प्रधानमन्त्री ओलीको टिममा जनताद्वारा अस्वीकृत ‘झोले’हरू


समाचार टिप्पणी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘टिम’मा जनताद्वारा अस्वीकृत ‘झोले’हरूको बर्चश्व रहेको छ। ‘म झोले हो’ भन्दै प्रधानमन्त्री ओलीको वरिपरि परिक्रमा गर्ने अधिकांश ‘झोले’हरू जनताद्वारा अस्वीकृत र जनअनुमोदन नभएका छन्। प्रधानमन्त्रीको सचिवालयमा जनताद्वारा अस्वीकृत र जनअनुमोदन नभएका ‘झोले’हरूको हालिमुहाली चल्छ।

‘झोले’ अभियानका सञ्चाक तथा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल चुनाव ‘फेस’ गएर आएका पात्र हैनन्। २०६४ सालमा नेकपा एमालेबाट समानुपातिक सांसद बनेका रिमाल प्रत्यक्ष निर्वाचन लड्ने हुति नभएका ‘झोले’ हुन्। त्यहीँ भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेत ज्ञानेन्द्र शाही वडाध्यक्षको चुनाव जितेर देखाउन रिमालले चुनौती दिने गर्छन्। चुनाव नलडे पनि प्रधानमन्त्री केपी ओलीलाई आफू अनुकूल घुमाउन सक्ने शक्तिशाली ‘झोले’ हुन् रिमाल। सरकार र राज्य संयन्त्र नै उनको इशारामा चलेको छ भन्दा फरक पर्दैनl रिमाल ओली सरकार सञ्चालनका प्रमुख पात्र हुन्।

प्रधानमन्त्रीको टिममा रहेका अर्का ‘झोले’ हुन् शंकरप्रसाद पोखरेल। दाङबाट नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा पराजित पोखरेल प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन्। जनताद्वारा अस्वीकृत ‘झोले’ पोखरेल प्रधानमन्त्री ओलीलाई चलाउनेमा पर्छन्। नेकपा एमालेका महासचिव समेत रहेका पोखरेल प्रधानमन्त्रीको ‘रफू’ मास्टर हुन् भन्दा पनि फरक पर्दैन।

प्रधानमन्त्री ओलीको टिममा रहेका अर्का ‘झोले’ हुन् अग्नीप्रसाद खरेल। महान्यायाधिवक्ता, कानुनमन्त्री भइसकेका खरेल अहिले प्रधानमन्त्री ओलीको मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारको भूमिकामा छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित खरेल प्रधानमन्त्री ओलीको टिमका हर्ताकर्ता हुन्। जनताद्वारा अस्वीकृत खरेल प्रधानमन्त्रीलाई चलाउने भूमिकामा छन्। यसले प्रतिनिधिसभा झापा क्षेत्र नम्बर एकका जनताले पनि ‘चित’ खाएका छन्।

जनतामा गएर परीक्षण नै नभएका युवराज खतिवडा प्रधानमन्त्री आर्थिक/विकास सल्लाहकार हुन्। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय सभाको सदस्य, अर्थमन्त्री समेत भइसकेका खतिवडा प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन्। ‘झोले’ खतिवडा जनतामा गएर चुनाव नलडेपनि सधै प्रधानमन्त्री ओलीको टिममा पर्छ।

किरण पौडेल प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकार हुन्।प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ बाट नराम्रोसँग पराजित ‘झोले’ पौडेल प्रधानमन्त्री ओलीको ‘कोर टिम’मा पर्न सफल भएका छन्। २०७९ सालको प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित भएका थिए। सिंह अहिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीको भूमिकामा छन्। प्रकाशमान निर्वाचित हुँदा रविन्द्र मिश्र दोस्रो र पुकार बम तेस्रो हुँदा किरण चौथो नम्बरमा धकेलिएका थिए। जनताबाट अस्वीकृत उनै किरण प्रधानमन्त्री ओलीको ‘टिम’मा पर्न सफल भएका छन्। उनी प्रधानमन्त्री ओलीको टिमका हर्ताकर्ता हुन्।

अस्गर अली प्रधानमन्त्री ओलीको आईटी सल्लाहकार हुन्। विष्णुप्रसाद रिमालको इशारामा चल्ने अली निजी व्यवसाय प्रवर्द्धनमा तल्लीन छन्। अध्यागमनदेखि ‘नागरिक एप’सम्म आफ्नो कब्जामा लिइसकेका अली ‘एम्बिसन गुरू’को धन्दामा लागेको पाइन्छ। अली चुनाव लडेर आएका व्यक्ति होइनन्। तर, प्रधानमन्त्रीको टिममा अवैतनिक सल्लाहकारको भूमिकामा बसेर उनले आफ्नो हित र स्वार्थमा धेरै काम गरिसकेका छन्। अली प्रधानमन्त्री ओलीको टिममा रहेका बदनाम र विवादित पात्र हुन्।

जनताद्वारा अस्वीकृत प्रदीपकुमार ज्ञवाली र महेश बस्नेत पनि अप्रत्यक्ष रूपमा प्रधानमन्त्रीको टिममा रहेका ‘झोले’हरू हुन्। गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारीसँग पराजित ज्ञवाली प्रधानमन्त्री ओलीसँग निकट भएर काम गरिरहेका छन्।

भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभामा पराजित महेश बस्नेत पनि प्रधानमन्त्री ओलीको वरिपरि परिक्रमा गर्ने नेतामा पर्छन्। नेपाली कांग्रेसका नेता दुर्लभ थापासँग पराजित ‘झोले’ बस्नेत प्रधानमन्त्रीको ओलीको सबैभन्दा नजिकको नेता आफू हो जसरी प्रस्तुत हुन्छन्। तर, उनी जनताद्वारा अस्वीकृत व्यक्ति हुन्। यी लगायत जनताद्वारा अस्वीकृत र परीक्षण नै नभएका व्यक्तिहरूको प्रधानमन्त्री ओलीको टिममा हालिमुहाली रहेको पाइन्छ। प्रधानमन्त्रीलाई नै ‘झोले’ बनाएर लाजलाई नै लज्जित पार्न उनीहरू सक्रिय छन्।

क्याटेगोरी : समाचार
ट्याग : #पार्टीका झोले

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ