रविले ‘च्यापे’का सहसचिवहरूलाई रमेशले छानीछानी महत्त्वपूर्ण जिम्मेवारी दिए


काठमाडौं। विवादित सहसचिव तिर्थ भट्टराईको विषयलाई लिएर गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच दोहोरी चलेको छ। गृहमन्त्री लेखकले भट्टराई रवि लामिछाने गृहमन्त्री भएपछि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनेको दाबी गरेका छन्। रास्वपामा सांसद झाले गृहमन्त्री रवि लामिछाने हुँदै गर्दा तीर्थ भट्टराई मन्त्रालयमा कसुरजन्य व्यवस्थापन विभागको जिम्मेवारीमै रहेको भन्दै गृहमन्त्री लेखकको दाबीलाई खण्डन गर्ने प्रयास गरेका छन्। तर, तथ्यले झाको दाबी नपुग्ने देखिन्छ।

रवि लामिछानेले २०८० फागुन २३ गते गृहमन्त्रीको पदभार सम्हालेका थिए। रवि गृहमन्त्री भएको झन्डै ३ महिनापछि २०८१ जेठ १७ गते विवादित सहसचिव भट्टराई कसुरजन्यको महानिर्देशक भएर जिम्मेवारी सम्हाल्न पुगेका थिए। रवि पहिलोपटक गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा विवादमा परेका भट्टराईलाई उनी दोस्रोपटक गृहमन्त्री हुँदा कसुरजन्यमा लगेर व्यवस्थापन गरिएको थियो। त्यो बेला गृहसचिव (हालका मुख्यसचिव) एकनारायण अर्याल रहेका थिए।

गृहमन्त्री लामिछानेले भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा व्यवस्थापन मात्रै गरेनन् भिजिट भिसा काण्डमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख हुँदा लफडमा परेका गोगन हमाललाई आन्तरिक व्यवस्थापन महाशाखामा भित्र्याए। रविले जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक र डा. भीष्मकुमार भुसाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख बनाए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा भने सुरेश पन्थीलाई लगेका थिए। रविले खेलाएका यिनै सहसचिवहरूलाई छानीछानी महत्त्वपूर्ण जिम्मेवारी दिँदा रमेश लेखक ‘चेपुवामा’ परेका हुन्।

रविको पालामा ठिकै मानिने कसुरजन्य व्यवस्थापन विभागको महानिर्देशक रहेका सहसचिव भट्टराईलाई आकर्षक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख बनाउन लेखक अग्रसर भए। भिजिट भिसा काण्डमा उनी त्यसैको परिणाम अहिले भोग्ने अवस्थामा छन्। रविले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाएर गोगन हमाललाई पनि गृहमन्त्री लेखकले संरक्षण गरे। हमाललाई लामो समय आन्तरिकमै राखेर गृहमन्त्री लेखक र सचिव गोकर्णमणि दुवाडीले कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन्।

रविले कारागार व्यवस्थापन विभागको महानिर्देशक बनेका जयनारायण आचार्यलाई लेखकको रोज्जा काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएर पठाए। आचार्य नक्कली प्रमाणपत्र काण्डमा विवादमा मुछिएपछि अहिले उनलाई लेखकले गृहको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन्। यो महाशाखा गृहको आकर्षक महाशाखा मै गनिन्छ।

रविको पालाका भीष्म भुसाल गृहबाट आउट भइसकेका छन् भने सुरेश पन्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट कसुरजन्यमा पुगेका छन्। रवि कै चर्को विरोध गरेर गृहमन्त्री बनेका लेखकले रविले ‘च्यापे’का सहसचिवहरूलाई खोजीखोजी जिम्मेवारी दिँदा यो दुर्गती भोग्नुपर्ने अवस्था आएको छ। उनी उल्टै अरूतिर हिलो छ्यापेर पन्छिन् खोजेका छन्। रविले विश्वास गरेका भट्टराईलाई भित्रिया बनाउँदा रमेशलाई आपत्त आइरहेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ