भिजिट भिसा सेटिङमा डेढ वर्ष अघि अध्यागमनका यी कर्मचारीमाथि मुद्दा दायर भएको थियो


काठमाडौं। फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने सेटिङ धन्दामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दोस्रो अपरेशन भएको छ। तात्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सचिव दिनेश भट्टराईका पालामा प्रहरीले भिजिट भिसा सेटिङमा प्रहरीले विमानस्थल अध्यागमनमा अपरेशन चलाएको थियो। गृहमन्त्री र सचिव कै निर्देशनमा प्रहरीले चलाएको अपरेशनमा शाखा अधिकृत नरवीर खड्कासहित गिरोहका सदस्यहरू प्रक्राउ परेका थिए। तत्कालीन अध्यागमन अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु आचार्य, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध त मुद्दा नै चल्यो। अहिले उस्तै काण्डमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘टिआईए’ अध्यागमनमा अपरेशन चलाउँदा कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराई नै अख्तियारको फन्दामा परेका छन्।

अख्तियारको फन्दामा परेका विवादित पृष्ठभूमिका सहसचिव भट्टराईलाई गृहमन्त्री रमेश लेखक र भूमिमा समेत बसेर गृह आएका सचिव गोकर्णमणि दुवाडीले ‘टिआईए’मा प्रमुख अध्यागमन अधिकृत बनाएर पठाएका थिए। भूकम्पको बेला त्रिपाल काण्डमा समेत मुछिएका र रवि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको विवादित ठेक्कामा परेका भट्टराईलाई मन्त्री लेखक र सचिव दुवाडीले ‘टिआईए’को कमाण्ड सुम्पिएका थिए। नारायाणकाजी श्रेष्ठ र दिनेश भट्टराईको टिमले एक्सन लिएर मोरङको सिडिओबाट तानेका तीर्थराज ‘टिआईए’मा राज गर्न पुग्नु आफैंमा रहस्यको विषय हो। कति विषय कति रहस्यपूर्ण थियो भन्ने कुरा अख्तियारको पछिल्लो ‘एक्सन’ले देखाउँछ।  भूमिबाटै गृहमा आएका सचिव टेकनारायण पाण्डे नक्कली भुटानी शरणार्थी काण्डमा जेलको हावा खाइरहेका छन्।

अख्तियार स्रोतका अनुसार दीपक पाण्डे, लक्ष्मी भुषाल, दुर्गा थापा, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, यज्ञराज अर्याल, भिष्मराज अर्याल, प्रभा अर्याललगायतका कर्मचारी उच्च निगरानीमा रहेका छन्। यीमध्ये धेरै जसो पटकपटक अध्यागमन जानेमा पर्छन्। कोही शाखा अधिकृतको त चियावालादेखि करोडपति बनेको सफलताको कथा लेखिनेवाला छ।

तत्कालीन गृहमन्त्री नारायणकाजीको निर्देशनमा अध्यागमनमा भएको एक्सनमा माओवादीका खाटी कार्यकर्ता नरवीर खड्का समातिएपछि कर्मचारीहरूको भागाभाग भएको थियो। भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक उपार्जन गरेको नरवीरको बयानका आधारमा तत्कालीन अध्यागमन अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु आचार्य, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको थियो। लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भयो। ती प्रतिवादीहरू सुटुक्क अदालतमा हाजिर भएर धरौटीमा छुटेका थिए।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले गरेको आरोप लागेको थियो। बिचौलियाहरू अरुण दाहाल, सरोज कुमार यादव, गिता शाह र गणेश पाण्डेलाई कसुरदार ठहर गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्माको इजलासले कर्मचारीहरूलाई भने सफाइ दिएको थियो। डेढ वर्ष अघि भिजिट भिसा काण्डमा मुछिएकाहरू अहिले गृह मन्त्रालय र सचिवालयमा हर्ताकर्ता रहेको पाइन्छ।

गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमनमा कसलाई पठाउने भनेर गणेश नाम गरेका शाखा अधिकृतले हेर्ने गर्छन्। उनलाई खुसी नपारी कोही पनि अध्यागमन जान नपाउने गृह मन्त्रालय स्रोत बताउँछ।यसले गृहमन्त्रीको सचिवालय कसरी चलिरहेको छ सहजै अनुमान लगाउन सकिन्छ। यतातिर पनि अख्तियारको ध्यान जान जरुरी छ। भिजिट भिसा काण्डमा लहरो तान्दा पहरो खस्ने जोखिम उच्च देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ