एन्टिभाइरल औषधिको प्रभावकारिता परीक्षण हुने


काठमाडौं । नेपालमा एचआईभी संक्रमितको संख्या करिब ३० हजार रहेको अनुमान छ, जसमा झण्डै २५ हजार जना नियमित रूपमा एन्टिभाइरल औषधि सेवन गरिरहेका छन् । सरकारी विवरणअनुसार, हरेक दिन औसतमा एक जना एचआईभी संक्रमितको मृत्यु हुने गरेको छ।

पछिल्लो समय एन्टिबायोटिक औषधिहरूको कार्यक्षमतामा आएको ह्रासले एचआईभी संक्रमितले सेवन गर्दै आएका एन्टिभाइरल औषधिप्रति पनि प्रश्न उठाउन थालिएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. शर्वेस शर्माका अनुसार, एन्टिभाइरल औषधिको प्रभावकारिता परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको छ।

“एन्टिभाइरल औषधि पनि एन्टिबायोटिक श्रेणीमै पर्छ। एन्टिबायोटिक औषधिको जस्तै यसको पनि कार्यक्षमता परीक्षण गर्नु आवश्यक छ,” डा. शर्माले भने, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसबारे सहमति जनाइसकेको छ र परीक्षणसम्बन्धी निर्देशिका निर्माण भइरहेको छ।”

डा. शर्माका अनुसार, एचआईभी संक्रमितको मृत्युका कारण प्रष्ट छुट्याइनु जरुरी छ। “कतिपय अवस्थामा संक्रमित व्यक्तिको आत्महत्या जस्ता कारणले मृत्यु भएको पाइन्छ तर त्यसलाई पनि एचआईभीकै कारण मृत्यु भनेर तथ्यांकमा राखिने गरिएको छ, जसले मृत्यु दर बढेको देखाउँछ,” उनले भने।

हाल वार्षिक रूपमा झण्डै ३५० संक्रमितको मृत्यु हुने गरेको विवरण छ। उपचारमा सरकारले कुनै कमी नगरे पनि, ग्लोबल फन्डको सहयोगमा समुदायस्तरमा सञ्चालन हुने कार्यक्रमहरूमा कार्यान्वयनको पक्षमा केही समस्या आएको उनले उल्लेख गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ