अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निमित्तको भरमा, शर्मा अवकाशमा गएपछि कसलाई पठाउला मन्त्रालयले?


काठमाडौं। संघीय संसद् समेत रहेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निमित्तको भरमा चलिरहेको छ। केन्द्रका कार्यकारी निर्देशक तेज थुलुङ राईलाई हटाउने निर्णय सदर भएपछि १ महिनादेखि दिपेन्द्र बिक्रम सिंहले निमित्तको जिम्मेवारी पाएका छन्। उनै निमित्तको भरमा केन्द्र चलिरहेको हो।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सहरी विकास मन्त्रालयले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति अन्तर्गत लगेपछि कार्यकारी निर्देशकको लफडा सुरू भएको हो। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति अन्तर्गत लगेपछि सहरी विकास मन्त्रालयले कार्यकारी निर्देशक तेज थुलुङ राईलाई हटाएको थियो। मन्त्रालयले राईलाई हटाएर सहसचिव विष्णुप्रसाद शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यकारी निर्देशकको भूमिकामा काम गर्नेगरी पठाएको थियो। तर, राईले उच्च अदालत पाटनबाट अन्तरिम आदेश ल्याएपछि सहसचिव शर्माले काम गर्न पाएनन्। बैशाखको अन्तिमतिर अन्तरिम आदेश खारेज भएपछि राई कार्यकारी निर्देशकबाट हटेका हुन्। सिंहले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका छन्।

अन्तरिम आदेश खारेज हुँदा सहसचिव शर्मा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गोइसकेका थिए। त्यसैले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा निमित्त तोक्नु पर्ने अवस्था आएको हो। तर, मन्त्रालय अहिलेसम्म कार्यकारी निर्देशक पठाएको छैन।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा तत्कालका लागि सहरी विकास मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीलाई पठाउने चर्चा छ। मैनाली अहिले मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको भूमिकामा छन्। उनी विशिष्ट संरचनातिर गए सहरी विकास मन्त्रालयमा प्रशासन सेवाको अर्को सहसचिव आवश्यक हुन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव सरूवा गरेर पठाउँदा उक्त समिति निमित्तको भरमा चलिरहेको मन्त्रालय स्रोतको दाबी छ। उक्त विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक नियुक्त गर्ने बाटो पनि खुलेको छ। तर, सहरी विकास मन्त्रालयले प्रक्रिया अघि बढाएको पाइँदैन।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमार्फत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, धरहरा, झापाको दमकस्थित दमक भ्यू टावर, ललितपुरको गोदावरीस्थित सनराइज सभा हल, रुपन्देहीको बुटवलस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सभा हल र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालनमा आएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, #तेज थुलुङ राई, #दिपेन्द्र बिक्रम सिंह, #नारायणप्रसाद मैनाली सहसचिव, #विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति, #विष्णुप्रसाद शर्मा सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ