शिक्षा मन्त्रालयमा लामो समयपछि शिक्षा सेवा कै सचिव बने चूडामणि पौडेल

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा हेर्ने सचिव लामो समयपछि शिक्षा सेवा शिक्षा प्रशासन समूहका गएका छन्। शिक्षा सेवाबाट सचिव बनेका सम्भवतः खगराज बरालपछि चूडामणि पौडेल शिक्षा सेवा क शिक्षा मन्त्रालयको सचिव बनेर गएका हुन्।
बरालपछि शिक्षाबाट लवदेव अवस्थी र महाश्रम शर्मा छोटो समयमा लागि सचिव भएकाले उनीहरू मन्त्रालय जानै पाएनन्। त्यसपछि भने शिक्षाबाट सचिव भएका शिक्षामा फर्किएन्। अहिले चूडामणि पौडेल शिक्षामा फर्किएका छन्।
२०७५ पछि नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूहबाट सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं, टेकनारायण पाण्डे, खगेन्द्रप्रसाद नेपाल, चूडामणि पौडेल, हरिप्रसाद लम्साल र कमलप्रसाद पोखरेल सचिव भए। यिमध्ये गौतम गुरागाईं र पाण्डेले शिक्षा मन्त्रालय नै नटेकी अवकाश पाए। नेपाल विशेष दरबन्दी बढुवा भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ४ वर्षदेखि हल्लिरहेका छन्। पौडेल भने ५/७ वर्ष प्रशासन सेवाका सहसचिवले हालिमुहाली गरेको शिक्षा मन्त्रालयमा बल्लबल्ल गएका हुन्। शिक्षातिर कै लम्साल अहिले युवा तथा खेलकुद मन्त्रालयक सचिव छन्। पोखरेल अहिले सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको भूमिकामा छन्।
सचिव बढुवा भएपछि प्रदेश जाने परम्परा तोड्दै सूर्यप्रसाद गौतम महालेखा नियन्त्रक बने। गौतम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, निर्वाचन आयोगलगायतको सचिव भएर बसे। यतिका धेरै मन्त्रालय ‘चारे’का गौतमले शिक्षातिर भने फर्किएर हेरेनन्। सचिव भएपछि शिक्षातिर हेर्दै नहेरी गौतम अवकाश भएर घर गए।
गौतमपछि शिक्षातिरको सचिव बनेकी देवकुमारी गुरागाईं पनि शिक्षातिर फर्किएर हेरिनन्। सचिव बढुवा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतिर फन्को मारेकी गुरागाईं शिक्षातिर भने जान चाहिनन्। उनी नसकेर पनि नगएकी हुन् सक्छिन्।
गौतम र गुरागाईंपछि सचिव भएका टेकनारायण पाण्डे कर्णालीको प्रमुख सचिवबाट शिक्षातिर नहेरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तर्फ भित्रिए। त्यहाँबाट पाण्डेले गृह सचिवमा फड्को मारे। पाण्डे गृह सचिव भएपछि शिक्षाबाट सचिव भएर कर्णालीतिरै रहेका चूडामणि पौडेलले ‘ठूलो पर्खाल नाघे’को टिप्पणी गरेका थिए। शिक्षा र गृह आमनेसामनेको मन्त्रालय भए पनि शिक्षाकालाई गृह जानु ‘ग्रेटवाल नै नाघ्नु’ सरह हो। विद्यालय निरीक्षक भएर शिक्षा सरूवामा रमाएका पाण्डे सिडिओ चलाउन गएपछि ‘दुर्घटना’मा परे। ‘ठूलो पर्खाल’ नाघ्ने हुँदा उपराष्ट्रपति कार्यालयतिर तर्किदा पनि पाण्डे प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका छन्। नक्कली भुटानी शरणार्थी काण्डेले सचिव पाण्डे जेलबाटै अवकाशमा जान बाध्य भए।
गौतम, गुरागाईं, पाण्डेपछि शिक्षाबाट सचिव बनेका खगेन्द्रप्रसाद नेपाल भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ढल्पलाएका छैनन्। विशेष दरबन्दीमा बढुवा भएका नेपाल २०८३ असार २७ गते सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन्। मन्त्रालय चलाउन नसक्ने नेपाल अवकाशमा गएपछि उक्त विशेष दरबन्दी स्वत खारेज हुनेछ।
गौतम, गुरागाईं, पाण्डे र नेपालपछि शिक्षाबाट सचिवमा बढुवा भएका चूडामणि पौडेल कर्णाली प्रदेशको प्रमुख सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै शिक्षा सचिव बनेर जान सफल भएका छन्। उनले भने कर्णालीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फर्किएर ‘पर्खाल भत्काउने’ चेष्टा गरेनन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव हुने ‘लिगलिगे’ दौडमा लागेपछि पार नलाग्ने भएपछि पौडेल पुरानै घर (शिक्षातिर) फर्किएका हुन्।
पौडेलपछि शिक्षाबाटै सचिव भएका हरिप्रसाद लम्साल सुदूरपश्चिम, बागमती प्रदेश हुँदै युवा तथा खेलकुद मन्त्रालय आईपुगेका छन्। उनी ‘पर्खाल भत्काउन’ लाग्छन् कि शिक्षातिरै लाग्छन् हेर्न बाँकी छ।
टेकनारायण पाण्डेसँगै शिक्षा सेवाको सहसचिव भएका कमलप्रसाद पोखरेल ढिलो गरी सचिवमा बढुवा भएका छन्। उनी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको भूमिकामा रहेका छन्। प्रदेशमा रहेका सचिव पोखरेल संघमा फर्किने कसरतमा छन्।
शिक्षाबाटै खगेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल र इमनारायण श्रेष्ठ सचिव बढुवाको लाइनमा छन्। श्रेष्ठ भने भ्रष्टाचार मुद्दामा डामिएर निलम्बनमा परेका छन्। अहिले पनि खगेन्द्रप्रसाद नेपाल, चूडामणि पौडेल, हरिप्रसाद लम्साल र कलमप्रसाद शिक्षातिर कै सचिव हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #खगेन्द्रप्रसाद नेपाल, #चुडामणि पौडेल सचिव, #टेकनारायण पाण्डे, #डा. हरिप्रसाद लम्साल, #देवकुमारी गुरागाईं, #सचिव कमलप्रसाद पोखरेल, #सूर्यप्रसाद गौताम
तपाईको प्रतिक्रिया दिनुहोस