स्वास्थ्य सेवामा राप्तीको नयाँ युग सुरु हुँदै, ४ सय बेडको भवनका लागि ७० करोड बजेट विनियोजन

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनस्वास्थ्य सेवा विस्तारतर्फ ऐतिहासिक फड्को मारेको छ। संस्थाको ४ सय शैयाको नयाँ भवन निर्माणका लागि यस आर्थिक वर्ष २०८२/८३ मा ७० करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।
सरकारले भवन निर्माणका लागि यसवर्ष ७० करोड रुपैयाँ छुट्याइएको छ । प्रतिष्ठानका अधिकारीहरूले बताए अनुसार यो बजेट अघिल्ला वर्षहरूको तुलनामा अत्यन्त सकारात्मक र आशाजनक हाे।
स्वास्थ्य उपकरण खरिद अनुदानतर्फ १६ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने, चालु खर्चतर्फ २५ करोड ६६ लाख र पुँजीगत सशर्त अनुदानतर्फ २ करोड ६२ लाख रुपैयाँ प्राप्त भएको छ।
स्थानीय कर्मचारीहरूको समर्पण, यहाँका राजनीतिक दलहरूको सक्रिय पहल र संघीय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको सहयोगबाट ४ सय बेडको अस्पताल निर्माण स्वीकृत भएको हो। यो प्रयासले दाङलगायत मध्यम र पश्चिम क्षेत्रका लाखौं नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेका अनुसार, “यो बजेट केवल भवन निर्माणको लागि मात्र नभई, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने संरचनात्मक आधार निर्माणको दिशामा ऐतिहासिक पाइला हो।”
स्थानीय बासिन्दा र स्वास्थ्यकर्मीहरू यो योजनाबाट उत्साहित छन्। “अब हामीले धेरै सेवा यहाँ नै पाउनेछौं, काठमाडौँ धाउनु पर्ने बाध्यता हट्नेछ,” अस्पताल निर्देशक डा जनार्दन पन्थीले भने ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस