“दिज्जु” सञ्जालको भरमा बीपी उपकुलपति बन्ने प्रयासमा डा. संगीता भण्डारी

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा पटक–पटक विवादमा मुछिँदै आएकी डा. संगीता भण्डारी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा लागेकी छन्।
पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भइसकेकी भण्डारी कार्यकालभरि अनियमितता, आन्तरिक विवाद र शक्ति दुरुपयोगको आरोपमा मुछिएकी थिइन्। स्रोतका अनुसार उनले घरको कुकुरको उपचार खर्चसमेत प्रतिष्ठानबाट तिराएकी थिइन्, र उनका धेरैजसो फाइलहरू अख्तियारमा छानबिन अन्तर्गत छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा निजी चिकित्सक दिव्यासिंह शाहमार्फत जागिर जोगाएकी भण्डारी अहिले शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई ‘दिज्जु’ भन्दै समर्थन बटुल्न सक्रिय छिन्।
पश्चिममा देउवा पक्षसँग नजिकिँदै, पूर्वतर्फ शेखर कोइरालाको आशीर्वाद खोज्दै उनले प्रतिष्ठानको उपकुलपति बन्ने रणनीति अपनाएकी हुन्।
विगतमा ‘दिज्जु’को नाममा कर्मचारी धम्क्याउने, आदेश नमान्नेहरूलाई कार्यालय प्रवेशमा समेत रोक लगाउनेजस्ता अराजक व्यवहार देखाएकी भण्डारीको पुनः नियुक्तिको सम्भावना प्रति धेरैले आशंका व्यक्त गरेका छन्। तर, पछिल्लो समय भेटघाट र सम्भावित लेनदेनका चर्चा चल्न थालेपछि ‘भण्डारी फेरि पनि पदमा पुग्ने हुन् कि?’ भन्ने शंका यथावत् छ।
यता, स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेल पनि बीपी उपकुलपतिका आकांक्षीको रूपमा अघि आएका छन्। विवादरहित ब्युरोक्र्याटिक कार्यशैलीका कारण चिनिएका पोखरेलले प्रतिष्ठानमा सुशासन र शान्त नेतृत्व आवश्यक भएको भन्दै आफू उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन्।
तर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्नका लागि शेखर कोइरालाको आशीर्वाद भने अन्ततः निर्णायक बन्ने स्रोतहरू बताउँछन्। यता स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विवादित भण्डारीको नाम कुनै पनि हालतमा सिफारिस नगर्ने बुझिएको छ। बरु विगतमा गगन थापाले बोकेका डाक्टर रामेश कोइराला उनको सिफारिसको सूचीमा पर्न सक्ने देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस