पर्यटन मन्त्रालयको सचिव बन्न चर्को दौडधुप

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बन्न आधा दर्जन सचिवहरू ‘रिले’ दौडमा लागेका छन्। पर्यटन सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएसँगै एक हप्तादेखि पर्यटन मन्त्रालय सचिवविहीन अवस्थामा छ। बजेटको मुखमा सचिव खाली भएपछि पर्यटनमा सचिव पठाउन दबाब परेको हो।
पर्यटन सचिव बन्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्ण चर्को दौडधुपमा लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्ण पर्यटन सचिव बनेर जाने निकै जोडबल गरेका थिए। तर, विनोदप्रकाश सिंहको अगाडि कुनै ‘दाल नगलेपछि’ कर्ण मुकुन्दप्रसाद निरौलालाई फ्यालेर श्रम सचिव भएका थिए। उनै कर्ण सिंहले ठाउँ छाडेपछि पर्यटन जाने दौडमा रहेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ।
१० दिनभन्दा बढी स्विजरल्याण्डको जेनेभा घुमेर आएका श्रम सचिव कर्ण जेठ २५ गतेदेखि ३१ गतेसम्म हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने फेरि त्यतै जाँदैछन्। उनी ‘डुलुवा’ सचिव भएकाले पर्यटन जान चर्को दौडमा लागेका हुन्। दोहोऱ्याएर अर्थ सचिव भएका कर्ण पर्यटन जान तम्सिरहेका छन्।
कर्णपछि पर्यटन सचिवका लागि मुकुन्दप्रसाद निरौलाको नाम चर्चामा छ। श्रमबाट सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका निरौला पर्यटन जाने उच्च सम्भावना देखिन्छ। पर्यटन जान नसके उनी महालेखा नियन्त्रक बन्ने अवस्था आउन सक्ने प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन्। उनी गृहसचिवका लागि पनि उत्तीकै चर्चामा छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविराज पन्थ पर्यटनमा जाने हल्ला चल्न थालेको छ। सञ्चार सचिव राधिका अर्याल संघीयमा आउने र उनी त्यहाँबाट बाहिरिने चर्चा चलेकाले उनी पर्यटनमा पुग्न सक्ने खतरा देखिन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवद्वय राजकुमार श्रेष्ठ र चूडामणि पौडेल पनि पर्यटन जाने दाउमा देखिन्छन्। चूडामणिलाई मुख्यसचिवले च्यापेकाले उनी पनि पर्यटनको दौडमा अगाडि रहेको चर्चा छ। लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई पदाधिकारीले नरूचाएकाले उनी पनि पर्यटनमा फड्को हान्न सक्ने अवस्था आउन सक्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन हेर्ने सचिव हरिप्रसाद मैनाली लोक सेवा आयोग जाने कसरतमा छन्। श्रम मन्त्रालयमा जान खोजेका मैनालीले कुरा नमिलेपछि लोक सेवा ताकेको चर्चा छ। सरकारले ठूलो संख्यामा सचिव सरूवा गर्ने तयारी गरिरहेको पाइन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस