अनियमिततामा तात्कालीन सञ्चारमन्त्रीसँगै भ्रष्टाचार मुद्दामा डामिएका व्यक्ति हुन् पूर्वकानुन सचिव धनराज ज्ञवाली। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिद घोटालामा विशेष अदालतमा दायर गरेका मुद्दामा ज्ञवाली तेस्रो नम्बरका प्रतिवादी हुन्। उनै कानुन सचिव ज्ञवाली ‘आफैले खनेको खाल्डो’मा परेर टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दामा जाकिएका छन्।
ज्ञवाली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कानुन उपसचिव हुँदा धनराज ज्ञवाली नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यमा नियुक्त भएका थिए। तत्कालीन सञ्चार सचिव सूर्यप्रसाद सिलवालले कानुन उपसचिव ज्ञवालीलाई ५ वर्षका लागि बोर्ड सदस्य बनाउन भूमिका खेलेको जानकारहरू बताउँछन्।
उपसचिवबाट सहसचिवमा बढुवा भएर गृह मन्त्रालयका पुग्दा पनि ज्ञवालीले नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड छाडेनन्। त्यो बेला उनी प्राधिकरणभित्रका निकै हर्ताकर्ता रहेका थिए। बामदेव गौतम गृहमन्त्री हुँदा गृहमा कानुन उपसचिवको दरबन्दीलाई सहसचिव बनाएर धनराज ज्ञवाली गृह प्रवेश गरेका थिए। सिलवाललाई गृहसचिव बनाउन ज्ञवाली र तत्कालीन सहसचिव एकनारायण अर्याल (हाल मुख्यसचिव)ले भूमिका खेलेको चर्चा अझै सेलाएको छैन। सहसचिव भएपछि प्राधिकरणको बोर्डमा बसेर ज्ञवालीले सबै कागजात तयार पार्न भूमिका खेलेका थिए। ज्ञवालीलाई दूरसञ्चारप्रति निकै रूची रहेको र टेरामक्स प्रविधि खरिदमा प्रत्यक्ष संलग्नता रहेको पाइन्छ। त्यसैका आधारमा अख्तियारले ज्ञवालीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
ज्ञवाली कानुन अधिकृत हुँदा तत्कालीन कानुनमन्त्री सुवासचन्द्र नेम्वाङको समेत निजी सचिव भएर काम गरेका थिए। पछिल्लो समय ज्ञवाली बामदेव गौतम हुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्थे। प्रचण्ड प्रधानमन्त्री भएकै समयमा उनी कानुन सचिव भएका थिए। दिनमणि पोखरेललाई हटाएर महान्यायाधिवक्ता बन्ने कसरतमा लागेका ज्ञवाली ‘प्रचण्ड’ सरकार ढलेपछि हेरेको हेरै भएका थिए। अहिले भ्रष्टाचार मुद्दा दायर भएर आफै समस्यामा परेका छन्।
अख्तियारले टेरामक्स खरिद अनियमिततामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसमा ज्ञवालीलाई सदस्यको हैसियतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। संयोग पनि कस्तो पऱ्यो भने ज्ञवालीलाई बोर्ड सदस्य बनाउने सूर्यप्रसाद सिलवाल पनि भ्रष्टाचार मुद्दामा परेका थिए। ज्ञवालीले पनि त्यहिँ नियति भोग्नुपऱ्यो। टेरामक्स भ्रष्टाचारको विषय अब विशेष अदालतमा प्रवेश गरिसकेको छ। विशेष अदालतले नै न्याय निरूपण गर्नेछ।
क्याटेगोरी : समाचारट्याग : #टेरामक्स, #टेरामक्स प्रविधि, #धनराज ज्ञवाली
तपाईको प्रतिक्रिया दिनुहोस