सचिवमा बढुवाका लागि बराल, घिमिरे र सुवेदीको नाम सिफारिस


काठमाडौं। सचिवमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ। महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले अवकाश पाएपछि उनको रिक्त स्थानमा सहसचिवत्रय भूपाल बराल, डण्डुराज घिमिरे र डा. खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस भएको हो। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले रिक्त १ सचिवमा बढुवाका लागि सहसचिवहरू बराल, घिमिरे र सुवेदीको नाम सिफारिस गरेको हो।

सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस वरिष्ठ सहसचिव भूपाल बराल अहिले वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन्। दोस्रो नम्बरका डण्डुराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। त्यस्तै तेस्रो नम्बरमा सिफारिस भएका डा. खगेन्द्रप्रसाद सुवेदी लोक सेवा आयोगका मनोविज्ञानवेत्ता हुन्। बराल र घिमिरे नेपाल प्रशासन सेवाका सहसचिव हुन् भने सुवेदी नेपाल शिक्षा सेवातिरका सहसचिव हुन्।

५८ वर्षे उमेर हदका कारण सुवेदी यहीँ २०८२ भदौं १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष कै हिसाबले हेर्दा घिमिरे २०८४ साउन १ गतेसम्म सरकारी सेवामा रहन्छन्। २०३५ सालका बराल भने ५ वर्ष सचिव हुँदा पनि ५८ वर्ष पुग्न त्योभन्दा बढी समय बाँकी रहन्छ। सिफारिस भएकामध्ये १ जनालाई आगामी मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा शोभाकान्त पौडेलको बढुवा भइसकेको छ। सचिवमा बढुवा भएका पौडेलको पदस्थापन भने भइसकेको छैन। सिंहभन्दा ५ दिन पछाडि अवकाश भएका महालेखा नियन्त्रक पाण्डेको ठाउँमा बराल, घिमिरे र पाण्डेको नाम सिफारिस भएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #डण्डुराज घिमिरे, #डा. खगेन्द्र प्रसाद सुवेदी, #भूपाल बराल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ