तत्कालीन प्रधानमन्त्री नेपालसहित २ मन्त्री भ्रष्टाचार मुद्दाका प्रतिवादी

काठमाडौं। पतञ्जली जग्गा घोटाला प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित अन्य २ मन्त्रीलाई प्रतिवादी बनाइएको छ। प्रधानमन्त्री नेपालसहित तत्कालीन भूमि सुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठ र तत्कालीन कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री मन्त्रिपरिषद्को विधेयक समितिका संयोजक प्रेमबहादुर सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। भूमि मन्त्री श्रेष्ठको निधन भइसकेकाले उनका छोरालाई प्रतिवादी बनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन दुई मन्त्रीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। ९३ प्रतिवादीसँग १८ करोड ५८ लाख विगोदाबी गरिएको छ।
तत्कालीन मन्त्रिपरिषद्ले कानुनविपरीत अनियमित ढंगले हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेच्न स्वीकृत दिएको विषयमा अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपालसहित संलग्नहरूको बयान लिएको थियो। बयान सकेको निकै समयपछि भ्रष्टाचार मुद्दा दायर भएको छ। पतञ्जलीले काभ्रेपलाञ्चोकको साँगामा करिब ६ सय रोपनी जग्गा खरिद गरेकामा हदबन्दी छुटको करिब ३ सय ५४ रोपनी जग्गा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेच्न स्वीकृत दिएको थियो। मन्त्रिपरिषद्ले अनियमित ढंगले हदबन्दी छुटको जग्गा बिक्री गर्न अनुमति दिएपछि अहिले यो विषयमा अख्तियारले छानबिन सकेर तत्कालीन प्रधानमन्त्री नेपालसहितलाई भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस