गृहमन्त्री बनेपछि विवादमा तानिएका कांग्रेसका नेताहरू


काठमाडौं। गृहमन्त्री बनेपछि कांग्रेसका ३ नेताले मुद्दा नै खेपे। खुमबहादुर खड्का र गोविन्दराज जोशी त भ्रष्टाचारी नै ठहर भएका छन्। नक्कली भुटानी शरणार्थी काण्डमा बालकृष्ण खाँण मुद्दा खेपिरहेका छन्। अहिले कांग्रेस कै गृहमन्त्री रमेश लेखक हुँदा नक्कली भिजिट भिसा काण्ड मच्चिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई अख्तियार धाइरहेका छन्। नक्कली भिजिट भिसा काण्डमा मथिल्लै तहसम्म आर्थिक बाँडफाँड हुने गरेको चर्चा छ। यसले शंका सुईरो लेखकतिर तेर्सिएको हो।

भ्रष्टाचार र मानव वेचविखनमा कांग्रेसका गृहमन्त्री बदनाम हुँदै आएका छन्। खुमबहादुर खड्का, गोविन्दराज जोशी भ्रष्टाचारी ठहर भइसकेका छन्। बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी काण्डमा जिल्ला अदालतमा संगठित अपराध र किर्ते मुद्दा खेपिरहेका छन्। उनी केही समय जेल बसेर उच्च अदालतबाट धरौटीमा रिहा भएका हुन्। खाँणपछि कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखक अहिले नक्कली भिजिट भिसामा शंकाको घेरामा रहेका छन्। गृहमन्त्री लेखक र सचिव गोकर्णमणि दुवाडीका विश्वासपात्र सहसचिव भट्टराई अहिले अख्तियारको फन्दामा परेका छन्।

कांग्रेसबाट कृष्णप्रसाद सिटौला गृहमन्त्री बनेका बेला सुडान काण्ड घटेको थियो। यद्यपि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएन। गृहमन्त्री बनेका कांग्रेस नेता विजयकुमार गच्छदारले पनि भ्रष्टाचार मुद्दा खेपेका थिए। विमलेन्द्र निधि गृहमन्त्री हुँदा आईजीपी काण्डले राम्रै लफडा निम्त्यायो। राजीनामा दिएर हिँडेका निधि पछि फिर्ता भए। त्यसपछि भएका कांग्रेसी गृहमन्त्री खाँण मुद्दा खेपिरहेका छन्। नक्कली भिजिट भिसा काण्डमा अख्तियारको अनुसन्धान गृहमन्त्री लेखकसम्म पुग्छ कि पुग्दैन हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ