कास्की पुगेकी रूद्रादेवी शर्माको सिडिओमा ‘डब्बल ह्याट्रिक’

काठमाडौं। रूद्रादेवी शर्मा छेटौं जिल्लामा सिडिओको कमाण्ड सम्हाल्न कास्की जाने भएकी छिन्। गण्डकी प्रदेशको राजधानी पोखरा समेत रहेको कास्की जिल्ला सिडिओका लागि आकर्षक जिल्लामा पर्छ। मकवानपुर, चितवन, रूपन्देही जस्ता ‘क’ वर्गबाट ‘क’ वर्ग कै जिल्ला कास्कीमा सिडिओ बनेर गएका भरतमणि पाण्डेलाई विस्थापित गरेर शर्मा कास्की जाने भएकी हुन्।
शर्मा रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक, बर्दिया हुँदै कास्कीको सिडिओ बनेकी हुन्। रामेछाप, गुल्मी र बर्दियाबाहेक भक्तपुर, काभ्रेपलाञ्चोक र कास्की सिडिओका लागि ‘क’ वर्गका जिल्ला हुन्। रामेछाप, गुल्मी र भक्तपुरको सिडिओ भएपछि शर्मा केही समय गृह मन्त्रालय बसिन्। त्यसपछि काभ्रेपलाञ्चोक, बर्दिया हुँदै कास्कीको सिडिओ बनेकी हुन्।
महिला कोटाबाटै ‘ह्याट्रिक’ हानेर सहसचिव बनेकी शर्मा जिल्लाका हिसाबले ‘डबल ह्याट्रिक’ र ‘क’ वर्गको जिल्लामा ‘ह्याट्रिक’ हानेर कास्कीको सिडिओ बन्न सफल भएकी छिन्।
शर्माले २०७६ माघ २४ गतेदेखि २०७७ पुस ६ गतेसम्म रामेछापको सिडिओको कमाण्ड सम्हालिन्। यो उनको पहिलो सिडिओ अनुभव हो। करिब १ वर्ष रामेछापको सिडिओ बनेपछि शर्मा गुल्मी पुगिन्। रामेछापबाट २०७७ साल पुस ११ मा सिडिओ बनेर गुल्मी पुगेकी शर्मा त्यहाँबाट ९ महिनापछि भक्तपुरको सिडिओ बनेर काठमाडौं उपत्यका छिरिन्। शर्माले २०७८ असोज ४ गतेदेखि २०७९ माघ ११ गतेसम्म १६ महिना बढी भक्तपुरको सिडिओ चलाइन्। त्यसपछि केही समय गृह मन्त्रालय बसेर शर्मा २०८० भदौ १८ गते काभ्रेपलाञ्चोकको सिडिओ बनेर गइन्। २०८१ जेठ २० गतेसम्म ९ महिना काभ्रेको सिडिओ बनेकी उनी त्यसपछि बर्दियाको सिडिओ भएर गइन्। २०८१ जेठ २१ गतेदेखि बर्दियाको सिडिओको जिम्मेवारी सम्हालेकी शर्मा १ वर्ष बर्दिया बसेर सिडिओ कै दैसियतमा कास्की पुगेकी छिन्। छोटो समयमा उनी धेरै ‘सिडिओ’ खानेमा पर्छिन्।
२०३५ साल असारमा बागलुङमा जन्मिएकी रूद्रादेवी शर्मा २०६६ सालमा राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत महिला कोटाबाट निजामती सेवामा प्रवेश गरेकी हुन्। उनी २०७२ सालमा उपसचिव र २०७५ सालमा महिला कोटाबाटै सहसचिव बन्न सफल भइन्। महिला कोटाबाट शाखा अधिकृतमा प्रवेश गरेकी शर्मा १० वर्षमै सहसचिव बन्न सफल भएकी थिइन्।
२०७४ साल जेठमा शर्मासँगै मुक्तिप्रसाद पाण्डे, शन्तबहादुर सुनार, आनन्द सारू, टोकराज पाण्डे र गोगनबहादुर सहसचिव भएका हुन्। दलित कोटाबाट सहसचिव बनेर खोटाङको सिडिओ हुँदै सुनार डेढ वर्ष अघि नै अवकाशमा गइसकेका छन्।
आदिवासी/जनजाति कोटाबाट सहसचिव भएका आनन्द सारू अहिले अछामको सिडिओ छन्। टोकराज पाण्डे गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख छन् भने गोगनबहादुर हमाल कैलालीको सिडिओ हुन्। शर्मा लगातार सिडिओ भएर कास्की पुगेकी छिन्।
क्याटेगोरी : समाचारट्याग : #भरतमणि पाण्डे, #रुद्रादेवी शर्मा
तपाईको प्रतिक्रिया दिनुहोस