नक्कली भिजिट भिसा काण्डमा उदांगिएको गृह प्रशासन

समाचार टिप्पणी
काठमाडौं। नक्कली भिजिट भिसा काण्डले गृह प्रशासन उदांगो भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई अख्तियारको फन्दामा परेसँगै गृह प्रशासनको अनुहार उदांगो भएको हो।
विवादित प्रमुख अध्यागमन अधिकृत भट्टराईले नक्कली भिजिट भिसा सेटिङ चलाएपछि बयानका लागि अख्तियार धाइरहेका छन्। भिजिट भिसामा जानेबाट दैनिक ५० लाखसम्म असुली गरेको तथ्य फेला पारेपछि भट्टराई अहिले बयानका लागि अख्तियार धाइरहेका छन्। अख्तियार स्रोतका अनुसार यो सेटिङ गृह मन्त्रालयको उपल्लो तहसम्मै पुगेको देखिन्छ।
अख्तियारले विस्तृत अनुसन्धान थालेपछि १ दर्जन अध्यागमन अधिकृत अनुसन्धानको ‘राडार’भित्र परेका छन्। गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले विवादित पृष्ठभूमिका भट्टराईलाई प्रमुख अध्यागमन अधिकृत बनाएर पठाएका हुन्। अख्तियारले एक्सन लिने र आफूहरू पनि विवादमा आउने भएपछि भट्टराईलाई हतारहतार गृह मन्त्रालय तानेर ‘पानीमाथिको ओभानो’ हुन खोजेका थिए। तर, उनीहरूको चलाखी एकदिन पनि टिक्न सकेन।
दीपक पाण्डे, लक्ष्मी भुषाल, दुर्गा थापा, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, यज्ञराज अर्याल, भिष्मराज अर्याल, प्रभा अर्याललगायतका कर्मचारी भिजिट भिसा सेटिङ मिलाउने भट्टराईको ‘कोर टिम’भित्र रहेको खुल्न आएको छ। उनीहरूको संलग्नताको विषयमा अख्तियारले विस्तृत विवरण हेरिरहेको छ। अध्यागमनमा कर्मचारी खटाउन गृहमन्त्रीको सचिवालयमा रहेका विवादित शाखा अधिकृत विमल पौडेल र कर्मचारी प्रशासन शाखामा रहेका गणेशदत्त ओझा हुन्। उनीहरूकै सेटिङमा अध्यागमनमा पटकपटक एउटै व्यक्ति पुगेको पाइन्छ। गृहसचिव दुवाडीले ‘गणेश मान्ने’ उनै गणेशदत्त अहिले गृहका हर्ताकर्ता हुन्।
डेढ हप्ता अगाडि कास्कीको सिडिओ ‘कन्फर्म’ गरेर हिँडेका भट्टराई ‘रातो घरको तातो हावा खान’ पुगेका छन्। त्रिपाल घोटालादेखि राष्ट्रिय परिचयपत्रको ठेक्कासम्म विवादमा तानिएका उनै भट्टराईलाई गृहमन्त्री लेखक र सचिव दुवाडीले प्रमुख अध्यागमन अधिकृत बनाएर पठाएका हुन्।
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकबाट अध्यागमन कार्यालय प्रमुख बनेर जानु नै ‘दालमे कुछ काला हे’ भन्ने देखिन्छ। भट्टराईमाथिको अनुसन्धानको सुई कति माथिसम्म पुग्ने हो त्यो थाहा पाउन भने केही दिन कुनुपर्ने हुन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस