सचिव बढुवाका लागि बराल, घिमिरे र सुवेदीको नाम सिफारिस गर्ने तयारी


काठमाडौं। सचिवमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गर्ने तयारी भइरहेको छ। महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले अवकाश पाएपछि उनको ठाउँ रिक्त भएको छ। उक्त रिक्त स्थानमा सचिव बढुवाका लागि सहसचिवत्रय भूपाल बराल, डण्डुराज घिमिरे र डा. खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस हुने देखिन्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा शोभाकान्त पौडेलको बढुवा भइसकेको छ। सचिवमा बढुवा भएका पौडेलको पदस्थापन भने भइसकेको छैन। सिंहभन्दा ५ दिन पछाडि अवकाश भएका महालेखा नियन्त्रक पाण्डेको ठाउँमा बराल, घिमिरे र पाण्डेको नाम सिफारिस गर्ने तयारी भइरहेको हो।

सचिव बढुवाका लागि तयारी हालतमा बसेका वरिष्ठ सहसचिव भूपाल बराल अहिले वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन्। डण्डुराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। त्यस्तै डा. खगेन्द्रप्रसाद सुवेदी लोक सेवा आयोगका मनोविज्ञानवेत्ता हुन्। बराल र घिमिरे नेपाल प्रशासन सेवाका सहसचिव हुन् भने सुवेदी नेपाल शिक्षा सेवातिरका सहसचिव हुन्। ५८ वर्षे उमेर हदका कारण सुवेदी यहीँ (२०८२ भदौं १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको उमेर हद ५८ वर्ष कै हिसाबले हेर्दा घिमिरे २०८४ साउन १ गतेसम्म सरकारी सेवामा रहन्छन्। २०३५ सालका बराल भने ५ वर्ष सचिव हुँदा पनि ५८ वर्ष पुग्न त्योभन्दा बढी समय बाँकी रहन्छ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बस्ने बढुवा समितिको बैठकले १ जना सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस गर्छ। सिफारिस भएकामध्ये १ जनालाई मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ।

क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद पाण्डे, #डण्डुराज घिमिरे, #डा. खगेन्द्र प्रसाद सुवेदी, #भूपाल बराल, #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ