कांग्रेसको राज्य प्रशासन विभागमा ४ पूर्वकर्मचारी, डिल्ली, तीर्थ, गोपाल र मकर मनोनित

काठमाडौं। नेपाली कांग्रेसको राज्य प्रशासनमा चार जना पूर्वकर्मचारी मनोनित भएका छन्। केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा रहेको राज्य प्रशासन विभागको सदस्यमा ४ पूर्वकर्मचारी मनोनित भएका हुन्।
पूर्वसहसचिव डिल्लीप्रसाद शिवाकोटी, पूर्वउपसचिव तीर्थराज खनाल, पूर्वअधिकृत गोपालप्रसाद पोखरेल र मक्करबहादुर रावल कांग्रेसको राज्य प्रशासन विभागको सदस्यमा मनोनित भएका छन्। अर्थ मन्त्रालयमा लामो समय काम गरेका सहसचिव शिवाकोटी र यातायात, श्रम, राजस्व अनुसन्धानमा काम गरेका उपसचिव खनाललाई अवकाशपछि कांग्रेसले नयाँ जिम्मेवारी दिएको छ। नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष समेत रहेका भर्खरै सेवानिवृत्त भएका शाखा अधिकृत पोखरेललाई पनि कांग्रेसले राज्य प्रशासन विभागमा ल्याएको हो। अर्का अवकाशप्राप्त शाखा अधिकृत रावल समेत कांग्रेसको राज्य प्रशासन विभागको सदस्य बन्न सफल भएका छन्।
कांग्रेसको राज्य प्रशासन विभागको सदस्यमा ४ पूर्वकर्मचारीसहित विजयराज आचार्य, अर्जुन साह, थम्मनबहादुर खत्री, रामबहादुर रोकाह, गीता देवकोटा र द्रोपदी वली मनोनित भएका छन्। उनीहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले विभागको सदस्यमा मनोनित गरेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #गोपालप्रसाद पोखरेल, #डिल्लीप्रसाद शिवाकोटी, #तीर्थराज खनाल, #मक्करबहादुर रावल, #राज्य प्रशासन विभाग
तपाईको प्रतिक्रिया दिनुहोस