कुलिङ पिरियड हटाउन मुख्यसचिव र सचिवहरूको ‘ट्र्याक टु’ लबिइङ

काठमाडौं। कुलिङ पिरियड हटाउन मुख्यसचिव एकनारायण अर्याल, सचिव कृष्णहरि पुष्कर कर्णलगायत ‘ट्र्याक टु’ लबिइङ थालेका छन्। मुख्यसचिव अर्याल, सचिवद्वय कर्ण र रविलाल पन्थको योजनामा कुलिङ पिरियड राख्ने गरी अघि बढेको संघीय निजामती सेवा विधेयकविरुद्ध कार्यक्रम गर्न लागिएको हो। अवकाशपछि संवैधानिक नियुक्ति खान मुख मिठ्याएर बसेका मुख्यसचिव अर्याल, सचिव कर्णलगायत कुलिङ पिरियड हटाउन योजनाबद्ध तरिकाले लागेका छन्। त्यसका लागि उनीहरूले ‘ट्र्याक टु’ लबिइङ थालेका हुन्। अख्तियार प्रमुख बन्ने चाहनाले अर्याललाई राम्रैसँग सताएको पाइन्छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कुलिङ पिरियडलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो। उक्त कार्यक्रमका लागि प्रादेशिक तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (पीएलजीएसपी) परियोजनाले खर्च व्यवस्थापन व्यवस्थापन गर्ने भएको छ। निजामती सेवाबाट सेवा निवृत्त भएपछि नियुक्ति खाएका केही पूर्वसचिव र कुलिङ पिरियडको विरोधमा बोल्ने अधिवक्तालाई कार्यक्रममा वक्ता राखिएको स्रोतले बतायो। कार्यक्रम सञ्चालन भने मुख्यसचिव अर्याल निकट पत्रकारले सञ्चालन गर्ने तय भएको स्रोतले पुष्टि गऱ्यो।
उक्त कार्यक्रममा राष्ट्रिय निर्देशक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूद्रसिंह तामाङ छन्। पीएलजीएसपीको राष्ट्रिय कार्यक्रम प्रबन्धक बन्दना झा हुन्। उपसचिव झा तिनै व्यक्ति हुन् जसले कृष्णहरि पुष्कर कर्ण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा तराई-मधेश समृद्धि कार्यक्रमको प्रमुख हुने सौभाग्य पाएकी थिइन्। कुलिङ पिरियड हटाउन हुल बाँधेर लबिइङ गर्दा बद्नाम भएपछि मुख्यसचिव अर्याल, श्रम सचिव कर्ण, संघीय मामिला सचिव पन्थ खुलेआम लागेका छन्। श्रम सचिव कर्णले कुलिङ पिरियड हटाउन ‘मिडिया म्यानेजमेन्ट’ गर्नुपर्छ भन्ने प्रस्ताव गरेपछि ‘पीएलजीएसपी’मार्फत योजनाबद्ध तरिकाले काम अघि बढाएको खुल्न आएको छ। यसले मुख्यसचिव र सचिवहरू कुलिङ पिरियड हटाउन कुन हदसम्म गइरहेका छन् भन्ने कुरा प्रस्ट हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतलाई भेटेर कुलिङ पिरियड हटाउन मुख्यसचिव र सचिवहरूले दबाव दिएका थिए। उक्त भेटले खासै नतिजा नदिएपछि उनीहरू ‘ट्र्याक टु’ लबिइङमा लागेका हुन्। यसले उनीहरूको नियत उदांगिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस